हःखास्थित धम्मसाकच्छा संघको आयोजनामा अनागरिकाहरुले ललितपुरमा भिक्षाटन गरेका छन् । पुल्चोकको नःटोलस्थित मदन स्मारक विद्यालयबाट सुरु भएको भिक्षाटन गाबहाल, बुबहाल, नकबहिल, न्याखाचोक, मंगलबजार, ओकबहाल लगायतका स्थान हुँदै हःखा टोल भवनमा पुगेर समाप्त भएको थियो ।
१६ वर्षअघि स्थापना भएको धम्म्साकच्छा संघले गर्दै आएको विभिन्न कार्यक्रम अन्तर्गत यो वर्ष अनागरिका गुरुमाहरुको स्वास्थ्य कोषमा जम्मा हुने गरी भिक्षाटान कार्यक्रम गरेको संघका उपाध्यक्ष कुलमान शाक्यले बताए ।
स्वास्थ्य कोषको स्थापना कवि चित्तधर ह्रदयकी कान्छी छोरी सुमना गुरुमाको इछा अनुसार सुरु गरिएको हो । कोष डा.केशरी लक्ष्मी मानन्धर प्रदान गरेका ५ लाख रुपैयाँबाट सुरु भएको हो । अहिलेसम्म कोषमा ११ लाख रुपैयाँ जम्मा भइसकेको संघले जनाएको छ । कोषले काठमाडौँ मोडर्न अस्पतालसँग समन्वय गरी अनागरिकाहरुको स्वास्थ्य उपचार गरिरहेको संघका सहसचिव अनागरिका ञानवती गुरुमाले बताइन् ।
भिक्षाटनमा सहभागि भएका अनागरिका गुरुमाहरुलाई दाताहरुले वस्त्रदान गरेका थिए । वस्त्रदान प्राप्त भएको सम्पुर्ण जिन्सी र रकम लुम्बिनीको देवदहनगरपालिकामा निर्माण लागेको अनागरिकाहरुको विहारका लागि प्रयोग हुने बताइएको छ ।