लक-डाउनमा यसरी वित्दैछ लामा भिक्षुहरुको दैनिकी

कोरोना भाइरसको महामारीको कारण अहिले सम्पुर्ण विश्व नै त्रसित बनेको छ । महामारीको प्रकोप तीव्र गतिमा विश्वभर फैलन थालेपछि नेपाल सरकारले ४ दिन अघि देशैभर लकडाउनको घोषणा गरेको थियो ।

लकडाउनको घोषण गरेसँगै कोरोना भाइरसको महामारी फैलन नदिन सबै आ्आफ्नै घरमा बसिरहेका छन् । देशका अन्य क्षेत्रजस्तै धार्मिक मठमन्दिर, गुम्बा तथा विहारहरु पनि यतिबेला बन्द गरिएका छन् । गुम्बा, स्तुप तथा विहारहरु बन्द गरिएका कारण लामा तथा भिक्षुहरु पनि आआफ्नै स्थानमा रहेर लकडाउनको पालना गरिरहेका छन् ।

भिक्षु तपस्सी धम्म

काठमाडौँको चावहिलस्थित चारुमती स्तुपका प्रमुख तपस्सी धम्मले लकडाउनको समयमा पूस्तकहरु पढेर दिन बिताइरहेको बताए । बौद्ध दर्शन तथा धर्म संस्कृति सम्बन्धी पूस्तक बाहेक विभिन्न ऐतिहासिक व्यक्तित्वहरुका जीवनी समेत पढिरहेको उनले बताए । स्तुप वरिपरिको वातावरण सुनसान भए पनि विहान बेलुका आफुले गर्दै आएको पूजापाठ भने निरन्तरता दिइरहेको भिक्षु धम्मको भनाई छ ।

भिक्षु ज्ञानेन्द्र

रुपन्देहीको तिलोत्तमास्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले कोरोना भाइरसको संक्रमणका कारण विहार बन्द गरिएको बताए । विहारमै भिक्षु, अनागरिका तथा विद्यार्थीहरु सहित विहारमा आवतजावत बन्द गरेर बसिरहेको उनले सुनाए । करिब १ मीटरको दुरी फरक राखेर साँझ विहानको पूजापाठ सञ्चालन गरिरहेका भिक्षु ज्ञानेन्द्रले विश्व शान्तिको कामना र समय समयमा कोरोना सम्बन्धी जानकारी दिनुका साथै मन्त्रपाठ समेत गर्ने गरेको बताए । विहारभित्रै बसेर विद्यार्थी भिक्षुहरुलाई सुत्रपाठ, अभ्यास लगायत सरसफाईमा पनि सरिक गराइरहेको उनको भनाई छ । विहारमा धेरै जना भएका कारण लामो समय लकडाउन भए खाद्यान्नको समस्या पर्न सक्ने भिक्षु ज्ञानेन्द्रले चिन्ता गरे ।

आचार्य कर्मा रिन्जिन शेर्पा

युरोपका केही देशको भ्रमण गरेर हालै नेपाल फर्किएका आचार्य कर्मा रिन्जिंग अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन् । फ्रान्स हुँदै नेपाल आएको विमानमै रहेकी एक युवतीमा कोरोना भाइरस देखिएपछि सामाजिक सञ्जालमा उनी पनि ती संक्रमित युवतीसँगै आएको हुनाले आचार्य कर्मा पनि फेसबुकमा भाइरल बने ।

चावहिल, बौद्ध, नारायटार लगायतका बासिन्दा उनीबाट सचेत रहनु भन्दै गरिएको प्रचारबाजी प्रति चित्त दुखाउँदै उनले सचेतना फैलाउने नाममा यसरी आतंकित बनाउन नहुने बताउँदै भिडियोमार्फत सन्देश दिएका छन् । आफु युरोपबाट आउँदा देखि नै एकदमै होसियारीपूर्वक आएको र नेपाल आएको १२ दिन बितिसक्दा आफुमा कुनै समस्या नदेखिएको उल्लेख गर्दै सबैलाई यो संक्रमणको महामारीबाट बच्न अनुरोध गरेका छन् ।

Share

Related posts