दीर्घकालीन खुसीको आधार अर्थपूर्ण मानवीय सम्बन्ध

२४ कार्तिक,काठमाडौं: मानिसको जीवनमा वास्तविक खुसी केबाट प्राप्त हुन्छ ? धनसम्पत्ति, विलासी जीवनशैली र भौतिक सुविधाबाट कि परिवार, साथीभाइ तथा आफन्तसँगको आत्मीय सम्बन्धबाट ? सकारात्मक मनोविज्ञानसँग सम्बन्धित पछिल्लो अनुसन्धानले दीर्घकालीन खुसीका लागि अर्थपूर्ण मानवीय सम्बन्ध, उद्देश्यपूर्ण काम र व्यक्तिगत जीवनका मूल्यसँग मेल खाने व्यवहारलाई महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ ।

अमेरिकाको लोकप्रिय विज्ञान तथा प्रविधिसम्बन्धी प्रकाशन ‘पपुलर मेकानिक्स’ले नोभेम्बर १० मा प्रकाशित गरेको एक समाचार अनुसार अनुसन्धानकर्ताहरूले यसअघि प्रकाशित सयौँ अध्ययनको समीक्षा गर्दै मानिसको खुसीका प्रमुख आधारबारे विश्लेषण गरेका छन् । हार्वर्ड विश्वविद्यालयकी साडे स्टेनलन्ड, लक्जेम्बर्गको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानका केल्सी ओुकनर र क्यानडाको साइमन फ्रेजर विश्वविद्यालयकी लारा एकिन यस अनुसन्धानमा संलग्न थिए । उनीहरूको अध्ययन जर्नल अफ ह्यापिनेस स्टडिज मा प्रकाशित भएको छ ।

अनुसन्धानले जीवनका आधारभूत आवश्यकता पूरा भएपछि थप धनसम्पत्तिले मात्र मानिसको खुसीमा उल्लेखनीय वृद्धि नल्याउने देखाएको छ । बरु आफूलाई महत्त्वपूर्ण लाग्ने व्यक्तिहरूसँग पर्याप्त समय बिताउनु, परिवार तथा साथीभाइसँग आत्मीय सम्बन्ध कायम राख्नु र अर्थपूर्ण गतिविधिमा संलग्न हुनु दीर्घकालीन जीवन सन्तुष्टिका महत्त्वपूर्ण आधार हुन् । मानिसले आफ्नो समय र ऊर्जा कसरी प्रयोग गर्छ भन्ने कुराले पनि उसको खुसी र जीवनप्रतिको सन्तुष्टिमा प्रभाव पार्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

अध्ययनले मानवीय सम्बन्धलाई बलियो बनाउन सचेत प्रयास गर्नुपर्ने पक्षलाई समेत जोड दिएको छ । अरूका कुरा ध्यानपूर्वक सुन्ने, सम्बन्धलाई समय दिने, सुखद अनुभवलाई सम्झने र आफ्ना प्रियजनसँग सकारात्मक क्षण साझा गर्ने जस्ता सामान्य अभ्यासले पनि जीवनमा सन्तुष्टि अभिवृद्धि गर्न सक्छन् । त्यसैगरी, काममा प्राप्त हुने विश्वास, सम्मान, सन्तुष्टि र आफ्नो भूमिकाको अर्थबोधले पनि मानिसको खुसीमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । कार्यस्थलमा आर्थिक सुविधासँगै सकारात्मक वातावरण र व्यवस्थापनप्रतिको विश्वास आवश्यक हुने अनुसन्धानले औँल्याएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार खुसी भनेको सधैँ सकारात्मक भावनामा रहनु वा जीवनमा कुनै दुःख र चुनौती नआउनु होइन । यो परिस्थितिअनुसार आफूलाई अनुकूल बनाउँदै सम्बन्ध, व्यक्तिगत क्षमता र जीवनका मूल्यमान्यतालाई सन्तुलित रूपमा अघि बढाउने निरन्तर प्रक्रिया हो । कठिन समयमा परिवार, साथीभाइ र समुदायबाट प्राप्त हुने सहयोगले मानिसलाई चुनौती सामना गर्न र जीवनप्रति आशावादी रहन मद्दत गर्छ ।

यस अनुसन्धानले सकारात्मक मनोविज्ञानमा लामो समयदेखि चर्चामा रहेको एउटा महत्त्वपूर्ण विषयलाई पुनः उजागर गरेको छ-मानिसको खुसी उसको व्यक्तिगत उपलब्धि र आर्थिक अवस्थासँग मात्र सम्बन्धित हुँदैन, सामाजिक सम्बन्ध र जीवनको अर्थसँग पनि गहिरो रूपमा जोडिएको हुन्छ । विश्व खुसी प्रतिवेदनका अनुसन्धानहरूले समेत सामाजिक सम्बन्ध र सहयोगलाई मानिसको जीवन सन्तुष्टि तथा समग्र कल्याणका महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

यसै सन्दर्भमा परिवारसँग समय बिताउने, साथीभाइसँग आत्मीयता कायम राख्ने, अरूको भावना बुझ्ने र समुदायसँग जोडिएर रहने अभ्यास आधुनिक जीवनशैलीमा झन् आवश्यक देखिन्छ । व्यस्तता, प्रतिस्पर्धा र भौतिक उपलब्धिको दौडमा मानवीय सम्बन्धलाई पछाडि पार्दा मानिसमा एक्लोपन र असन्तुष्टि बढ्न सक्छ । त्यसैले दीर्घकालीन खुसीका लागि धनसम्पत्ति आर्जनसँगै सम्बन्धमा लगानी गर्ने, अर्थपूर्ण काम गर्ने र जीवनका साना सकारात्मक अनुभवको महत्त्व बुझ्ने बानी विकास गर्नुपर्ने अनुसन्धानको सन्देश छ ।

Share

Related posts

Leave a Comment