२४ कार्तिक,काठमाडौं: सूचना र प्रविधिको तीव्र विकाससँगै विश्व समुदाय यतिबेला सत्य र असत्य सूचनाबीचको भिन्नता छुट्याउने चुनौतीसँग जुधिरहेको छ । सामाजिक सञ्जाल तथा डिजिटल सञ्चार माध्यमबाट गलत सूचना र नियोजित दुष्प्रचार तीव्र गतिमा फैलिँदा मानिसहरू भ्रमित हुने, अपुष्ट कुरालाई सत्य ठान्ने र त्यसैका आधारमा धारणा बनाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो अवस्थामा भगवान् गौतम बुद्धले करिब २६ सय वर्षअघि दिनुभएको विवेकपूर्ण चिन्तनको शिक्षा कालाम सुत्तु पुनः चर्चामा आएको छ ।
नोभेम्बर १० अर्थात् विश्व शान्ति तथा विकासका लागि विज्ञान दिवसका अवसरमा बुद्धको यही शिक्षालाई आधुनिक समाजसँग जोडेर हेर्न थालिएको छ । कालाम सुत्तु पाली भाषाको केसपुत्तिय सुत्तुका रूपमा पनि चिनिन्छ । यो पाली बौद्ध ग्रन्थ अङ्गुत्तर निकायको तिक निपात अन्तर्गत ६५औँ सुत्त हो ।
यस सुत्तको पृष्ठभूमि पनि रोचक छ । भगवान् बुद्ध कोसल राज्यमा भिक्षुसङ्घसहित भ्रमण गर्ने क्रममा कालाम समुदायको केसमुत्ति नामक बस्ती पुग्नुभएको थियो । त्यहाँ विभिन्न धार्मिक गुरु तथा श्रमणहरूले आ–आफ्ना विचार र मान्यतालाई सत्य दाबी गर्दै अरूका विचारको आलोचना गर्ने गरेका थिए । फरक–फरक दाबी र परस्पर विरोधी उपदेशका कारण स्थानीय बासिन्दा कसको कुरा सत्य हो भन्ने विषयमा अन्योलमा परेका थिए । यही द्विविधा समाधानका लागि उनीहरूले बुद्धसँग मार्गदर्शन मागेका थिए ।
त्यस क्रममा बुद्धले कुनै कुरा सुनेको भरमा, परम्परादेखि चलिआएको भन्दैमा, धेरै मानिसले विश्वास गरेको आधारमा, धार्मिक ग्रन्थमा लेखिएको कारणले वा कुनै प्रतिष्ठित तथा विद्वान् व्यक्तिले भनेकै भरमा स्वीकार नगर्न आग्रह गर्नुभएको थियो । उहाँले कुनै विचारलाई तर्कसँग मिलेको देखिँदैमा वा आफूलाई मन परेको आधारमा समेत सत्य मान्न नहुने बताउनुभएको थियो । बरु त्यसको वास्तविकता, परिणाम र नैतिक प्रभावलाई आफैँले विवेकपूर्ण ढङ्गले परीक्षण गर्नुपर्ने शिक्षा दिनुभएको थियो ।
कालाम सुत्तको मूल सन्देशअनुसार कुनै विचार वा व्यवहार लोभ, द्वेष र मोहबाट प्रेरित छ कि छैन, त्यसले व्यक्ति तथा समाजको हित गर्छ कि हानि पुर्याउँछ र त्यसलाई अपनाउँदा दुःख उत्पन्न हुन्छ कि सुख तथा कल्याण अभिवृद्धि हुन्छ भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्छ । विवेकी व्यक्तिहरूले निन्दा गर्ने र हानि तथा दुःख निम्त्याउने व्यवहार त्याग्नुपर्छ भने हित, कल्याण र सुख अभिवृद्धि गर्ने आचरण अपनाउनुपर्छ । यसले मानिसलाई अन्धविश्वासबाट मुक्त भई स्वतन्त्र चिन्तन, नैतिक विवेक र जिम्मेवार निर्णयतर्फ प्रेरित गर्छ ।
आजको डिजिटल युगमा यस शिक्षाको सान्दर्भिकता अझ व्यापक बनेको छ । सामाजिक सञ्जालमा कुनै सूचना वा समाचार हजारौँ पटक साझा हुँदैमा त्यो सत्य हुँदैन । प्रभावशाली व्यक्ति, लोकप्रिय सञ्चार माध्यम वा परिचित व्यक्तिले सार्वजनिक गरेको सामग्रीसमेत तथ्य परीक्षणबिना विश्वास गर्न मिल्दैन । गलत सूचना र नियोजित दुष्प्रचारले जनमत प्रभावित पार्ने, सामाजिक सद्भाव बिगार्ने, समुदायबीच अविश्वास बढाउने र सार्वजनिक निर्णय प्रक्रियालाई समेत भ्रमित पार्ने जोखिम बढाएको छ । कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट तयार गरिएका भ्रामक तस्बिर, श्रव्यदृश्य सामग्री तथा नक्कली समाचारले यो चुनौतीलाई थप जटिल बनाएका छन् ।
यस्तो अवस्थामा कालाम सुत्तले दिएको सन्देश केवल धार्मिक वा आध्यात्मिक शिक्षामा सीमित नरही सूचना साक्षरता र तथ्य परीक्षणको महत्त्वपूर्ण आधारका रूपमा समेत बुझ्न सकिन्छ । कुनै सामग्री प्राप्त भएपछि त्यसको मूल स्रोत पहिचान गर्ने, प्रमाण जाँच्ने, अन्य विश्वसनीय स्रोतसँग तुलना गर्ने र सत्यता पुष्टि नभएसम्म त्यसलाई साझा नगर्ने बानी विकास गर्न आवश्यक छ । सूचना ग्रहण गर्ने मात्र होइन, त्यसको विश्वसनीयता परीक्षण गर्ने जिम्मेवारी पनि प्रत्येक नागरिकमा रहन्छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले प्रत्येक वर्ष नोभेम्बर १० मा मनाइने विश्व शान्ति तथा विकासका लागि विज्ञान दिवसमार्फत विज्ञानको सामाजिक महत्त्व, वैज्ञानिक विषयमा सार्वजनिक सहभागिता र ज्ञानमा आधारित समाज निर्माणलाई जोड दिँदै आएको छ । यसक्रममा चिन्तकहरुले बुद्धको यस सुत्तलाई वैज्ञानिक युगमा झन् बढि सामयिक भएको बताएका छन् । सन् २०२६ का लागि यस दिवसको मूल विषय विज्ञान कूटनीतिमार्फत साझा आधार रहेको छ । वैज्ञानिक सोच, प्रमाणमा आधारित निर्णय र अन्तर्राष्ट्रिय सहकार्यलाई शान्ति तथा दिगो विकाससँग जोड्ने यस दिवसको उद्देश्य बुद्धको कालाम सुत्तमा व्यक्त विवेकपूर्ण चिन्तनसँग पनि सार्थक रूपमा जोडिन्छ ।
बुद्धको शिक्षा प्रश्न नगरी विश्वास गर्न होइन, प्रश्नलाई सत्यको खोजीको माध्यम बनाउन प्रेरित गर्छ । तर प्रश्न र परीक्षण गर्दा द्वेष, पूर्वाग्रह तथा अहङ्कारबाट मुक्त भई खुला मन, धैर्य र करुणा कायम राख्नुपर्ने पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ । सूचना र प्रविधिको बाढीमा बग्नुभन्दा विवेक प्रयोग गर्ने, अपुष्ट दाबीभन्दा प्रमाणलाई प्राथमिकता दिने र व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई महत्त्व दिने अभ्यास आजको विश्वका लागि आवश्यक देखिन्छ । यस अर्थमा कालाम सुत्तको सन्देश केवल २६ सय वर्ष पुरानो उपदेश मात्र होइन, भ्रामक सूचनाको चुनौतीबीच सत्य पहिचान गर्न र शान्तिपूर्ण समाज निर्माण गर्न मार्गदर्शन गर्ने कालजयी शिक्षा भएको वैज्ञानिकहरुको निचोड छ ।

