परम पुजनिय क्यब्जे योड्जीन खेन्छेन ठाङ्ग रिन्पोछेको निर्वाण

लोकनाथ काग्यु सम्प्रदायका शासनधर मूल गुरु परम पुजनिय क्यब्जे योड्जीन खेन्छेन ठाङ्ग रिन्पोछेज्यू ९१ वर्षको आयुमा परिनिर्वाण प्राप्त भएको छ । भोट पात्रो अनुसार चौथो महिनाको पूर्णिमा (वि.सं. २०८० जेठ २१ गते), भगवान् बुद्धले महापरिनिर्वाणमा प्रवेश गर्नुभएको विशेष दिनमा उहाँले पनि आफ्ना यो जुनीमा गर्नु पर्ने सबै कार्यहरू गरिसकेको बुझ्नु भई दिउँसो १ः३० बजेतिर आफ्नै निवासको शयनकक्षमा शाक्यमुनि बुद्धले महापरिनिर्वाणमा प्रवेश गर्नुहुँदा शरीरको स्थिति जस्तो थियो त्यसरी नै चित धर्मधातु अनास्त्रव प्रभास्वरको स्वभावमा रही शान्त अवस्था (निर्वाण) मा प्रवेश गर्नु भयो ।

सन् २०२३ जल– खरायो वर्ष तदानुसार भोट वर्षको तेस्रो महिना पूर्णिमाको दिन उहाँ अस्वस्थ हुनु भएको थियो । त्यसपछि उहाँलाई आफ्ना शिष्यहरूले अस्पतालमा जाने अनुरोध गर्दा पनि उहाँले इच्छा देखाउनु भएन । तर शिष्यहरुले अस्पताल जान बारम्बार अनुरोधपछि उहाँलाई अस्पतालमा लगियो । त्यसबेला परम पूजनीय कर्मापा गुरुबाट उहाँको स्वास्थ्य सुधारको निम्ति विशेष श्लोक रचना गर्नुभई अनेक पूजा र दीर्घायुको पाठ गराउनुभयो । काग्यु सम्प्रदायका शैक्षिक तथा धार्मिक संस्थाहरूमा समेत अनवरत रूपमा शीघ्र स्वास्थ्य लाभको निम्ति पूजा गराउनु भन्ने आज्ञा भएको थियो । भोट तथा अन्य देशमा रहेका लोकनाथ काग्यु सम्प्रदायका गोन्पाहरु लगायत अन्य निरपेक्ष संघगणहरूका साथै उहाँका श्रद्धालु भक्तजन शिष्यहरुद्वारा व्यापक रुपमा पूजापाठ सम्पन्न गरियो

विशेषगरी मैत्रियनाथ ताई सितु रिन्पोछे, गौशिर ग्याल्छब रिन्पोछे तथा शुर्माङ् गर्वाङ् रिन्पोछे आदि बौद्ध धर्मगुरुहरु स्वयं अस्पतालमा पाल्नु भई विधिगत रुपमा अनेक दीर्घायु पूजापाठ तथा काय, वाक र चित्तको मण्डल आदि अर्पण गर्नुभई विशेष अर्ति उपदेश पनि दिनुभयो । त्यसपछि गुरु क्याब्जे रिन्पोछेको स्वास्थ्यमा सुधार नआएकाले नाथ स्वयंको निवास उत्तम तीर्थस्थल नमोबुद्ध स्थित ठाटाशी याचे गोन्यामा पाल्नु भयो ।

परम पावन महा उपाध्याय ठाङ्गु रिन्पोछेज्यूको संक्षिप्त जीवनी
गुरुवर ठाङ्गु रिन्पोछेज्यूको अवतारको परम्परा १५ औं शताब्दीमा शुरु भयो जब ७ औं कर्मापा छोडाक ग्याछो तिब्बत स्थित ठाङ्गु भन्ने स्थानमा प्रस्थान गर्नु भएको थियो । त्यस बेला परम पावन कर्मापाद्वारा ठाङ्गु गुम्बाको स्थापना गरी प्रथम ठाङ्गु रिन्पोछेज्यू शेरब तेन्पी ग्याल्छेनलाई शुवु पल्गी सेंगेको (गुरु पद्मसम्भवका २५ वटा महान् शिष्य मध्ये एक) अवतारको रुपमा प्रमाणीकरण गरी गद्दी आरोहण गराउनु भएको थियो ।

वर्तमान ९ औं ठाङ्गु रिन्पोछेज्यू तिब्बतको खाम भन्ने स्थानमा सन् १९३३ नोवेम्बर २७ तारिखको शुभ दिनमा पिता झ्याम्याङ डुण्डुप र माता वाङ्मोका सुपुत्रको रुपमा जन्म लिनु भएको हो । ४ वर्षको उमेरमा १६ औं कर्मापा रिग्पी दोर्जेज्यू र ११ औं ताई सितु रिन्पोछेद्वारा उहाँका अभिभावको नाम र स्थानको भविष्यवाणी गरी आठौं ठाङ्गु रिन्पोछेज्यूको अवतार उहाँ (वर्तमानका ९औं ठाड्ड रिन्पोछेज्यू) नै हुन् भनेर प्रमाणीकरण गराउनु भयो ।

ठाङ्गु गुम्बामा प्रवेश गरी ७ वर्षको उमेरदेखि १६ वर्षको उमेरसम्म पुग्दा आफ्नो पढ्ने, लेख्ने, व्याकरण, साहित्य, ज्योतिषशात्र, धार्मिक ग्रन्थ कण्ठस्थ गर्ने र दुईवटा प्राथमिक गुफावास समेत सुसम्पन्न गर्नुभयो । १६ वर्षको उमेरमा गुफावासको क्रममा खेन्पो लोडो राब्सलको निर्देशनमा बौद्ध धर्मका तीन यानको गहन अभ्ययन पनि गर्न थाल्नुभयो ।

उहाँले २३ वर्षको उमेरमा १६ औं कर्मापाबाट भिक्षु सम्बर ग्रहण गर्नु भएको थियो । सन् १९५२मा चिनियाँ आक्रमणको क्रममा तिब्बतबाट भारततर्फ प्रस्थान गर्नु भएको थियो । वहाँलाई भारतको सिक्किम स्थित कर्मापाज्यूको प्रवाशी मुख्य गद्दी रुम्तेक गुम्बामा आमंत्रित गर्नुभयो । ३५ वर्षको उमेरमा बंगाल स्थित बाक्साडोर मोनास्टीक रिफ्युजी केम्पमा (Buxador Monastic Refugee Camp In Bangal) लभगभ १५०० पन्ध्र (एक हजार सय) भिक्षु मध्ये गेशे परीक्षामा सफलता प्राप्त गर्नु भएको हुनाले वहाँलाई गेशे ल्हारम्पाको महान् उपाधी (तिब्बती बौद्ध धर्मको एउटा महान उपाधी) उहाँलाई प्रदान गरियो । रुम्तेक फर्किदा उहाँलाई रुम्तेक स्थित “रुम्तेक गुम्बा तथा नालान्दा उच्च बौद्ध शिक्षण संस्थानको” खेन्पो घोषित गर्नु भयो । उहाँ कर्मा काग्यु सम्प्रदायका चार मुख्य जिनपुत्रका (शामार रिन्पोछज्यू, सितु रिन्पोछेज्यू, ज्यामगोन कोडटुल रिन्पोछेज्यू र ग्याल्छब रिन्पोछेज्यू) व्यक्तिगत गुरु समेत हुनु हुन्छ ।

परम पावन ठाङ्गु रिन्पोछेज्यूद्वारा युरोप, पूर्वीय देशान्तर र अमेरिकाको व्यापक रुपमा भ्रमण गर्नु भएको छ । नोवा स्कोटीय (Nova Scotia) स्थित गाम्पो अबेका खेन्पो पनि हुनुहुन्छ । सन् १९८४ मा वहाँले धेरै महिना यता तिब्बतमा बिताउने क्रममा सयौं प्रव्रज्यहरूलाई (Monks & Nun) भिक्षुको सम्वर प्रदान गरी विभिन्न गुम्बा तथा पवित्र तीर्थस्थलको दर्शन गर्नु भएको थियो । बौद्धनाथ स्थित ठाड टासी छोइलिङ गुम्बाको स्थापना, काठमाण्डौ उपत्यकाको पूर्वमा स्थित नमो बुद्धमा “नमो बुद्ध बौद्ध ध्यान तथा शिक्षण केन्द्रको स्थापना”, गृहस्थीहरूका बाल बालिका तथा युवा प्रव्रज्यहरूका लागि आधुनिक शिक्षाका लागि बौद्ध-तिन्चुली स्थित ठाङ्गु मंगलद्वीप विद्यालयको स्थापना गर्नु भएको छ । स्त्री प्रव्रज्यका लागि काठमाण्डौ स्थित ठाङ्गु तारा अबे गुम्बाको निर्माण गर्नु भएको छ । सन् १९९९ मा भारत स्थित सारनाथमा वज्र विद्या संस्थानको निर्माण गर्नुभयो जुन बौद्ध धर्म अन्तर्गत विभिन्न परम्पराका विद्यार्थी वर्ग लगायत पश्चिमी विद्यार्थीहरूका लागि पनि धर्म अध्ययनका निम्ति स्वीकार्य गरिएको छ ।

महामुद्राका ज्ञाताको रुपमा ख्याति प्राप्त गुरुवर ठाड रिन्पोछेज्यूद्वारा लगभग २५ भन्दा पनि अधिक राष्ट्रहरूमा प्रवचन दिई सक्नु भएको छ। विशेषगरी पश्चिमी विद्यार्थीहरू समक्ष अति गम्भीर ग्रन्थको वचनलाई एकदमै सरल र सहज रुपमा प्रस्तुत गरिनुमा वहाँ धेरै नै प्रसिद्ध हुनु हुन्छ ।

अपार धर्मज्ञानले युक्त भएकाले सन् २००२ मा परम पावन दलाई लामाज्यूद्वारा वहाँलाई (ठाङ्गु रिन्पोछेज्यू) १७ औं कर्मापाज्यूको व्यक्तिगत गुरुको रुपमा घोषित गर्नु भएको थियो ।

Share

Related posts

One Thought to “परम पुजनिय क्यब्जे योड्जीन खेन्छेन ठाङ्ग रिन्पोछेको निर्वाण”

  1. Interesting perspective, the part about comfortable materials was laid out step by step, will bookmark this for reference.

Leave a Comment