बौद्ध धर्ममा असार पूर्णिमा अर्थात् गुरु पूर्णिमा

असार पूर्णिमा अर्थात् गुरु पूर्णिमाको महत्व बौद्ध धर्मावलम्बीबीच पनि रहेको छ । बौद्ध धर्ममा असार पूर्णिमाकै दिन गौतम बुद्धले महामायाको कोखमा प्रवेश गर्नु भएको थियो । त्यस्तै आजकै दिन बुद्धले महाभिनिष्क्रमण अर्थात् दरबार छोडेर ज्ञानको खोजीमा निस्कनु भएको थियो ।

बुद्धत्व प्राप्तिपछि असार पूर्णिमाकै दिन वाराणासी नजिकै ऋषिपतन मृगदाव (सारनाथ)मा सम्यक सम्बुद्धले आफुले पाएको ज्ञानलाई सर्वप्रथम पाँच जना सन्यासीहरु, जो पछि गएर प्रथम वा पञ्चवर्गीय भिक्षुका रुपमा प्रख्यात भए, उहाँहरुलाई धर्म उपदेशबाट अमृतपान गराउनु भएको थियो । यसरी धर्म प्रचार भयो वा धर्मको चक्का घुम्न थाल्यो भन्ने अर्थले धर्मचक्रप्रवर्तन दिवस भनियो । त्यसैले यसदिन धर्म वा सम्यक शिक्षा वा अमृतज्ञान प्रति गौरव गर्दै धर्मदेशना सुन्ने कार्यक्रम राख्दछन् ।

आजकै दिनदेखि भिक्षुहरु आ आफ्नो विहार (आश्रम) मा वर्षावासको अधिष्ठान गर्छन् र एकै ठाँउमा तीन महिना सम्म वर्षावास बस्ने व्रत ग्रहण गर्छन् ।

विशेषगरि भिक्षुहरुको तीन महिनाको लागि एउटै अधिष्ठान भएकोले उपासक उपासिकाहरुले तीन महिनासम्म अमृत ज्ञान सुन्न पाइने र दानशील भावनाको अभ्यास गर्न पाइने आशाले खुसी भएर भिक्षुहरु लाई विहारमा बस्न अनुरोध गर्दछन र भिक्षुहरुले सो अनुरुप अधिष्ठान गरे पछि धर्म देशना कार्यक्रम हुन्छ । धर्मप्रती गौरव राख्दै उपासक उपासिकाहरुले पनि तीन महिना भरमा आफुले गर्न सक्ने धार्मिक अधिष्ठान गर्दछन । कसैले नियमित विहार आउने, कसैले नित्य पञ्चशिल पालन गर्ने, कसैले सप्ताहिक उपोशथ पालन गर्ने , कसैले नियमित दान, ध्यान आदि गर्ने अधिष्ठान गर्दछन ।

Share

Related posts

Leave a Comment