सांगे लेग्देन गुरुङ (भूपेन)
यहाँ पाच विषयमा चर्चा गरेको छु । कृपया कुनै कमीकमजोरी भएमा प्रतिक्रिया गरिदिनु होला ।
१) बुद्धपूर्णिमाको महत्त्व
२) बुद्धजयन्ती नेपाल र राष्ट्रसंघले मनाउन सुरुवात
३) बुद्ध धर्म र महिमा
४ यो विपत्तिको अवस्थामा कसरी बुद्ध पूर्णिमा मनाउने
५) प्रसंग बुद्ध धर्मको
त्रिकालको सम्पूर्ण बुद्धबोधिसत्व र मेरो मूलगुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन, हामी सबै प्राणीमा बुद्धताको हेतु भएरै पनि राग, द्वेष, अविद्या, ईर्ष्या, अहंले ग्रसित भई सांसारीक प्राणी हुन बाध्य छौँ । यस्तो क्लेशबाट शीघ्र मुक्त हुँदै परमसत्य बोधार्थ सदैव गुरुप्रति सदमार्गको अपेक्षा र गुरुको सुस्वास्थ दीर्घायुको प्राथना कामना गर्दछु ।

१) बुद्धजयन्तीको महत्त्व
हरियाली पालुवा रंगीचंगी फलफूल मनोरम वातावरण नव सालको नया उमंग बर्षभरिको १२ पूर्णिमाको पहिलो शितलता अर्थात वैशाख पूर्णिमा । प्राकृतिकरुपले पनि अन्य भन्दा मनमोहक प्रकाशमय र शितलमय प्रकृतिकै एक अदभूत वरदानको दिन बैशाख पूर्णिमा ।
शुभ बुद्ध जयन्ती“ बुद्ध बोधिलाभ “बुद्ध महापरिनिर्वाण“ त्रिसंयोगको जाज्वल्यामान पूर्णिमा । यसै दिनमा अन्धकारमय संसारमा दिव्यज्योति बुद्ध ज्ञानको उदय भएको एक अदभूत र विषेश दिन वैशाख पूर्णिमा ।
२) बुद्ध जयन्तीको सुरुवात
२६४४औ शुभ जन्मजयन्ती पूर्णिमा
२६०९ बोधिलाभ पूर्णिमा
२५६४ महापरिनिर्वाण पूर्णिमा
त्रिसंयोगको जाज्वल्यामान यस पूर्णिमालाई बौद्ध राष्टहरु भुटान, थाईल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओस आदि देशहरुमा राजकिय सम्मानको साथ नेपाल, चीन भारत युरोप अमेरिका आदि देशहरुमा ससम्मानको साथ मनाउदै आइएको छ बुद्धपूर्णिमा ।
नेपालमा पनि गौतम बुद्धको नेपाली भूमिमै जन्म भएकोले बाध्य भई तत्कालिन शासक राजा त्रिभुवनले वि.स.२००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्याता दिए पछि नेपालमा रहेको लाखौ बौद्धमार्गी नेपालीले पनि हर्षोउल्लाशको साथ मनाउदै आएका छन् बुद्धजयन्ती । त्यसभन्दा पहिला बौद्धधर्म प्रचार र बुद्ध जयन्ती मानेकै भरमा राज्य बाट धेरै दण्डित समेत भएको थियो । जस्तै, शासक चन्द्र समशेर राणाको निर्देशनमा वि.स. १९२६ मा ३ भिक्षुलाई देश निकाला र बहुमुल्य ग्रन्थहरु आगजनी तथा कब्जा समेत भएको थियो ।
लुम्बिनीमा वि.स. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भयो । जसबाट पारित भए अनुसार सो दिनलाई सरकारले लुम्विनी दिवश पनि मानाउदै आएको छ ।
विभिन्न बौद्ध मुलुकहरुको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय रुपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरि सो दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरुमा बुद्धजयन्ती मनाउन बिदा दिदै आएको छ । जुन बखत नेपालको धेरै खोजि तथा चर्चा हुने गर्दछ । आज पनि नेपाललाई ईटालीको नेपोली ठान्ने विदेशी धेरै छन् । तर यसदिनमा सरकारी तहबाटै प्रचारप्रसार हुनाले नेपाल बुद्धभूमि भनेर विश्वभर चिनिदै छ् ।
३) बौद्ध धर्म, विश्वले मानवता र शान्तिवादी भनेर आदर गर्ने बौद्ध शिक्षा । जुन प्रतिपादित गर्ने गौतम बुद्धको जन्मस्थल अहिले नेपालमा पर्छ । बुद्ध हाम्रो राष्ट्रिय विभूति पनि हो । तर खै किन हो अझै उहाँको शिक्षा र त्यसको मर्मलाई नेपालीले अझै राम्रोसँग आत्मसात गर्न सकेका छैनन् ।
बुद्धको शिक्षामा घृणा होइन माया, कटुता होइन मधुरता, हिंशा होइन अहिंसामा अभिप्रेरित गराउने र काल्पनिकभन्दा पनि यथार्थलाई अंगिकार गर्न सिकाउने सर्व प्राणीहरु दुःख नचाहने र सबैले सुख चाहने हुनाले सबैप्रति उचित र समान व्यवहार गर्न सिकाउने जगतहितकारी बुद्ध शिक्षालाइ आज बौद्धिकजनहरु तथा अन्य धर्मालम्वीहरुले पनि सम्मान र समर्थन गरेका छन् ।
आज संसारमा जतिपनि हिंशा, विपत्ति र महामारी भएको छ, त्यो मानवीय कारण नै हो । बुद्धको शिक्षा अनुसार सबै प्राणीको बाच्न पाउने अधिकार, हत्या हिंशा र अत्याधिक महत्त्वाकांक्षी हुनु हुँदैन भन्ने आशयको हामी दुनियाँले अनुसरण गर्न सके अहिले यस्तो विकराल समस्या सायद हुदैन थियो कि ? बुद्ध भगवान् भन्नू हुन्छ, जतिपनि समस्या दुःख विपत्तिहरु आउछन् यी सबै तृष्णाको कारण हो ।
४) यो विपत्तिमा कसरी मनाउने बुद्धजयन्ती ?
बुद्ध अनुयायी तथा सम्पुर्णले यो दिन पञ्चशीलको अभ्यास तथा दैनिक जीवनमा अपनाउनु सके राम्रो ।
१) कसैले कसैको सामान सम्पत्ति नदिएसम्म नलिने, चोरि तथा भ्रष्टाचार गर्दै नगर्ने, यसलाई आजैदेखि दैनिक जीवनमा उतार्ने ।
२) कसैको प्राण नलिने, नमार्ने हत्या हिंशाबाट दुर रहदै, मांसजन्य पदार्थको भोजन सेवन नगर्ने, यसलाई आजैदेखि दैनिक जीवनमा उतार्ने ।
३) हाम्रो समाज दुनियाँले भनेको मान्दै आएको अनैतिक कुरा, परपुरुष तथा महिलासँग सम्बन्ध नराख्ने सबै महिलालाई सम्मान आदर, चेलिबेटी र आमाको दृष्टिले हेर्ने । महिला तथा पुरुषले आफ्नो आधिकारिक श्रीमान तथा श्रीमती भन्दा अन्यसँग अनैतिक सम्बन्ध नराख्ने, नगर्ने र यसलाई आजैदेखि दैनिक जीवनमा उतार्ने ।
४) झुठो बोलीद्वारा अरुलाई नझुक्याउने, आफ्नो व्यक्तिगत फाईदाको लागि समाज दुनियाँलाई ठग्ने नियतले नढाट्ने, सबैसित मधुर वचन बोल्ने कसैलाई पनि कटुबचन नबोल्ने, नगर्ने र यसलाई आजैदेखि दैनिक जीवनमा उतार्ने ।
५) मादक पदार्थको प्रयोग गर्दै नगर्ने, कसैले खानै नपाई रहेको दुनियाँमा हालमा पहिला पहिलाको पुण्य प्रभावले गर्दा केही द्रव्य, धन, अन्नबालि भएको बेलामा त्यसलाई अनावश्यक कुहाएर रक्सि जाँड बनाएर आफ्नै भविष्य अन्धकार नबनाउने । यसलाई आजैदेखि दैनिक जीवनमा उतार्ने ।
आजैदेखि सकेको आफ्नो क्षमताले भ्याएसम्म अन्यलाई सहयोग गर्ने प्रार्थना सतबिचारले मात्रै भए पनि अन्य दुनियाँको उन्नति र भलो चिताउने । यसलाई आजैदेखि दैनिक जीवनमा उतार्ने ।