२५६४औं बुद्ध जयन्ती : राजकुमार शिद्धार्थदेखि बुद्धसम्मको यात्रा

चोग डीबी गुरुङ
२५६४औं बुद्ध जयन्तीको पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ! अहिले सम्पूर्ण विश्व कोरोनाको कहरबाट पिडित भएका छन् । जनजीवन अशान्त भएका छन् । यस्तो दुःखत घडिमा सम्पूर्ण मानवलाई तथागतले रोग–प्रतिरोधात्मक क्षमता प्रदान गरुन् ।

‘नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस ।’
‘इतिपिसो भगवा अरहम् विज्जचरण सम्पन्न सुगतो लोकविदो अनुत्तरो पुरिसद्धम शारथी शास्त देवमनुसानो बुद्ध भगवती ।’

अर्थात भगवान बुद्धको जन्म ६२३ इसापूर्व लुम्बिनी शालाबागमा महामाया देवीको कोखबाट भएको थियो । उनी कपिलबस्तुका शाक्य वंशका राजा शुद्धोधनका पुत्र थिए । उनले जन्मिने वित्तिकै सात पाइला टेके । प्रत्येक पाइलामा कमल उत्पन्न भयो । अन्तिम पाइलामा औला ठड्याएर भने, म सर्वज्ञ बुद्ध बन्ने छु । शाक्य संस्कार अनुसार पाँचौँ दिनमा उनको नामाकरण भयो । सर्व–अर्थ–सिद्ध ‘सिद्धार्थ’ र भविष्यमा बुद्ध बन्ने, पण्डितहरुले घोषणा गरे ।

सिद्धार्थ जन्मेको दश दिनमा माता महामायाको देहान्त भयो । उनको पालन पोषण प्रजापतीले गरिन् । आठ वर्षको उमेरमा गुरुकुलमा प्रवेश गरेर वेद, दर्शन, उपनिषद, समाजशास्त्र, अर्थनीति, राजनीति, युद्धनीति, युद्धकला आदिमा पारंगत भए ।

चोग डीबी गुरुङ

उनले १६ वर्षको उमेरमा यशोधरा देवीलाई विवाह गरे । २० वर्षको उमेरमा ‘शाक्य संघ’मा दीक्षान्त लिए । २८ वर्षको उमेरमा पुत्र राहुल जन्मियो । एक वर्ष पछि शाक्य र कोलियाको बीचमा रोहिनी नदीको पानीमा बिवाद भयो । उक्त बिवादको छलफलका लागि शाक्य संघको विशेष अधिवेशन बोलाइयो । अधिवेशनमा कोलियासंग युद्ध गर्ने निर्णय भयो । सिद्धार्थले युद्धको विरोध गरे । तर, उनी अल्पमतमा परे । सिद्धार्थको विरोध संघको विरुद्धमा भएकाले उनलाई देश त्याग गर्ने आदेश भयो । संघको आदेश अनुसार २९ वर्षको उमेरमा प्रवर्जित भएर उनले देश त्यागेर मगध गए ।

मगधको राजधानी राजगृह थियो । त्यहाँ प्रख्यात दार्शनिकहरुको जमघट रहन्थ्यो । महा तेजस्वी साधु नगरमा प्रथम पटक देखिएकोले बटुवाहरुले पछ्याउन थाले । राजदरवारको अगाडि भीडभाड देखिएकाले, मगध नरेशले यसको कारण सोधे ।

महाराज, यो महा तेजस्वी साधु कपिलबस्तुको शाक्य राजकुमार सिद्धार्थ गौतम हुन् । जसलाई पण्डितहरुले चक्रवर्ती राजा हुने वा सन्यास लिए ‘बुद्धत्व’ प्राप्त गर्ने भविष्य वाणी गरेका थिए । कोलिया र शाक्यहरुबीच आपसी द्धन्दका कारण प्रवर्जित भएका हुन् । अहिले उनी पाण्डव पर्वतमा बसेका छन् । आज मात्र भिक्षाटनमा आएका हुन्, सुरक्षा प्रमुखले भन्यो ।

साधु ! साधु ! राजा तत्कालै पाण्डव पर्वततिर प्रस्थान गरे । पर्वतको शिखरमा सिद्धार्थलाई भेटे पछि मगध नरेश बिम्विसारले भने— ‘हे सन्यासधारी सिद्धार्थ,’ तिम्रो कुलसंग मेरो घनिष्ट सम्बन्ध छ । तिम्रो बारेमा जे सुनेको थिए, आज त्यही दुःखत अवस्थामा देखे । तिम्रो असाधारण प्रतिभाका कारण शाक्य संघ भयभित भएका हुन् । सेनापतिले अधिकारीहरुलाई यति धेरै उत्तेजित गरिदिए कि, उनीहरुले सही र गलत छुट्टाउन सकेनन् ! तिमी यही परिस्थितिको शिकार भएको हो । यदि यो सत्य हो भने, तिम्रा विपक्षहरुलाई मेरो सैनिक बलले तत्कालै कुल्चिन सक्दछ । यदि शाक्य कुल विपरित युद्ध न गर्ने तिम्रो मनासय हो भने, मगधको आधा राज्यमा तिम्रो अधिकार दिन्छु ।

‘हे मगधाधिपति,’ प्रतिकुल अवस्थामा पनि तपाइँले म प्रति देखाउनु भएको सहनुभूति एउटा असल मित्रको कर्तव्य ठानेको छु । यस प्रति कृतार्थ छु । तर, म शान्तिको खोजिमा प्रवर्जित भएको हुँ । दुःखको संसारबाट छुटकारा पाउन सक्ने उपायहरुको खोजिमा छु । अब मेरो मन काम, विषय, ऐश्वर्य, भोग र वास्ना प्रति कुनै आकर्षण छैन ।

सिद्धार्थको दृढ निश्चय देखे पछि, आफ्नो उद्देश्य प्राप्त भए पछि उपदेश दिन राजगृह आउने वचन माँगे । सिद्धार्थले सहमति जनाए पछि बिम्विसार फर्किए ।

सिद्धार्थ ज्ञानको खोजिमा त्यस समयको प्रख्यात सांख्य दार्शनिक आलार कालामको आश्रममा गए । त्यहाँ सांख्य दर्शन, ध्यान र समाधी मार्गको अध्ययन गरे । त्यसपछि राजर्षि नेँगरीको आश्रममा पुग्यो । उनको आश्रम उरुवेलको नेरन्जना नदीको किनारमा भएकोले शान्त वातावरण थियो । त्यही बसेर ध्यान, तपस्या र साधना गरे ।

सिद्धार्थले गृहत्याग गरे पछि बुद्धत्व प्राप्त गर्नु भन्दा पहिले ६ वर्षसम्म महा तपस्या गरे । धेरै गुरुहरुको आश्रममा गएर उनको सेवा गरे । गुरुहरुले जेजे भन्यो एकदमै निष्ठा पूर्वक गरे । एक पछि आर्को साधना गर्दै गरे । तर, अहंकारको तृप्त भएन अर्थात दुःखको संसार समाप्त भएन ।

एक दिन गुरुले भने, दिन प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटा मात्र चलमको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ । सिद्धार्थले त्यही अनुसार कम गर्दै गए । ६ महिनामा एउटा चामलको दाना मात्र भोजन भयो । ज्ञान त प्राप्त भएन तर, शरीर पूर्णतय बिनास भयो । हड्डी र छाला मात्र रह्यो । उरुवेलको नेरन्जना नदी तरेर भिक्षाटनमा जानु पर्ने थियो । नदी तर्न सकेनन्, बाटोमै ढले । एउटा घाँसको जरालाई समाते । त्यो पनि समात्ने क्षमता रहेन । हात खुट्टा फतक्क गल्यो । तब सिद्धार्थको चेतना खुल्यो । मलाई यो के भयो ? भवसागर तर्ने इरादाले सन्यास लिएको हुँ । तर, आज यो सानो नदी पनि तर्न सकिन ?

एक दिन विहानै नेरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेकी खीर भोजन गरे । आउदै गर्दा बाटोमा एक जना घाँसीले दान गरेको घाँसको मुठा ओछ्याएर पिपलको रुख मुनि पद्मासन लगाए ।

‘यो मेरो शरीरको हाड र छाला मात्र बाँकी रहे पनि बुद्धत्व प्राप्त नगरी यो आसनबाट उठ्ने छैन’ भनि प्रतिज्ञा गरे । उनको मूल उद्देश्य सत्यको खोजीमा थियो । तर, उनलाई अचानक उकुस मुकुस भएर असह्य पीडा भयो । शारीरिक पीडाको कारण चित्त एकदमै बिलुप्त भयो । किनभने चित्तको मूल उद्देश्य नै, यो पाए हुन्थ्यो । त्यो पाए हुन्थ्यो भन्ने हुन्छ । महत्वकांक्ष नै चित्तको आत्मा हो । तर, त्यस समय पिडाको कारण उनको मनमा कुनै महत्वकांक्षा थिएन । सम्पूर्ण भावले सबै वासनालाई त्याग दियो । बिल्कुलै शुन्य अवस्थामा पुग्यो ।

सिद्धार्थको जब आँखा खुल्यो, तब आकासमा अन्तिम तारा डुब्ने वाला थियो । तारा डुब्दा डुब्दै उनको अन्तरात्मबाट ज्ञानको ज्योती उदय भएर आयो । संसारलाई प्रकाशित गर्न सक्ने ‘पूर्वानुस्मृति, व्युत्पति, प्रतित्यसमुत्पाद र बुद्धचक्षु’ सहितको ‘बुद्धत्व’ प्राप्त भयो । तर, यो स्वयं भयो ! यो अद्भूत घट्ना हुने बेलामा त्यहाँ कुनै गुरुहरु थिएनन् । त्यसैले, ‘मारा’ अर्थात काल स्वयं त्यहाँ आएर— ‘हे गौतम, तिमीले बुद्धत्व प्राप्त गर्ने समयमा त्यहाँ कोही पनि उपस्थित थिएन ?’ यसको साक्षी को छ, भनेर प्रश्न गर्दा, ‘स्वयं काल, बोधी बृक्ष, तारा मण्डल र यो पवित्र बुद्ध भुमि साक्षी छ,’ भने । उनको उत्तर सुने पछि काल पनि त्यहाँबाट फर्किए । गौतमले बैसाख पूर्णिमाको रात पिपलको रुख मुनी ‘बुद्धत्व’ प्राप्त गरेको हुनाले पिपलको रुखलाई ‘बोधीबृक्ष’ नामबाट परिचित भए । बुद्धले ज्ञान प्राप्त गरे पछि सर्वप्रथम पञ्च वर्गिय भिक्षुहरुलाई धर्मोपदेश दिए ।

‘हे भिक्षुगण,’ जब तिमीहरुले मलाई त्यागेर आयो, तब मैले अद्भूत ‘बुद्धत्व’ प्राप्त गरेको हुँ । मैले पाउनु पर्ने र जान्नु पर्ने सबै ज्ञान प्राप्त गरिसकेको छु । मैले प्राप्त गरेको ज्ञानको सार, न त कुनै शास्त्रमा, न शब्दमा, न त सिद्धान्तमा आधारित छ । यो त तिम्रो चेतनामा बसेको छ । तिमी मन्दिर हो, त्यहाँ भित्र परमात्मले बास गरेको छ । त्यसैलाई जगाउनु पर्छ । त्यहीबाट ज्ञानको ज्योती प्रकाशित हुन्छ । प्रत्येक मानिसमा बुद्धत्व प्राप्त गर्न सक्ने क्षमता छ ।

यो भवसागर दुःखले भरिएको छ । दुःखको कारण र समुदाय छन् । दुःखबाट अलग हुन सक्ने उपाय छ । दुःखबाट मुक्ति हुन सक्ने अवस्था छ अर्थात् निर्वाण प्राप्त गर्न सक्दछ । यसलाई ‘चार आर्य सत्य’ भन्दछन् । चार आर्य सत्यको वास्तविकतालाई जान्नका लागि अष्ट मार्गको सिद्धान्तलाई बुझ्नु आवश्यक हुन्छ । निर्वाण प्राप्त गर्नका लागि ती मार्गहरु उत्तम मार्ग छन् । जस्तैः सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक जिविका, सम्यक व्यायम, सम्यक स्मृति र सम्यक समाधी ।

त्यसैले, धर्ममा बैराग्य श्रेष्ठ, सत्यमा चार आर्य श्रेष्ठ, मार्गमा अष्ट मार्ग श्रेष्ठ, शीलमा पञ्चशील श्रेष्ठ, भावनामा करुणा श्रेष्ठ, प्राणीमा मनुष्य श्रेष्ठ र मनुष्यमा चक्षु समान बुद्ध श्रेष्ठ । यो अत्यन्तै उत्कृष्ट सुत्र छ । यसलाई मनन गर्न जरुरी छ । बुद्धको प्रथम धर्मोपदेश सुन्ने बित्तिकै पण्डित कौण्डयले सर्वप्रथम अर्हत् प्राप्त गरे ।

भगवान बुद्धले प्राप्त गर्नु भएको तेस्रो ज्ञान ‘प्रतित्यसमुत्पाद’ हो । यो सन्धि शब्द हो । ‘प्रतित्य’ भन्नाले हेतु वा कारण र ‘समुत्पाद’ भन्नाले त्यसबाट उत्पन्न हुने विभिन्न खालका परिणाम हुन् । यहीबाट बुद्ध दर्शन आरम्भ हुन्छ ।

सर्वप्रथम ‘कार्य–कारण सिद्धान्त’लाई बुझ्न जरुरी छ । किनभने प्रत्येक कार्य गर्नका लागि कुनै न कुनै कारण अवश्य हुन्छ । बिना कारण कुनै पनि कार्य हुन सक्दैन ।
उदाहरणको लागि एउटा दियोलाई लिउ । दियो बले पछि मात्र त्यसबाट प्रकाश उत्पन्न हुन्छ । अर्थात ‘दियोबाट प्रकाश’ । यो प्रकृयालाई हेर्दा, दियोलाई कारण र प्रकाशलाई कार्यको रुपमा स्पष्ट बुझ्न सकिन्छ । अर्थात् एउटा वस्तुको जगमा रहेर अर्को वस्तुले अस्तित्व प्राप्त गर्दछ । यसलाई आश्रित सिद्धान्त भन्दछन् । यसबाट के कुराको पुष्टि हुन्छ भने, कुनै पनि कार्य आकस्मिक वा स्वतन्त्र रुपमा उत्पन्न हुन सक्दैन । सबै कारणहरु परतन्त्र हुन्छन् ।

दियो बाल्नका लागि प्याला, तेल, बत्ति, माचिस, उपयुक्त वातावरण, पर्याप्त अक्सिजन, हावा नचल्ने र वर्षा नहुने आदि वातावरण चाहिन्छ । अनि मात्र दियोबाट प्रकाश उत्पन्न हुन्छ । उपरोक्त समूहमा एउटा पनि वस्तु ठीक समयमा उपलब्ध हुन सकेन भने प्रकाशले अस्तित्व लिन सक्दैन । तेलको मात्र समाप्त भयो भने पनि प्रकाशको अस्तित्व स्वतः समाप्त हुन्छ । यसबाट के कुराको ज्ञान हुन्छ भने, प्रकाशको अस्तित्व उनको सहयोगी सामग्रीहरुको सन्तुलनमा निर्भर रहन्छ ।

बुद्धले चार आर्य सत्यको दोस्रो बुँदामा ‘दुःख, दुःखको कारण र यिनको समुदाय’ भनेका छन् । उनले यसलाई ‘कार्य–कारण सिद्धान्त’को आधारमा व्याख्या गरेका छन् । यो सिद्धान्त १२ वटा अवस्थाहरुमा आधारित रहेका छन् । जसलाई ‘दुवादश निदान’ भन्दछन् । जस्तैः जरामरण, जाति, भव, उपदान, तृष्णा, वेदना, स्पर्ष, षडायतन, नामरुप, विज्ञान, संस्कार र अविद्या । यी श्रृंखलाहरु एक पछि अर्को कारणमा आश्रित हुँदै अविद्यामा समाप्त हुन्छ ।

अविद्या भनेको परम् अतिक्रमण हो । यहाँबाट अन्धकार सुरु हुन्छ । अन्धकार भनेको निराकार हो, जहाँ कुनै आकारको अनुभव हुँदैन । बिल्कुलै शुन्य वा समाधीको अवस्था हो । यसरी, भगवान बुद्धले ४५ वर्षसम्म धर्मोपदेश गरी ८० वर्षको उमेरमा कुशी नगरमा महापरिनिर्वाण प्राप्त गरे । उनले प्रतिपादन गरेको बुद्ध धर्मले विश्वभरी शान्ति र समृद्ध समाजको निर्माणका लागि महत्वपूर्ण योगदान रहेको छ । आजको दिन बुद्धको जन्म, बोधी प्राप्त र महापरिनिर्वाण गरी त्रिकालको संयोग भएकाले, बौद्ध जगतमा यो दिन अत्यन्तै मत्वपूर्ण मानिन्छ । बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ! भवतु सर्व मंगलम् ! बुद्धम् शरणम् गच्छामी ।

गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।

dhirgurung@yahoo.com

 

Share

Related posts

One Thought to “२५६४औं बुद्ध जयन्ती : राजकुमार शिद्धार्थदेखि बुद्धसम्मको यात्रा”

  1. बुद्ध जयन्तिमा फरक किन ?
    २५६३औं बुद्ध जयन्तिको पावन अवसरमा मंगलमय शुभकामना !
    मैले विगत केही वर्षदेखि बुद्ध दर्शनको अध्ययन गर्दै आएको छु । तर, मैले नबुझेको कुरा के छ भने यस पटकको बुद्ध जयन्ति २५६३ हो । तर, २५६४ कसरी भयो ? किनभने, भगवान बुद्धको जन्म ६२३ इसापूर्व र आजको समय सन् २०२० हो । दुबैलाई जोडदा २६४३ हुन्छ । बुद्धले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेको हुनाले यसमा ८० वर्ष घटाउदा २५६३ बाँकी हुन आउछ । यदि यो जोड र घटाउ सही हो भन्ने फरक किन ? तपाइँहरुको पनि प्रतिकृया दिनु होला । आपासमा छलफल गरी सही मार्ग प्रशस्त गर्नु पर्छ । डीबी गुरुङ ।

Leave a Comment