बौद्ध धर्मलाई पालि र संस्कृत भाषामा लेखिएका ग्रन्थका आधारमा न विभाजन गर्ने गरिन्छ । पाली र संस्कृत भाषामा लेखिएका पुस्तकबाहेक नेपाल बौद्ध धर्मका लागि सबैभन्दा ठूलो स्रोत हो । अझ भनौँ– काठमाडौँ उपत्यका । यहाँ धेरै संख्यामा महायानी बौद्ध ग्रन्थ सुरक्षित छन् भन्ने तथ्य बाहिर आएको पनि केही सय वर्ष मात्र भयो । यसअघि काठमाडौँ उपत्यका बौद्ध धर्मको खास श्रोत हो भन्ने खासै थाहा थिएन । यसको श्रेय राणा शासनमा नेपाल आएका बेलायती ब्रायन हड्सनलाई जान्छ । उनले नै पहिलो पल्ट यसबारे पश्चिममा जानकारीमा ल्याए ।
त्यतिबेला यसले बौद्ध धर्मको इतिहासमै क्रान्ति ल्याएको थियो । काठमाडौँका नेवारले महायानी बौद्ध–साहित्यका लगभग सम्पूर्ण साहित्य हस्तलिखित ग्रन्थका रूपमा सुरक्षित राख्नुलाई ठूलो उपलब्धि मानिन्छ । यसमा सबैभन्दा प्रमुख रहेको छ, नवग्रन्थ । यसमा प्रज्ञापारमिता, ललितविस्तर, लंकावतार, सुवर्ण प्रभास, गण्डव्युह, सद्धर्मपुण्डरिक, दशभूमि, तथागत गुह्यक र समाधिराज पर्छन् । यी सबै अहिले नेपाल भाषामा उपलब्ध छन् । तर, नेपालीमा छैन भने हुन्छ, केहीलाई छाडेर ।
जबकि, यी ग्रन्थ तिब्बती, चिनियाँ, जापानी र कोरियाली भाषामा भने उपलब्ध छन् । काठमाडौँ उपत्यकामा मान्ने बौद्ध धर्मलाई पछिल्लो समय नेपालमण्डलको बौद्ध धर्म पनि भन्ने गरिन्छ । केहीले यसलाई नेवार बौद्ध धर्म पनि भन्ने गरेका छन् । पालि बौद्ध–साहित्यलाई अहिलेसम्म जीवन्त राख्न श्रीलंकाको जति योगदान छ, त्यस्तै संस्कृत बौद्ध धर्ममा नेपालको योगदान छ । बुझ्नैपर्ने के हो भने पालि र संस्कृत बौद्ध–साहित्य एकआपसमा फरक छन् ।

