बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलंका सहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गर्नुभएको थियो । गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न संघमार्फत बुद्ध वचनलाई एक सूत्रमा संग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । त्रि–अर्थात् तीन वटा थैला–अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको संग्रह ‘त्रिपिटक’ हो ।
बुद्ध महापरिनिर्वाण हुनुभएको तीन महिनापछि इसापूर्व ४८३ मा मगधका राजा अजातशत्रुको संरक्षणमा भिक्षु महाकाश्यप महास्थवीरको नेतृत्वमा ५०० अर्हत भिक्षुको सहकार्यमा बुद्धवचन र विनयको संग्रह गरिएको थियो । यसलाई प्रथम ‘संघायन’ भनिन्छ । यसको १०० वर्षपछि वैशालीमा राजा कालाशोकको संरक्षणमा भिक्षु रेवत महास्थवीरको नेतृत्वमा दोस्रो संघायन भयो ।
सम्राट अशोकको समयमा अर्थात् इसापूर्व २४८ मा भिक्षु मौगल्लीपुत्ततिस्स महास्थवीरको नेतृृत्वमा एक हजार भिक्षुको सहकार्यमा तेस्रो संघायन तथा बुद्ध महापरिनिर्वाण भएको ४५४ वर्षमा लंकाद्विपका राजा बट्टगामिनीको शासनकालमा चौथो संघायन भयो ।
यसअघि त्रिपिटक ताडपत्रमा लिपिबद्ध थियो । गुरुशिष्य परम्पराअुनसार त्रिपिटक कण्ठस्थ पारी रक्षा गर्ने चलन थियो । आचार्य भिक्षु अमृतानन्द महास्थवीरले पहिलोपटक त्रिपिटकलाई पाली भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । त्रिपिटकमा ८४ हजार स्कन्ध तथा श्लोक छन् ।