लुम्बिनीमा दियो सेड सञ्चालन, दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘दियो सेड’ सञ्चालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसरमा उक्त सेड संचालनमा ल्याएको हो । कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी सेड निर्माण गरेर संचालनमा ल्याएको हो । यसअघि मायादेवी परिसरमा दियो बाल्ने ठाउँ सानो थियो । ठूलो संख्यामा बत्ती बाल्नुपर्दा भूइँमा बाल्नुपथ्र्यो । अब भने सेड संचालनसँगै सहजता भएको छ । विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्वारको पश्चिमपट्टी एकैपटकमा १ लाख दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको उद्घाटन गरिएको छ ।

उपाध्यक्ष डा. लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो सेडको उद्घाटन गरेका हुन् । उद्घाटनपछि उपाध्यक्ष डा. लामाले संसारभरका बौद्धमार्गीहरुले लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने सेडले सुविधा थप्ने बताए । उनले अझै चार वटा यस्तै सेड बनाउने योजना रहेको जनाए । व्यवस्थित रुपमा दियो सेड स्थापना गरिएकाले शुल्क तिरेर सेवा लिन कोषले आग्रह गरेको छ । उपाध्यक्ष डा.लामाले मायादेवी मन्दिरको अशोक स्तम्भ नजिकै दियो बाल्दा त्यसले असर पारेको गुनासो समेत आएकाले मन्दिर परिसरबाट केही पर दियो सेड निर्माण गरिएको बताए ।

बौद्धमार्गीहरुले मायादेवी मन्दिरमा आएर बत्ति बाल्न इच्छुक भए पनि त्यसको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा सेड निर्माणले सहजता ल्याएको छ । अन्यत्र लाखौं दियो बाल्नु र लुम्बिनीमा थोरै दियो बाल्नु बराबर हुने बौद्धिष्टहरुमा मान्यता छ । महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतिमा प्रायः दियो बाल्ने प्रचलन रहन्छ । बौद्धमार्गीहरुको आस्था र विश्वासलाई मध्यनजर गरी दियो सेडक स्थापना गरिएको हो ।

दियो सेडले धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आन्तरिक आम्दानी समेत बृद्धि गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । उद्घाटन लगतै उपाध्यक्ष डा.लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर शुरुवात गरेका थिए । सेड निर्माणका लागि १ लाख ३४ हजार रुपैयाँ रिपोन्छेहरुबाट प्राप्त भएको थियो । शुभारम्भकै दिन दियोबाट ३ लाख १३ हजार २ सय रुपैयाँ आम्दानी भएको कोषले जनाएको छ ।

Share

Related posts

Leave a Comment