लुम्बिनीमा पाँचदिने मोन्लम सुरु, हलिउड स्टार जेट ली पनि सहभागि

बुद्ध जन्मस्थल लुम्बिनीमा महायानी परम्परा अनुसार मोन्लम अर्थात् विश्व शान्ति पुजा सुरु भएको छ । विश्व शान्तिको कामना गर्दै भइरहेको मोन्लमले लुम्बिनीको धार्मिक, आध्यत्मिक तथा पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । पूजामा हलिउड स्टार जेट ली पनि सहभागि छन् ।

बौद्ध धर्र्म थेरवादी र महायानी गरी दुई मुख्य परम्परामा विकसित हुँदै आएको छ । महायानीमा हिमाली बौद्ध र नेवारी बौद्ध परम्परा चलेका छन् । हिमाली बौद्ध परम्परा अन्तर्गत सयौं पर्व, संस्कृति र रीतिथिति विकसित भएका छन् । ती सबैले बुद्धले दिएका शिक्षालाई प्रतीकात्मक रुपमा बुझ्न र दैनिक जीवनमा अभ्यास गर्न सुझाउँछन् । मोन्लम अर्थात् विश्व शान्ति पूजा हिमाली भूभागमा प्रचलित परम्परा हो । लुम्बिनीलाई बुद्ध जन्मभूमिको रुपमा महत्व दिएर मोन्लमको परम्परा आरम्भ गर्ने श्रेय भने नेपालको हिमाली भूभाग र तिब्बतमा स्थापित शाक्य सम्प्रदायलाई जान्छ । बिहीबारदेखि लुम्बिनीमा मोन्लम पुजा महायानी परम्परामा सुरु भएको हो । मोन्लममा पाँच सय बढी रिम्पोछे, लामा, आनीहरु एकै ठाउँमा भेला भई मन्त्रोउच्चारण र पाठ गर्दा समस्त लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पुजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।

लुम्बिनीमा महागुरु वल्र्ड पिसको समन्वयमा ५ दिनको मोन्लम पुजा आयोजना गरिएको हो । मोन्लम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी एवं हलिउड स्टार जेट ली पनि समेत सहभागी छन् । उनी मोन्लम पूजा अवधिभर सहभागी हुनेछन् । भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पुजाको महायानी परम्परामा निकै ठूलो महत्व छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पुजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ । यसका साथै कोरोना पछि तंग्रिँदै गरेको लुम्बिीमा विदेशी पर्यटक आगमन थप बढ्ने अपेक्षा छ ।

बुद्ध शिक्षाको सार गलत काम नगर्ने, कुशल कामहरु गरिरहने र पुण्य सञ्चय गर्ने हो । आफूले सञ्चय गरेको पुण्य बाँड्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बौद्धमार्गीहरु यसले अरुलाई पनि कुशल कर्म गर्न प्रेरणा दिने विश्वास गर्छन् । मोन्लम पाठ गर्नु पुण्य वितरण गर्नु पनि हो । मोन्लम पाठ गर्दा सबै प्राणीहरुको कल्याण होस् भन्ने मैत्री कामना गर्दा आफन्त र छिमेकीको अशान्त मन समेत शान्त हुने विश्वास छ ।

Share

Related posts

Leave a Comment