“नेपालका बौद्ध तीर्थस्थलहरू” भाग १ विमोचन

बौद्ध जागरण केन्द्रको आयोजनामा लेखक तथा सम्पादक गेशे थुब्तेन शेराबद्धारा लिखित “नेपालका बौद्ध तीर्थस्थलहरू” नामक पुस्तक विमोचन गरिएको छ ।

सोमबार काठमाडौंको हायत रिजेन्सीमा एक कार्यक्रम गर्दै पुस्तक विमोचन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराँतीज्यूले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकको पहिलो खण्डमा नेपालमा बुद्धसंग सम्बन्धित तीर्थस्थलहरू लुम्बिनी उद्यान, तिलौराकोट, क्रकुच्छन्द बुद्धको नगरी, अरौराकोट, जोडी स्तूप, कुदानको न्यग्रोध विहार र रामग्राम स्तूपको बारेमा चर्चा गरिएको छ । त्यसैगरी लेखक गेशे थुब्तेन काठमाडौँ, पाटन, र भक्तपुरमा रहेका बोधिसत्त्व सम्बन्धित तीर्थस्थलहरू, बज्रयान सम्बन्धित तीर्थस्थलहरूको बारेमा पनि पूस्तकमा विस्तृत रूपमा उल्लेख गरेका छन् ।

मन्त्री किराँतीले नेपालमा थुप्रै पुरातात्त्विक बौद्ध तीर्थस्थलहरू रहेको उल्लेख गर्दै यस्ता धार्मिक तीर्थस्थलहरूको खोजी हुनु प्रशंसनीय कार्य भएको उल्लेख गरे । त्यसैगरी मन्त्री किराँतीले नेपालका बौद्ध तीर्थस्थलहरू ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटनको हिसाबले अत्यन्तै रहेको बताए ।

परमपुजनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सभाध्यक्षमा भएको विमोचन कार्यक्रममा पुस्तकको समीक्षात्मक टिप्पणी लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रोफेसर सुमन्तराज न्यौपाने र इन्टनेशनल बुद्धिष्ट एकेडेमीका श्रद्धेय धर्मगुरु खेन्पो ङवाङ ज्योरर्देनले गरे ।

त्यसैगरी कार्यक्रममा खेन रिन्पोछे घ्युर्मे छुल्ठिम, प्रा.डा. सर्वणलाल वज्रचार्य, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

नेपालका बौद्ध तीर्थस्थलहरू (आलोक प्रदीप) भाग एक नामक पुस्तक अनुसन्धान केन्द्र लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी र नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपनले प्रकाशनमा ल्याएको हो । त्यसैगरी पुस्तकको सहसम्पादक आचार्य तेन्जिन लामाले गरेका हुन् । पुस्तकको नेपाली अनुवाद बुद्धवचन अनुवाद समितिले गरेका थिए भने नेपाली भाषा सम्पादन सुमन्तराज न्यौपाने र लक्ष्मी रुम्बाले गरेका थिए ।

Share

Related posts