१३ औं ञिङ्मा मोन्लाम सम्पन्न

काठमाडौँको बौद्धमा आयोजना गरिएको १३ औँ ञिङ्मा मोन्लाम (प्राणिधान पूजापाठ) शुक्रवार सम्पन्न भएको छ । पूजा पुस १७ गतेदेखि बौद्धस्थित शेर्पा सेवा केन्द्रमा सुरु भएको थियो । नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा यो मोन्लम कार्यक्रम आयोजना गर्दै आएको हो । तर बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएको हुँदा आठौँ मोन्लमदेखि शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा आयोजना गर्न थालिएको थियो ।

मोन्लाममा विभिन्न गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपेनहरूका साथै उपासक उपासिकाहरुको उल्लेखय सहभागिता थियो । मोन्लम पूजापाठमा विश्वमा कुनै पनि प्रकारको रोग व्याधि, युद्ध, कलह र प्राकृतिक प्रकोप आदि विघ्न बाधा नभई दिगो शान्ति, सुख, समृद्धिको कामना गरिएको थियो ।

मोन्लाम पूजापाठमा महायान बौद्ध परम्परा अनुसार विहान शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापारमिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रणिधान राजा, आर्य मञ्जुश्री नाम संगति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिएको थियो ।

मोन्लम कार्यक्रममा विशिष्ठ धर्म गुरु परमपूज्य श्रद्धेय दिल्गो खेन्चे याङसी रिन्पोछे, परम पूज्य देफुक टुल्कु रिन्पोछे, परम पूज्य खेन्पो साङ्गे राङज्युङ रिन्पोछे, परम पूज्य गेटक रिन्पोछे आदिको साथै विभिन्न जिल्लाका गोन्पाहरूबाट हजारौँ बौद्ध भिक्षु, श्रामणेर, श्रामणेरिकाहरूको साथै उपासक, उपासिकाहरूको व्यापक उपस्थिति रहेको थियो ।

Share

Related posts

Leave a Comment