हिमाली बौद्ध परम्परा ङिङ्माका सर्वोच्च गुरु परमपूज्य दो डुपछेन् रिन्पोछेको बुधवार परिनिर्वाण भएको छ । भारतको सिक्किमस्थित दोद्रुप्चेन छोर्तेन मोनास्ट्र र ओरेगनस्थित तासी छोइलिङ सेन्टर फर बुद्धिस्ट स्टडिजले विज्ञप्ति जारी गर्दै चौथो दो डुपछेन् रिन्पोछेको परिनिर्वाणको घोषणा गरेको छ । दो डुपछेन रिन्पोछे तिब्बती बौद्ध धर्मको ङिङ्मा र जोग्चेन परम्पराका सबैभन्दा महत्वपूर्ण र समकालीन गुरुहरूमध्ये श्रेष्ठ हुनुहुन्छ । उहाँको परिनिर्वाणसँगै अहिले सिक्किम, उत्तरी भारतमा अहिले थुग्दम जारी छ ।
दो डुपछेन् रिन्पोछे र ग्याट्रल रिन्पोछेबीच विशेष सम्बन्ध रहेको छ । दुवै रिन्पोछेको भेट सानै उमेरमा भएको थियो । लामो समय एकअर्काबाट टाढा रहेपछि फेरि भारतमा दुवैका भेट भयो । दुवैले विश्वमा बौद्ध धर्म फैलाए ।
रिन्पोछेले अक्टोबर १९५७ मा तिब्बत छोडेर उत्तरी भारतको सिक्किम जानुभयो राजधानी गान्तोकमा बस्नुभयो । उहाँले धेरै पवित्र ग्रन्थहरूको प्रकाशन गर्नु भयो । जसमा लङ्चेन्पाको द सेभेन ट्रेजर्स एन्ड द ट्रोलजी अफ कम्फर्ट पनि हो । सिक्किममा उहाँका दुईवटा मोनास्ट्री छन् । उहाँले भुटानमा एउटा मोनास्ट्रीको अध्यक्षता समेत गर्नु भएको थियो । उहाँले भारत र नेपालमा अन्य ठाउँमा दीक्षा दिनु भएको थियो ।
रिन्पोछेको जन्म पुर्वी तिब्बतको गोलोक राज्यस्थित दोखिममा सन् १९२७ मा भएको थियो ।