परित्राण पाठ के हो र यो किन गरिन्छ ?

बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ परित्राण पाठ हो । परित्राण पाठ (सुत्र) बिश्व भरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । यो अभ्यास विशेष गरि पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । यो पाठ स्वयम् तथागत गौतम बुद्धले विभिन्न समय, विभिन्न अवस्थामा पाठ गर्नु भएको थियो ।

परित्राण पाठमा गरिने पाठ (सुत्रहरु मध्ये अधिकाश सुत्रहरु बुद्धका आधारभूत उपदेश (शिक्षाहरु) हरुबाट छानी–छानी लिइएको छ । यो परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति, गृह दोष, रोगी बिरामी, आपतबिपत अवस्थामा श्रद्धेय भिक्षुहरुबाट पाठ गराइन्छ । मुलतः यो सुत्रहरु दुई हजार वर्ष पहिले ताडपत्रमा लेखिएका थिए । पछि परित्राण पाठ पुस्तकको रूपमा परिमार्जन गरिएको थियोे ।

यी सुत्रहरु मुलतः सुत्र पिटकका अंगुत्तर निकाय, मज्झिम निकाय, दिध निकाय, संयुक्त निकाय र खुद्दक निकाय बाट लिइएका छन् । परित्राणको पाठ मानसिक सुदृढता, खराब बिचार, दुर्भाग्य, अस्वस्थता, ग्रहदशाको दुस्प्रभावबाट रक्षा गर्नको लागी गर्ने गरिन्छ । यो पाठ भिक्षुहरु बाट विभिन्न लयमा गर्ने गरिन्छ ।

परित्राण पाठ गर्दा भिक्षुहरुले शुद्व उच्चारण र उपयुक्त लयमा पाठ गर्नु पर्ने हुन्छ । यसरी गरिएको सुत्रहरुको पाठबाट महान शक्तिहरुको संचार हुन्छ । ती शक्तिहरु भनेको बुद्ध, धर्म र संघ (तीन रत्न) हो । जसको समिश्रण नै बुद्ध धर्म हो । त्यसैले परित्राण पाठ गर्दा र सुन्दा मान्छेलाई ठूलो लाभ मिल्दछ ।
गौतम मान सिंह

Share

Related posts