भगवान् गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा सुरु भएको बुद्ध थिएटर फेस्टिभलमा दर्शकको उल्लेख्य सहभागिता भइरहेको छ । आइतबारदेखि सुरु भएको फेस्टिभलको संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी र रंगकर्मी मदनदास श्रेष्ठले औपचारिक शुभारम्भ गरेका थिए ।
फेस्टिभलका निर्देशक पुस्कर गुरुङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिए पनि कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल रोकिएको थियो । फेस्टिभलमा पाँच नेपाली र दुई विदेशी नाटक रहेका छन् । शुभारम्भसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो। डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर आयोजना गरेको थिएटर फेस्टिभलमा शनिबारसम्म हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक देखाइन्छ । फेस्टिभलको पहिलो दिन आइतबार भारतीय नाटक निर्देशक डा. दानी करमाकर निर्देशित तथागत देखाइयो । महामारीका कारण कलाकारको टोली आउन नसकेपछि खिचेर पठाएको नाटक देखाइएको थियो ।
बुद्ध थिएटर फेस्टिभलका निर्देशक पुस्कर गुरुङसँग गरिएको भिडियो अन्तरवार्ता
नाटकमा बुद्धले जाति व्यवस्था र छुवाछुतलाई नमान्ने प्रसंग प्रस्तुत गरिएको थियो। नाटकमा एक युवकले पानी छोएको निहुँमा कथित माथिल्लो जातका मानिस उनलाई कुट्न तम्सिन्छन्। आफूमाथि ज्यानको संकट आएको देखेपछि ती युवक सहाराको खोजीमा चिच्याउँछन्। यही बेला बुद्ध आउँछन् र तिनलाई संरक्षण गर्छन्, अँगालोमा बेरेर लुकाउन खोज्छन्। तर, जब उसले बुद्धलाई देख्छ युवक झन् तर्सन्छ। युवक ‘मलाई नछुनुहोस्, तपाईं दूषित हुनुहुनेछ’ भन्दै बुद्धलाई पन्छाउन खोज्छ। बुद्ध भन्छन्– ‘किन दूषित हुन्छु म? तिमी पनि सबै जस्तै मानिस हो। एक मानिसले अर्काे मानिसलाई कसरी दूषित बनाइदिन सक्छ? केवल लाज, घृणा, भ्रम, लोभ, मोह, तृष्णाले मात्रै मनुष्यलाई दूषित बनाउन सक्छ।’ बुद्धको यो वाणाी सबैले मनन गरेसँगै नाटक सकिन्छ ।
सोमबार फेस्टिभलमा विकास जोशीको निर्देशन रहेको सिद्धार्थको गृहत्याग मञ्चन गरियो । यो नाटकले दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको उत्तरको खोजीमा उनले गरेको मानसिक संघर्षलाई प्रस्तुत गरिएको छ। नाटकले सिद्धार्थले बुद्ध बन्न गृहत्याग गर्नुअघिको प्रसंगलाई समेटेको छ। १ घण्टा अवधिको नाटकको कथा प्रेमविनोद नन्दनले लेखेका हुन्। नाटकमा सुचिता उप्रेती, तुफान थापा, अस्मिता खनाल, देबिशा लामिछाने, अभिषेक शर्मालगायतले अभिनय गरेका छन्। मंगलबार भने झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रवीन्द्रनाथ टैगोर लिखित नाटक मालिनी मञ्चन भएको थियो ।