इस्वी संवतको शुरुवातमै बौद्ध धर्म चीन पुगेको थियो । चीनबाट कोरिया पुग्दा चाँही बौद्ध धर्मले विरोधको सामना गर्नु परेको थियो । यद्यपी इ.सं. ५२८ सम्ममा बौद्ध धर्म कोरियाली भूमिमा सर्वस्वीकार्य भइसकेको थियो । यसरी नै बौद्ध धर्म कोरियाबाट जापानमा इस्वीको छैटौं शताब्दीको मध्यतिर मात्रै पुग्यो । यात्राको क्रममा बौद्ध धर्मले स्थानीय विरोध र थुप्रै अवरोध सामना गर्नु परेको थियो ।
तर ती ठाउँहरूमा बौद्ध धर्मले सर्वस्वीकार्य हुन लामो समय कुर्नुपरेको चाहिँ देखिंदैन । यसो हुनाको खास कारण स्थानीय सांस्कृतिक परिवेशमा घुलमिल हुन सक्ने यो धर्मदर्शनको लचिलोपन वा उदारता नै हो । जापानमा परम्परागत शिन्तो र तिब्बतमा बोन संस्कृतिसँग भिजेर बौद्ध धर्मले आफ्नो जरा गाड्न सक्यो ।
यस अनुसार चिनियाँ, जापानी, कोरियाली, तिब्बती, थाई, श्रीलङ्कन आदि नामको बौद्ध धर्म भूगोलसँग नभएर संस्कृतिसँग सम्बन्धित हुन पुग्यो र प्रत्येकले आआफ्नै पहिचान प्रस्तुत गर्न सके ।
भौगोलिक अवस्थिति, बौद्ध साहित्य र ऐतिहासिक प्रमाणलाई आधार मान्दा बौद्ध धर्म गौतम बुद्धको जीवनकालमै काठमाडौं उपत्यका प्रवेश भइसकेको मान्न कर लाग्छ । त्यो वेलाको काठमाडौं उपत्यका व्यापारिक केन्द्र त थियो नै अनेकौं धर्म–संस्कृतिको सङ्गमस्थलका रूपमा पनि विकसित भइरहेको थियो । (हिमाल खबरमा प्रकाशित वसन्त महर्जनको लेखबाट)