घनश्याम खड्का
काठमाडौँ — यो हिउँदका आखिरी दिनहरू सुरु भइसके । अब काठमाडौंमा एउटा अनुहार देखिने छैन । कमिलासरी मान्छेको सिलिङबिलिङले रङमङ्गिएको यो खाल्डोलार्ई एउटा मान्छे हराएको कानोकान खबर हुने पनि छैन । तर, केही आँखा छन् अनाथालयमा, जसले उनको खोजी गर्नेछन् । केही अनुहार छन् गुम्बामा, जो उनको अनुपस्थितमा सुस्ताउनेछन् ।
हो, अपांगता भएका केही मानिस छन् बौद्धस्थित एउटा आश्रममा, जसलाई उनी नहुनाको समयले केही शून्य बनाउनेछ । बाँकी काठमाडौंलाई र यो भीडभाडपूर्ण सहरलाई यस विषयमा केही थाहै हुने छैन ।
यहाँलाई लाग्छ सक्छ, को कहाँ जाँदै छ ? कसको के कुरा हुँदै छ ? उत्तर म दिन्छु । तर, एकै क्षण पख्नुस् । पहिले म तपाईंलाई बौद्ध जोरपाटीको एउटा आश्रमजस्तो ठाउँमा लैजान्छु । यहाँ तपाईं विभिन्न शारीरिक कठिनाइका साथ बाँचिरहेका धेरै मानिस भेट्न सक्नुहुन्छ, जसको हातमा काम र आँखामा सन्तुष्टि प्रस्टै देखिन्छ । छोटकरीमा बीआईए भनिने यस आश्रमको पूरा नाम हो ‘बोधिसत्त्व इन एक्सन’ अर्थात क्रिया अवस्थामा बोधिसत्त्व ।
बीआईएमा कोही हिँड्न नसक्ने छन्, कोहीचाहिँ बोल्न र कोही देख्न नसक्ने । यो विकलांगताका कारण कुनै समय आफ्नै घरपरिबारबाट पनि परित्यक्तजस्तो हुन पुगेका उनीहरूलाई एउटा साझा छत र मायालु परिवेशका साथ सन् २०१४ देखि काम पनि दिने काम गरेका थिए एक युवा बौद्ध गुरु, छोग्याल रिन्पोछेले ।
सन् १९८५ मा बौद्ध टुसालमा जन्मेको पाँच वर्षको एउटा बालक २० वर्ष गुम्बामा पढेर खेन्पो (धर्माआचार्य) भएपछि साढे तीन वर्ष कैलाश मानसरोवरमा ध्यान गर्न गयो ।फर्केर काठमाडौं आएपछि उनी छोग्याल रिन्पोछे भनेर चिनिन थाले । कैलाशको शान्त परिवेशबाट एकैपटक काठमाडौंको गन्जागोलमा आइपुग्दा उनको मन मान्छेका दुःख देखेर पग्लियो र तिनको जीवनमा केही गरौं भन्ने भाव आयो । उनको यही बोधिसत्त्व–भावले स्थापना गरेको थियो— बीआईए, जसले अपांगता भएकालाई रोजगारीसहितको आवास र भोजनको व्यवस्था गर्न सुरु र्गयो । यही उपक्रममा उनले स्वयम्भूमा अनाथालय पनि सुरु गरे ।
क्षमताअनुसार, बीआईएमा बस्नेहरू कोही धूप बाट्छन्, कोही थाङ्का कोर्छन् त कोही हस्तकला प्रयोग गरेर विभिन्न परम्परागत सामग्री बनाउँछन् । युरोप, अमेरिका र चीनमा छोग्यालका प्रशस्त शिष्य छन्, जो बीआईएमा उत्पादित सामग्री मन खोलेर किनिदिन्छन् । यसरी फाउन्डेसन र अनाथालय गरी आफूसँग आश्रित सयभन्दा बढीलाई उनले स्वावलम्बी बन्ने आधार खडा गरिदिए केही वर्षमै । आफ्ना शिष्यले गरेको सहयोगबाट भुइँचालो आएका बखत भत्किएका ८ गुम्बा पनि बनाए ।
यसरी उनका दिव्य सात वर्ष बिते कैलाश पर्वतबाट आएपछि । र, अब फेरि उनी उसैगरी ध्यान गर्न जाने भएका छन्, कसैको सम्पर्कमा नरहने गरी । उनले आफैंसँग गरेको एउटा वाचा के भने, हरेक दश वर्षमा सात वर्ष धर्म देशना गर्ने र दुःखमा परेकालाई सघाउने । अनि, तीन वर्षचाहिँ हिमालय पर्वतको कुनै एकान्तमा गएर तप गर्ने ।
‘संसारमै मात्रै रमाएर पनि हुँदैन, तपस्या पनि गर्नुपर्छ,’ एकान्तवासका लागि जाने अन्तिम तयारी गरिरहेका बेला हालैको एक दिन भेटिएका छोग्याल भन्दै थिए, ‘अनि, ज्ञान नपाएसम्म खोज्न छाड्नु त हुँदैहुँदैन ।’ उनको हिसाबमा ज्ञान पाउनु भनेको दुःखबाट पुराका पूरा मुक्त हुनु हो, माने बुद्ध हुनु हो । चौधौं शताब्दीमा गाछा गोम्छेन नामका ध्यानी थिए तिब्बतमा । उनैका १३ औं टुल्कु हुन् छोग्याल । यसको अर्थ हो, छोग्यालले यसरी एकान्तवास गरी सत्यको खोजी थालेको १३ जन्म भएको छ । बौद्ध दर्शनअनुसार, यो जन्मको कर्म नै अर्को जन्मको कारण हो । जसको चित्त जागेको छ, उसको जागरण प्रत्येक जन्ममा सघन हुँदै जाने हुनाले दुःख क्षय हुँदै जान्छ । दुःखहरूमा रङमङिगएका हुनाले काम, क्रोध, लोभ, मोह इत्यादिमा मूर्छित चित्त छ भने पछिल्ला जन्महरूमा पनि हालत उस्तै, अझ झन् खराब हुन जान्छ । किन भने, जागरणले जागरण नै बढाउँछ भने मूर्च्छाले मूर्च्छा नै बढाउँछ, जसरी आगोले आगो नै फैलाउँछ र उज्यालोले उज्यालो नै निम्त्याउँछ । यस अवधारणाअनुसार, तपाईं–हामी प्रत्येक टुल्कु अर्थात् हाम्रा पूर्वसंस्कारको अविच्छिन्न प्रवाह हौं । मूर्च्िछत चित्तको पुनर्भव हुँदा अघिल्ला कर्महरूको स्मरण हुँदैन, त्यसैले म फलानाको टुल्कु भनेर आफूलाई चिन्ने वा चिनाइने काम त्यहाँ हुँदैन । जागृत चित्तचाहिँ होसपूर्वक गर्भ प्रवेश गर्ने र जन्मेदेखि नै जागरणका चिह्नहरू हुने हुँदा यसलाई योगीहरूले चिन्न सक्छन् र यो बालक फलानाको टुल्कु हो भनेर चिनाइदिन्छन् । यस्तो विश्वास बौद्ध परम्परामा छ ।
छोग्यालको जीवनमा पनि यही भएको थियो । बाबु टासी र आमा भुटी लामाको कोखबाट जन्मेका उनी एक वर्षको छँदा प्रसिद्ध बौद्ध तपस्वी शाक्य ट्रिन्जिनकोमा टासी दम्पतीले उनलाई भेट गराए । ती गुरुले टासीपुत्र पहिलेका जन्महरूमा पनि ध्यानहरू गर्ने तिब्बतका योगी गाछा गोम्छेनको चित्तको १३ औं प्रवाह भएको ठोकुवा गरे । यसरी एकवर्षे बालक हेर्दाहेर्दै धर्मगुरुका रूपमा चिनाइन थाले ।
पाँच वर्ष भएपछि १० वर्षसम्मका लागि छोग्याल सिक्कीम गान्तोकमा सोह्रौं कर्मपाको गुम्बामा गएर पढे । त्यसपछि १० वर्ष कालिङपोङको गुम्बामा पढे र खेन्पो (धर्माचार्य) पद प्राप्त गरे ।यसरी पुरा जीवन पढाइ र धर्मकर्ममा लगाइरहँदा छोग्यालको युवा उमेरले कुनै युवतीको कल्पना गरेन होला ? मनुष्यको स्वाभाविक काम वृत्तिले उनलाई पिरोलेन होला ?
‘गुम्बामा पढुन्जेल मैले कहिल्यै योगी हुने विचार गरिन’ उत्तर दिनुअघि उनी मुस्कुराए, ‘मेरो मनमा त सधैं नै एक सुन्दरी युवतीसँग गृहस्थ जीवन बिताइरहेका कल्पनाले घर गर्थे ।’ गुम्बाको पढाइ सकेपछि तीन वर्ष कैलाश पर्वतको एकान्तवास र यो सात वर्षको संसारको खुला विचरणले भने उनमा अहिले त्यस्ता विचार आउन छाडेको छ । तर, पनि उनले गृहस्थ जीवनको सम्भावनालाई नकारेका छ्रैनन् ।
भन्छन्, ‘हुन सक्छ, पछि म बिहा गरेरसांसारिक जीवनमा फर्किनेछु, भोलिको कुरा कसलाई के थाहा ?’ अबलाई भने उनका तीन वर्ष ध्यानमै बित्नेछन् । संसारको छानो तिब्बतमा उनका मूल गुरु मिलारेपाका चेला ७३ वर्षीय रेपा छुल्ठुम ध्यान गरेर बसिरहेका छन् यतिखेर । दोस्रो मिलारेपा पनि भनिने रेपा छुल्ठुम भएकै गाउँमा गएर ध्यानस्थ हुने योजना छोग्यालको छ ।
मिलारेपालाई उनका गुरु नारोपाले ६ योग सिकाएका थिए । तीनै ६ योगको अभ्यास ध्यानका समयमा छोग्यालले गर्नेछन् । सपना देख्दा सपना नै देखिरहेको छु भनेर चित्तलाई हर प्रहर होसपूर्ण अवस्थामा ल्याउने विधि यी योगहरूमा छन् । मृत्युको अन्तिम समयमा चित्तलाई जागृत अवस्थामै कसरी शरीरबाट छुटाउने भन्ने उत्क्रान्ति योग पनि यसैभित्र समावेश छ । यी सब विधिको उनी अवलम्बन गर्नेछन् । त्यस अवधिमा उनी कसैसँग भेट्ने छैनन्, कसैसँग बोल्ने छैनन् । यस्तो परम एकान्तवासपछि उनी फर्केर फेरि संसारमै आएर शिष्यहरूलाई ध्यान सिकाउनेछन् र बीआईए फाउन्डेसनलाई फेरि रेखदेख गर्नेछन् । यतिन्जेल उनको अनुपस्थितिमा फाउन्डेसन सम्हाल्दै आएका युवा गोकर्ण ढुंगानालाई नै उनले अनाथालय र बीआईएका कामहरू हेरिबिचार्नु भनी निर्देशन पनि दिइसकेका छन् ।
‘रिन्पोछे जाँदै हुनुहुन्छ र यत्रो जिम्मेवारी ममाथि सर्दै छ, जसले मलाई केही चिन्तित पारिरहेको छ,’ ढुंगाना भन्छन् ‘तर, ऊहाँमा त्यस्तो कुनै संशय, दुविधा र चिन्ता छैन ।’ कान्तिपुर दैनिकमा प्रकाशित


