सुरज खड्का
हिमाली बौद्ध धर्मावलम्वी बीच खाताग अर्थात खादाको अत्यन्तै ठूलो महत्व रहेको छ । पवित्र धार्मिक कार्यहरुमा प्रयोग हुने खादाको प्रयोग जनजीवनमा पनि उत्तिकै हुन्छ । स्वागत, सम्मान तथा शुभकार्यहरुमा हिमाली बौद्धमार्गीका लागि खादा नभई हुँदैन । खादाको प्रयोग कसरी सुरुवात भयो भन्ने बारेमा थुप्रै थरी मान्यता र भनाईहरु प्रचलित रहँदै आएको छ ।
प्राचीनकालमा हिमाली क्षेत्रमा पुरुषलाई दाहिने कुममा र महिलालाई देब्रे कुममा सेतो पिठो छर्कने चलन थियो, जसलाई कर्कग भनिन्थ्यो । कालान्तारमा यही शव्द अपभ्रंश भई खाताग बन्न पुगेको विश्वास रहदै आएको छ । अर्को मान्यता अनुसार हिमाली क्षेत्रमा फूलको अभावमा धार्मिक कार्यमा फूलको साटो हिउँ जस्तै सेतो र पवित्र खादा प्रयोग गरिन थालिएको जनविश्वास रहेको छ ।
यी र यस्ता मान्यता र प्रचलित भनाईहरु जे जस्तो भए पनि अहिले खादा बौद्ध धर्मावलम्वीको मात्रै नभई सम्पुर्ण नेपालीकै दैनिकीमा अनिवार्य बनिसकेको छ । २०४६ सालसम्म हिमाली बौद्ध अनुयायीमाझ मात्रै प्रचलनमा रहेको खादा अहिले व्यापक बनिसकेको छ । बौद्ध धर्मावलम्वी बाहेकका अन्य धर्मालवम्वीहरुले पनि स्वागत, सम्मान तथा बिदाईहरुमा खादाको प्रयोग गर्नु अनिबार्य जस्तै भइसकेको छ ।
हिमाली क्षेत्रमा खादाको प्रयोग सातौ शताव्दितिर सम्भवत उक्त क्षेत्रमा बौद्ध धर्मको प्रादुर्भाव हुनु पूर्व नै सुरु भएको मानिन्छ । जन्म, विवाह र मृत्यजस्ता संस्कारमा बढि प्रयोग हुने खादा प्राचीनकालदेखि नै सेतो रंगको बढि प्रयोग हुन्थ्यो । सेतो रंगले पवित्र मनलाई जनाउने र शुद्ध मनले बोधिचित्त प्राप्त होस् भन्ने आस्था र विश्वासका साथ सेतो रंगको खादा बढि प्रयोग हुँदै आएको पाइन्छ ।
सम्भोटा लिपीमा खादामा लेखिएका शव्दहरुलाई यदाकता विवादमा तान्ने पनि गरिएको छ । तर खासमा खादामा शुभ आशिरवादका चार वाक्यहरु लेखिएको हुन्छ । जसमा पहिलो वाक्यमा ‘तपाईको दिन पनि शुभ रहोस् रात पनि शुभ रहोस्’ लेखिएको हुन्छ । त्यस्तै दोस्रो वाक्यमा ‘तपाईको पुरै दिन शुभ रहोस्’, तेस्रोमा ‘दिन र रात नित्य रुपमा सधैँ शुभ रहोस्’ र चौथोमा ‘त्रिरत्न अर्थात् बुद्ध, धर्म र संघ सधै शुभ रहोस्’ लेखिएको हुन्छ । यसबाहेक खातामा शुभ तथा मंगल रहोस् पनि लेखिएको हुन्छ ।
यसबाहेक खादामा अष्टमंगलका ८ चिन्ह समेत समावेश गरिएको हुन्छ । अष्टमंगलका ८ प्रतिकले बुद्धको सम्पुर्ण शरिरलाई जनाउँछ ।