बसन्त महर्जन
बौद्ध जगतमा बुद्ध एक शास्ता हुन् । शास्ताको अर्थ हो, मार्गदर्शक । गैरबौद्ध समाजबाट आउनेहरु प्रायशःले बुद्ध भनेर लुम्बिनी वनमा इ.पू. ५६३ मा मायादेवीको कोखबाट जन्मेका गौतम बुद्धलाई बुझ्ने गर्दछ जुन गल्ती हो । वास्तवमा विविध नाम र पहिचान रहेका अनेकौं बुद्धमध्ये एक गौतम बुद्ध हुन् । हिनयान बौद्ध धर्मअनुसार दिपंकर बुद्धभन्दा अघिका तीन जना मेधंकर, तण्हंकर र शरणंकरलाई पनि गणना गर्ने हो भने ज्ञात भएकामध्ये गौतम बुद्धको गणना अठाइसौंमा पर्दछ । महायानी बौद्ध साहित्यमा उल्लेख भएका बुद्धहरुको संख्या त्यो भन्दा अझ बढी छ । यसरी नै बज्रयानी बौद्ध धर्मले मानुषी बुद्धहरुबाहेक ध्यानी बुद्धहरुको पनि मान्यता राख्दछ । ध्यानी बुद्धको तात्पर्य पञ्चबुद्ध हुन् ।

पंचबुद्ध भनेर वैरोचन, अक्षोभ्य, रत्नसंभव, अमिताभ र अमोघसिद्धिलाई सामुहिक नाम दिइएको हो । यी बुद्धहरु गौतम बुद्ध तथा अन्य ज्ञातअज्ञात मानव बुद्धहरुभन्दा फरक हुन् । पंचबुद्ध मानवको रुपमा जन्मेका हुँदैनन् । बौद्ध सिद्धहरुले ध्यान साधनाबाट दर्शन गरेको बुद्धका विभिन्न गुण तथा धर्महरुलाई दर्शाउन पंचबुद्धको रुपमा प्रस्तुत गरिएका हुन् । यही भएर यिनीहरुलाई ध्यानी बुद्ध पनि भनिएको हो । यस अर्थमा मानव बुद्ध हुन् वा ध्यानी बुद्ध, सबैको एउटै गुण र स्तर रहेको भनी बुझ्नु पर्दछ । पंचबुद्धमध्ये पनि चीन, जापान, कोरियालगायतका केही मुलुकमा अमिताभ बुद्ध लोकप्रिय छन् । बज्रयानी बौद्ध सम्प्रदायको एउटा केन्द्र काठमाडौं उपत्यकामा सानाठूला धेरै स्तुपहरु स्थापित छन् । ती स्तूपहरुमा यिनै पाँच बुद्धको मूर्ति स्थापना गरिएका हुन्छन् । यसरी नै विशिष्ट कक्षमा विशिष्ट प्रयोजनका लागि पञ्चबुद्धका मूर्तिहरु राख्ने पनि गरिन्छ । काठमाडौंको बौद्ध समाजमा घरको मुख्य प्रवेशद्वारमाथि लहरै पञ्चबुद्धको चित्र अंकित गर्ने चलन छ । पौभाः (थाङ्का) लगायतमा पनि चित्रकला कुँदाउने प्रचलन रहेको पाइन्छ । पञ्चबुद्धका मूर्ति तथा चित्रकलामा स्थानकभन्दा आसनमुद्रामा बढी पाइन्छन् । यहाँ पंचबुद्धको संक्षिप्त परिचय दिइन्छ ।
वैरोचन बुद्ध : पंचबुद्धको नामक्रममा वैरोचन बुद्धलाई सर्वप्रथम अथवा अन्य पाँच बुद्धको मध्यभागमा बिराजमान गरिन्छ । पञ्चबुद्धका मूर्तिहरु राखेर स्तुपको निर्माण गरिँदा वैरोचनको मूर्ति प्रायः देखाइन्न, चार दिशामा अन्य चार बुद्धको मात्रै मूर्ति राखिन्छ । बैरोचनको मूर्ति राख्नै पर्ने अवस्थामा अक्षोभ्य राखिने स्थानभन्दा बायाँ बेग्लै राखिन्छ । सामान्यतः चार दिशामा रहेका बुद्धहरुको बीचमा अदृश्य रुपमा वैरोचन बुद्ध रहेका हुन्छन् भन्ने मान्यता पनि पाइन्छ । वैरोचन श्वेत वर्णका बुद्ध हुन् । धर्मचक्र पनि भनिने व्याख्यान मुद्रामा यिनको चित्रकला वा मूर्तिकलाको सिर्जना गरिएको पाइन्छ । सिंह बाहन भएका यिनलाई चक्र तथा आकाशतत्वको प्रतीक मानिन्छ ।
अक्षोभ्य बुद्ध : पञ्चबुद्धयुक्त स्तूपको पूर्वदिशामा अक्षोभ्य बुद्धलाई अवस्थित गराइन्छ किनभने यी बुद्ध पूर्वदिशाका स्वामी हुन् । निलो वर्ण र भूस्पर्श मुद्रामा रहेने यी बुद्धको बाहन हात्ती हो । यिनलाई बज्रचिन्ह र वायु तत्वका प्रतीक पनि मानिन्छ ।
रत्न संभव बुद्ध : पञ्चबुद्धयुक्त स्तूपको दक्षिण दिशामा रहने रत्नसंभव बुद्ध हुन् । यी दक्षिण दिशाका स्वामी हुन् । पहेँलो वर्ण र बरद मुद्रामा रहने यिनको बाहन घोडा हो भने यिनलाई रत्न र पृथ्व तत्वको प्रतीक मानिन्छ । ध्यानासनमा अवस्थामा दायाँ हात गोडासम्म ल्याई बदरमुद्र र बायाँ हात उत्तानो पारी काखमा राखेका हुन्छन् ।
अमिताभ बुद्ध : पञ्चबुद्धयुक्त स्तूपको पश्चिम दिशामा अमिताभ बुद्धलाई विराजमान गराइएको हुन्छ । यिनी पश्चिम दिशाका स्वामी हुन् । रातो वर्णमा प्रस्तुत गरिने यी बुद्ध ध्यान मुद्रामा हुन्छन् र यिनको बाहन मयुर हो । यिनलाई कमल र अग्नि तत्वको प्रतीक मानिन्छ । ध्यानासनमा बसाइएको अवस्थामा बायाँ हात उत्तानो पारी तल र दायाँ माथि उत्तानो पारी काखमा राहेको हुन्छ ।
अमोघसिद्धि बुद्ध : पञ्चबुद्धयुक्त स्तूपको उत्तर दिशामा अमोघसिद्धि बुद्धलाई विराजमान गराइएको हुन्छ । यिनी उत्तर दिशाका स्वामी हुन् । पञ्चबुद्धमध्ये यिनलाई चिन्ने सजिलो आधार सात वटा नागका फणाले मूर्तिलाई संरक्षण दिइएको हुनु हो । हरियो वर्णका यी बुद्ध वायु तत्वका प्रतीक हुन् । ध्यानासनमा राखिएको अवस्थामा दायाँ हात छातीसम्म पु¥याई अभय मुद्रामा राखिएको हुन्छ बायाँ हात काखमा उत्तानो पारी राखेको हुन्छ । यिनको बाहन गरुढ हो ।
पञ्चबुद्धको पहिचान गर्ने बेला सबै उस्तै हुने हुनाले व्यावहारिक रुपमा कठिनाइ पनि हुने गर्दछ । विशेषतः सबैको मुखमुद्रा एउटै हुने हुँदा कतिपय अलमलिने गर्दछन् । वर्णको आधारमा पनि बुद्धहरुको पहिचान गर्न सकिन्छ । सुन, चाँदीलगायतका धातु वा ढुंगानिर्मित मूर्तिमा रंगको प्रयोग नगरेको अवस्थामा पनि कतिपयलाई पहिचान गर्न गा¥हो हुने गरेको पाइन्छ । तर पञ्चबुद्धको पहिचान मुद्रा, वर्ण, दिशा, वाहन आदिकै आधारमा गर्ने हो भनेर बुझ्नु पर्दछ । कहिँकहिँ पञ्चबुद्धलाई दर्साउन बुद्धकै आकृति नभएर यिनै वर्ण, बाहन आदिलाई मात्र प्रयोग गर्ने गरेको पनि पाइन्छ ।
बज्रयानी बौद्ध धर्ममा आउने पञ्चबुद्धहरु जसरी मानुषी बुद्ध होइनन्, त्यसरी नै अन्य पात्रहरुलाई पनि मानुषी नभएर ज्ञानको प्रतीकको रुपमा बुझ्नु पर्दछ । विभिन्न पात्रहरुलाई पाँच कुलमा विभक्त गरिएको हुन्छ र त्यसलाई कुल भन्ने परम्परा छ । प्रत्येक कुल अलग अलग बुद्धसँग सम्बन्धित हुन्छन् । कुल छुट्याउने काइदा तिनको मुकुटमा रहेको बुद्धको सानो प्रतिमा हो । उदाहरणका लागि बैरोचन बुद्धको शक्ति बैरोचनी र बोधिसत्व समन्तभद्र हुन् भने यी दुबैको मुकुटमा बैरोचन बुद्धको मूर्ति रहेको हुन्छ । एवं रितले अक्षोभ्यको शक्ति लोचना र बोधिसत्व बज्रपाणी, रत्नसंभवको शक्ति मामकी र बोधिसत्व रत्नपाणी, अमिताभको शक्ति पाण्डुरा र बोधिसत्व पद्मपाणी र अमोघसिद्धिको शक्ति तारा र बोधिसत्व विश्वमणिको मुकुटमा आआफ्नै कुलका बुद्धहरुको मूर्ति रहेका हुन्छन् र यही अनुसार अन्य पात्रहरुको पनि कुल छुट्याउने हो ।
बौद्ध धर्मको विकास र विस्तारलाई ऐतिहासिक तबरबाट अध्ययन गर्दा गौतम बुद्धद्वारा देशित उपदेश वा धर्मदर्शनको अध्ययन, चिन्तन मनन तथा साधनाका आधारमा विभिन्न सम्प्रदायहरुको विकास भएको र पछि बज्रयान सम्प्रदायअन्तर्गत पञ्चबुद्धहरुको कल्पना गरिएको बुझ्न सकिन्छ । तर बोधिचर्या गर्ने क्रममा विभिन्न पारमीहरु पूरा गर्दै सम्यकसम्बोधि लाभ गर्ने मानुषी बुद्धहरु हुन् वा ध्यानीबुद्ध, सबैको गुण वा स्तर समान रुपको हुने कुरामा हेक्का राख्नु पर्दछ । बुद्ध भन्नु बास्तवमा सबै क्लेश हटाइसकेका सत्व स्वयं विद्याका प्रतीक हुन् । बौद्धहरु यही प्रतीकलाई आलम्बन गरेर आफ्नो लक्ष साधना गर्ने हुन् । यही भएर पञ्चबुद्धलाई पनि उही मात्रामा श्रद्धा राख्ने र पूजा गर्ने गरिन्छ ।



