गौतम बुद्धको जन्मभूमि लुम्बिनीस्थित धर्मोदय सभा स्वयम्भू महाचैत्य विहारमा निर्माण भइरहेको थेरवाद बौद्ध संग्रहालयको उद्घाटन यही माघ १२ गते हुने भएको छ । आइतबार काठमाडौंको संघाराम विहारमा पत्रकार सम्मेलन गरि उक्त संग्रहालय सम्बन्धी जानकारी दिइएको थियो ।
संग्रहालयको उद्घाटन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । बौद्ध महिला संघ नेपालको सक्रियतामा थेरबाद बुद्धिस्ट एकेडेमी, अखिल नेपाल भिक्षु महासंघ तथा अन्तराष्ट्रिय भिक्षुणी संघसँगको सहकार्यमा निर्माणको पहिलो चरण सम्पन्न भइसकेको छ । यस संग्रहालयले जानकारी तथा मनोरञ्जनका सामग्रीहरुको माध्यमबाट थेरबाद बुद्ध धर्मको अनौपचारिक शिक्षण संस्थाको कार्य गर्ने तथा पर्यटन विकासमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ ।
नेपालमा थेरवाद परम्परा लोप भएको ६ सय वर्षपछि ८० वर्ष अगाडिदेखि थेरवाद बुद्ध धर्मको पुनर्जागरण भएको थियो । संग्राहलय स्थापना भएपछि बुद्ध जीवनी र थेरवाद बुद्ध धर्मको इतिहास अध्ययन अनुसन्धान गर्न समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।
संग्रहालयमा ६ वटा ग्यालरी हुनेछन् । फरक–फरक ग्यालरीहरुमा बुद्ध जीवनी, नेपालमा थेरवाद बुद्ध धर्मको इतिहास, थेरवाद भिक्षु परम्परा, थेरबाद बौद्ध मूर्ति र साहित्य, आठ प्रमुख बौद्ध तीर्थस्थल, बौद्ध कला तथा वास्तुकला, थेरवाद बौद्ध प्रतिमा लक्षण, थेरवाद बुद्धधर्मको बिस्तार, थेरवाद भन्ते तथा गुरुमाहरुको व्यक्तिगत सरसामानहरु, बौद्ध पुरातात्विक थलहरु, थेरवाद बौद्ध संस्थाहरु तथा सामाजिक सम्बन्ध आदि सामाग्रीहरु प्रदर्शनमा राखिने छन् ।
वरिष्ठ संग्रहालयविद् जलकृष्ण श्रेष्ठले यस संग्रहालयको प्राविधिक कार्य हेर्नेछन् ।

