विश्वशान्ति र प्राणी जगतको कल्याणको कामनासहित लुम्बिनीमा मोन्लम पूजा

१७ कार्तिक,काठमाडौं: बुद्ध जन्मस्थल लुम्बिनीमा मानव कल्याण, विश्वशान्ति र समस्त प्राणीको दीर्घायुको कामना गर्दै तीनदिने विश्वशान्ति मोन्लम पूजा सम्पन्न भएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरमा नेपाल बौद्ध लोटस श्रामणेरिका संघको आयोजनामा सोमबार पूजा सम्पन्न गरिएको हो ।

महायानी बौद्ध परम्पराअनुसार दैनिक नौ घण्टासम्म सञ्चालन भएको पूजामा १०५ जना श्रामणेरिका सहभागी भएका थिए । बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरी खेम्पो उपाधि प्राप्त गरेका नौ जना श्रामणेरिकाले पूजाको अगुवाइ गरेका थिए ।

पूजाको मुख्य उद्देश्य सम्पूर्ण मानव समुदायको रक्षा, हित, सुस्वास्थ्य तथा प्रकृति र समस्त प्राणी जगतको कल्याण रहेको संघकी अध्यक्ष खेम्पो निमाछिरी शेर्पाले बताइन् । उनका अनुसार लुम्बिनीमा आयोजना गरिएको यो आठौं विश्वशान्ति मोन्लम पूजा हो । पूजा सुरु भएयता कोभिड महामारी र जेन–जी आन्दोलनका समयमा मात्र कार्यक्रम रोकिएको थियो ।

बौद्ध धर्ममा श्रामणेरिका भन्नाले गृहस्थ जीवन त्यागेर पूर्ण दीक्षा लिनुअघि प्रारम्भिक रूपमा बुद्ध धर्मका १० शील पालना गर्दै धार्मिक जीवनमा प्रवेश गरेका महिला साधकलाई बुझिन्छ । लुम्बिनीमा आयोजित यस पूजाले बुद्धको करुणा, मैत्री र विश्वशान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ ।

Share

Related posts

Leave a Comment