भ्रमण वर्ष : लुम्बिनीमा पर्यटकलाई स्वागत

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका दिन आज बुद्ध जन्मस्थल लुम्बिनीमा आएका पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोष तथा पर्यटन व्यवसायीले चाइना, भूटान तथा नेपालकै विभिन्न जिल्लाबाट आएका पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो । पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले पर्यटनका माध्यमबाट देशमा समृद्धि हासिल गर्न भ्रमण वर्ष शुभारम्भ गरिएका कारण यसलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो । “भ्रमण वर्ष शुभारम्भका दिन लुम्बिनी आउने पर्यटकलाई मायादेवी मन्दिरमा निःशुल्क प्रवेश दिइएको छ, पर्यटन प्रवद्र्धनका लागि वर्षभरि विभिन्न कार्यक्रम बनाएका छौँ”, उहाँले भन्नुभयो ।

पर्यटकलाई स्वागत गर्दै पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले छुटको घोषणा गरे । लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माले नेपाल भ्रमण वर्षमा लुम्बिनी आउने पर्यटकलाई आवासमा १५ प्रतिशत छुट दिने घोषणा गर्नुभयो । लुम्बिनी महामाया रिक्सा चालक सङ्घका अध्यक्ष नागेन्द्र गिरीले रिक्सामा लुम्बिनी घुम्न चाहने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गर्नुभयो । लुम्बिनी स्थानीय पथपदर्शक अध्यक्ष रञ्जीतकुमार हलुवाइले पर्यटक गाइडमा २५ प्रतिशत छुट दिने बताउनुभयो ।

भ्रमण वर्षका लागि महोत्तरीको मनरा नगरपलिकाबाट लुम्बिनी आउनुभएको नगर प्रमुख सञ्जय सिंहले भ्रमण वर्ष शुभारम्भकै दिन लुम्बिनी घुम्न पाउँदा खुशी लागेको बताउनुभयो । भ्रमण वर्षका क्रममा आज वर्माका पर्यटनमन्त्री अन मोङले लुम्बिनी भ्रमण गर्ने कार्यक्रम छ । उहाँ बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिधै लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका सूचना निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिनुभयो ।

Share

Related posts

Leave a Comment