मिठो बासना र स्वादिलो चामलका रूपमा लिइने बुद्धकालिन कालानमक धान लोप हुने अवस्थामा पुगेको छ । तराईका केही जिल्लामा मात्र पाइने यो धान धेरै औषधी, मलखाद र स्याहारको आवश्यकता पर्ने हुँदा किसानले लगाउनै छोडेका हुन् । कम खर्चमा बढी उत्पादन हुने उन्नतजातका प्रजातिमा कृषकको आकर्षण बढ्दा ऐतिहासिक महत्व बोकेको यो धानको अस्तित्व हराउदै गएको छ ।
नेपालको तराई भागमा मात्र उत्पादन हुने कालानमक धान मधेशबाट नै हराउन थालेका छन् । तराइका जिल्ला मध्ये कपिलवस्तुको पहिचानको रुपमा परिचत धान हराउदै जाँदा जिल्लाको धान उत्पादनमा समेत कमी आएको छ । खाँदा नरम, स्वादिलो र मगमग बास्नाका कारण बजार माग बढदो भएपनि उत्पादन भने न्यून छ ।
तराईका कपिलवस्तु र रुपन्देहीका दक्षिणी भेगमा करिब ६ सय हेक्टरमा लगाइने यो धान बजारको लागि पर्याप्त हुदैन । कम खर्चमा बढी उत्पादन हुने उन्नत जातका प्रजातिमा कृषकको आकर्षण बढ्दा ऐतिहासिक महत्व बोकेको यो धानको अस्तित्व हराउदै गएको हो ।
बुद्धकालिन महत्व बोकेकाले यो धानलाई संरक्षण गर्नुपर्ने भिक्षु भिक्षुणीहरु बताउछन् । लुम्बिनी कपिलवस्तु आउने पर्यटकलाई एक छाक भएपनि चामलको खाना खुवाएर पठाउन सके यसको महत्व देश विदेश पुग्ने उनीहरुको भनाइ छ । तर, धान लगाउन प्रोत्साहन गर्ने निकायको अभावमा वर्सेनि यसको खेती घट्दै गएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको भनाइ छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले समेत कालानमक धान बुद्धकालिन मानिने हुँदा तीन वर्ष अघि शुद्धोदन कालानामक उन्नत जातको धानको विउ विकास गरेको छ । तर बिउबारे जानकारी नहुदा कृषकहरु अनभिज्ञ छन् ।