लुम्बिनी क्षेत्रमा सबैभन्दा पुरानो विहारको परिचय बोकेको राजकीय बुद्ध विहारको परिसरमा रहेको महत्त्वपूर्ण भवन सीमा गृहको जिर्णोद्धार कार्य सम्पन्न भएकाे छ । आज श्रावण महिना पूर्णिमाको दिनमा भिक्षु संघले प्रातिमोक्ष उपोसथ संघ कर्म गरी उद्घाटन सम्पन्न भएकाे छ । राजकीय बुद्ध विहार स्थापना भएर तत्कालीन विहार प्रमुख एवं चतुर्थ संघनायक श्रद्धेय भिक्षु अनिरुद्ध महास्थविर भन्तेज्यूको अगुवाइमा उक्त सीमागृह निर्माण भएको थियो ।भिक्षु तिस्सका अनुसार पछिल्ला बर्षहरुमा त्यो सीमा गृह उपयोग नभएर जिर्ण अवस्थासम्म पुग्यो । अहिले यस राजकीय बुद्ध विहार लुम्बिनी मा श्रद्धेय सागरधम्म स्थविर भन्ते विहारको नेतृत्व गर्नु भएदेखि विहारको वर्तमान अवस्था हेर्न लायक र नियमित धार्मिक गतिविधि सन्चालन गरि स्थानीय जनताहरुलाई बुद्ध र वहाँको शान्तिको धर्म प्रचारप्रसार भैरहेकाेछ ।
उहाँले भन्नुभयाे ‘ जिर्ण अवस्थाको सीमागृह भवनलाई राम्ररी मरमत गर्नु भएको देख्दा विहारमा आउने र जो कोही पर्यटकहरुले पनि प्रशंसा गरेको पाइन्छ । यस्ता महत्त्वपूर्ण कार्यहरुमा दाताहरूले गर्नुभएको दानलाई सदुपयोग गर्नु भएबाट सम्भव भएको हो ।’ लुम्बिनी राष्ट्रको गौरव सम्पदा र यसको संरक्षण अनि लुम्बिनी दर्शनको लागि आउने विभिन्न पर्यटकहरुलाई उनीहरुले बुझ्ने भाषामा लुम्बिनीको परिचय, भगवान बुद्धको उपदेश सुनाउन यो राजकीय बुद्ध विहारको भूमिका महत्त्वपूर्ण देखिन्छ र वर्तमानमा श्रद्धेय सागर धम्म स्थविर भन्तेजीबाट सुहाउँदो भूमिका निभाउनु भएको महशुस गर्नसक्छौं । विहारको विकासको निमित्त दान गर्ने सबै दानीदाताहरु लगायत वहाँ भन्तेजीलाई धेरै साधुवाद छ । आउँदा दिनहरूमा विहारको भूमिका सक्रिय र निरन्तर बढ्दै जाने कुरामा अपेक्षा गरेकोछु ।’

