महायान बौद्ध धर्म बौद्ध धर्मको एक प्रमुख शाखा हो । यसको अभ्यास ईसापूर्व पहिलो शताब्दीदेखि ईस्वी पहिलो शताब्दीको बीचमा भएको मानिन्छ । महाया“ शब्दको अर्थ महान् वाहन वा ठूलो मार्ग हो । यसले सबै प्राणीहरूको कल्याण र मुक्तिलाई आफ्नो मुख्य उद्देश्य मान्छ । महायान परम्पराअनुसार केवल आफ्नै निर्वाण प्राप्त गर्नु पर्याप्त हुँदैन । बरु सबै जीवलाई दुःखबाट मुक्त गराउने प्रयास गर्नु नै सर्वोच्च आदर्श हो ।
महायान बौद्ध धर्मको मुख्य आधार बोधिसत्त्व आदर्श हो । बोधिसत्त्व भनेको यस्तो व्यक्ति हो जसले बुद्धत्व प्राप्त गर्ने क्षमता हुँदाहुँदै पनि सबै प्राणीहरूको उद्धारका लागि आफ्नो अन्तिम निर्वाणलाई स्थगित गरेको हुन्छ । यस परम्परामा करुणा, मैत्री, दया, क्षमा, सहिष्णुता र परोपकारलाई विशेष महत्त्व दिइन्छ । बोधिसत्त्वले सबै जीवप्रति समान व्यवहार गर्दै उनीहरूको हितका लागि निरन्तर प्रयास गर्छन् ।
महायान परम्पराले प्रज्ञा (ज्ञान) र करुणालाई जीवनका दुई महत्वपूर्ण आधार मानेको छ । यसका अनुसार वास्तविक ज्ञानले मानिसलाई अज्ञान र मोहबाट मुक्त गराउँछ भने करुणाले सबै प्राणीप्रति प्रेम र सहानुभूति बढाउँछ । यी दुवै गुणको विकासबाट मात्र बुद्धत्व प्राप्त गर्न सकिन्छ ।
महायान बौद्ध धर्ममा धेरै बुद्ध र बोधिसत्त्वहरूको पूजा तथा सम्मान गरिन्छ । विशेष रूपमा अवलोकितेश्वर, मञ्जुश्री, मैत्रेय र अमिताभ बुद्ध अत्यन्त श्रद्धाका साथ पूजिन्छन् । यस परम्पराका प्रमुख ग्रन्थहरूमा प्रज्ञापारमिता सूत्र, सद्धर्मपुण्डरीक (लोटस) सूत्र, लंकावतार सूत्र तथा अवतंसक सूत्र पर्दछन् । यी ग्रन्थहरूले शून्यता, करुणा र बोधिसत्त्व मार्गको विस्तृत व्याख्या गरेका छन् ।
महायान बौद्ध धर्म चीन, जापान, कोरिया, भियतनाम, मङ्गोलिया र चीन लगायतका देशहरूमा व्यापक रूपमा फैलिएको छ । नेपालमा पनि विशेष गरी नेवार बौद्ध समुदाय तथा हिमाली क्षेत्रमा यसको प्रभाव देखिन्छ । महायान परम्पराबाट जेन, शुद्धभूमि र वज्रयान जस्ता विभिन्न परम्पराहरूको विकास भएको छ ।
महायान बौद्ध धर्मले मानवता, करुणा, नैतिकता र सहअस्तित्वको सन्देश दिन्छ । यसले व्यक्तिगत मुक्तिभन्दा सामूहिक कल्याणलाई प्राथमिकता दिँदै सबै प्राणीप्रति दया, प्रेम र सहयोगको भावना विकास गर्न प्रेरित गर्दछ । त्यसैले महायान बौद्ध धर्म केवल धार्मिक परम्परा मात्र नभई शान्ति, सद्भाव र विश्वबन्धुत्वको मार्ग पनि हो ।


