१२ कार्तिक,काठमाडौं: मनलाई शान्त राख्ने प्राचीन पूर्वीय ध्यान पद्धति र आधुनिक पश्चिमा मनोविज्ञान दुबैले एउटै परिणाम दिने एक अनुसन्धानले देखाएको छ । हालै चिकित्सा विज्ञानको प्रतिष्ठित जर्नल ‘जामा साइकियाट्री’ मा प्रकाशित एउटा महत्त्वपूर्ण अनुसन्धानले यसको बलियो वैज्ञानिक प्रमाण फेला पारेको छ । उक्त अनुसन्धानका अनुसार ध्यान र संज्ञानात्मक व्यवहार चिकित्सा (सीबीटी) दुवैले सामाजिक चिन्ता भएका मानिसहरूको मस्तिष्कको बनोट र कार्यप्रणालीमा सकारात्मक परिवर्तन ल्याउँछन् ।
त्यसो त, लामो समयदेखि मनोवैज्ञानिकहरू र दार्शनिकहरूबीच मनलाई कसरी स्वस्थ राख्ने भन्नेबारे बहस हुँदै आएको छ । पश्चिमा मनोविज्ञानले मानिसको सोच्ने तरिका वा विचारलाई सुधार्न जोड दिन्छ । अर्कोतर्फ, बौद्ध दर्शन र पूर्वीय चिन्तनले विचारलाई जबरजस्ती बदल्नुको सट्टा त्यसलाई पूर्वाग्रहविना, सहज रूपमा स्वीकार गर्न सिकाउँछ । यो नयाँ अनुसन्धानले के देखाएको छ भने, यी दुई फरक पाटाहरू भए पनि यिनले मस्तिष्कको एउटै महत्त्वपूर्ण हिस्सा ‘ध्यान–नियमन संयन्त्र’ लाई बलियो बनाउने काम गर्छन् ।
खोजका दौरान वैज्ञानिकहरूले अत्याधुनिक प्रविधि (एफएमआरआई) को प्रयोग गरेर थेरापी र ध्यान गरिरहेका मानिसहरूको मस्तिष्कको गहिरो अध्ययन गरेका थिए । त्यस क्रममा नियमित ध्यान र मानसिक अभ्यासले मस्तिष्कको सोच्ने र भावनाहरूलाई नियन्त्रण गर्ने भागलाई सक्रिय बनायो । वैज्ञानिकहरुका अनुसार थोरै तनावले पनि चिन्ता अर्थात एन्जाइटीबाट ग
ग्रसित भएका मानिसहरूको मस्तिष्कमा डर पैदा गर्ने केन्द्र (एमाइग्डला) निकै छिटो र बढी सक्रिय भयो । यसले गर्दा उनीहरु आत्तिएको महसुस गर्न थाले । तर, ध्यानको अभ्यास सिकेका बिरामीहरूले आफ्नो ध्यानलाई अन्यत्र मोड्न र भावनाहरूलाई थाम्न सके । नकारात्मक विचार आउँदा आत्तिनुको सट्टा उनीहरूको मस्तिष्कले ती विचारलाई सहज रूपमा हेर्न र शान्त सक्यो ।
सकारात्मक मनोविज्ञानका लागि यो अनुसन्धान निकै महत्वपूर्ण मानिएको छ । बौद्ध दर्शनको प्रसिद्ध ग्रन्थ ‘धम्मपद’ मा भनिएको छ—हाम्रो सुख र दुःखको मुख्य कारण हाम्रो आफ्नै मन हो । ध्यानको उद्देश्य मनमा आउने नराम्रा विचारलाई जबरजस्ती दबाउनु होइन, ती विचार वा दुखाइलाई विना कुनै मूल्यांकन सहज रूपमा स्वीकार गर्नु हो ।
आधुनिक सकारात्मक मनोविज्ञानले पनि मानिसको यही क्षमता अर्थात् ‘संज्ञानात्मक स्वीकृति’ लाई जोड दिन्छ । यो अनुसन्धानले यही कुरालाई प्रमाणित गरेको छ । जब हामी आफ्ना डर र चिन्तासँग लड्नुको सट्टा तिनलाई सहज रूपमा स्वीकार गर्छौँ, तब मस्तिष्कले त्यस दुःखलाई सामान्य रूपमा लिन थाल्छ । सजग भई आफ्नो ध्यानलाई नियन्त्रण गर्दा मस्तिष्कका न्युरोनहरूबीचको सम्बन्ध बलियो बन्छ र मनमा दीर्घकालीन शान्ति छाउँछ ।
यो अनुसन्धानले हाम्रो मस्तिष्कमा आफैँलाई बदल्ने अद्भुत क्षमता (न्यूरोप्लास्टिसिटी) हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ । यसको अर्थ के हो भने मानसिक दृढता वा शान्ति जन्मजात प्राप्त हुने कुरा मात्र होइन, बरु यसलाई नियमित अभ्यासद्वारा विकास गर्न सकिन्छ ।
आधुनिक थेरापीको माध्यमबाट आफ्नो व्यवहार बदले पनि वा ध्यानमा बसेर आफ्नै श्वास–प्रश्वासलाई नियाले पनि, मस्तिष्कले तय गर्ने जैविक यात्रा एउटै हो । विचार र भावनालाई नलडीकन सहज रूपमा स्वीकार गर्न सिक्नु नै एउटा सुखी र सन्तुलित जीवनको वास्तविक चाबी हो भन्नेमा अनुसन्धाताहरुको मतैक्यता छ ।


