काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित मुस्ताङ किदुग यूएसए इन्क. (Mustang Kyidug USA Inc.) ले नेपालमा हालैको बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड २७ लाख ३८ हजार ५ सय ७६ रुपैयाँ सहयोग प्रदान गरेको छ।
संस्थाले बिहीबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई ८५ हजार ९ सय ३१ अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको मुस्ताङ किदुगले जनाएको छ।
नेपालमा विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले अमेरिकामा रहेका नेपाली तथा सहयोगीहरूबाट संकलित रकम नेपाल पठाइएको संस्थाले जनाएको छ।
यस सहयोग अभियानमा समन्वयकारी भूमिका निर्वाह गरेका छेवाङ शेर्पाप्रति मुस्ताङ किदुग यूएसएले विशेष धन्यवाद व्यक्त गरेको छ। संस्थाका अनुसार शेर्पाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग आवश्यक सम्पर्क र समन्वय स्थापित गराउन महत्वपूर्ण सहयोग गर्नुभएको थियो।
सन् २००३ मा न्यूयोर्कमा स्थापना भएको मुस्ताङ किदुग यूएसए इन्क. अमेरिकामा रहेका मुस्ताङवासीको सामुदायिक संस्था हो। संस्थाले मुस्ताङको संस्कृति, भाषा र परम्पराको संरक्षणसँगै नेपालमा आवश्यक परेका बेला विभिन्न सामाजिक तथा राहतका कार्यमा समेत सहयोग गर्दै आएको छ।


