विपश्यना ध्यान र यसको महत्व

ब्रह्माण्डमा भएका जे जति पनि अस्तित्वमा रहेका वस्तु वा प्राणी जुन जस्तो छ त्यसलाई साक्षी भाव, तटस्थ भावले हेर्ने विधि नै विश्यना हो । विपश्यना शव्दको शाव्दिक अर्थ खोज्दा वि भनेको विशेष तवरले र पश्यना भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना ।

विपश्यना शिविरमा बस्दा विपश्यना ध्यान गर्न चाहने साधकले सर्वप्रथम झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्ने जस्ता पञ्चशील पालन गरेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा ध्यान केद्रित गर्ने अभ्यास गर्नुपर्छ, जसलाई आनापाना सति भनिन्छ ।

बाँकी साढे छ दिन विपश्यना अभ्यासका रुपमा अन्तर्मनको गहिराइमा गढेर बसेको विकारलाई निर्मूल बनाउने गरिन्छ । यसक्रममा साधकले आफूभित्र प्रज्ञा जगाएर सबै कायिक तथा चेतसिक स्कन्धको छेदन गर्न सक्छन् । दश दिनको शिविरमा नौ दिनसम्म पूर्णरुपमा मौन व्रत बसेर दशौँ दिन मात्र बोल्न पाउँछन् ।

साधनामा अघि बढेका साधकले विशिष्ट शिविरका साथै २०, ३०, ४५ र ६० दिने शिविरमा बस्न पाउँछन् ।

नेपाललगायत विश्वमा कुनै पनि देशमा सञ्चालित यस्ता शिविरमा कुनै पनि शुल्क लिइँदैन । केवल साधकले स्वेच्छाले दिएका दानबाट मात्रै शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

विपश्यना सबै प्रकारका दुःखबाट मुक्ति दिलाउने बाटो हो । ध्यानको अभ्यास बढ्दै जाँदा चित्त निर्मल र विकाररहित बन्छ र राग, द्वेष र मोह घट्छ । यो ध्यानले कुनै पनि धर्मको वकालत नगर्ने भएकाले हरेक धर्म, वर्ग र सम्प्रदायका व्यक्तिले यसको अभ्यास गर्न सक्छन् ।

Share

Related posts