भिक्षुका लागि रेलमा सिट आरक्षण गरिएको देश श्रीलंका

यात्रा संस्मरण / नारायण खड्का
श्रीलंकाको एक चर्चित बौद्ध गुम्बा क्याण्डी सहरमा छ । त्यहाँसम्म जान हामीले बिहान ९ बजेतिर राजधानी कोलोम्बोबाट रेलको यात्रा सुरू गरेका थियौं। साथमा नेपाली श्यानी चौधरी, श्रीलंकाका निर्मल र उनका छोरा अनुदा थिए।

नेपाल र श्रीलंकाको परिवेश र वातावरण उस्तै(उस्तै लाग्ने खाले रहेछ। आइल्याण्ड भए पनि पहाड र जंगल थुप्रै। रेल मैले यसअघि भारतमा देखेको थिएँ। तर चढेको थिइनँ।

पहिलो पटक रेल यात्रा मैले श्रीलंकामा गर्ने अवसर पाएँ। मन रमायो। द्रुत गतिमा रेल हुइँकदा आसपासका विरुवा उल्टो गतिमा दौडिरहेका जस्तै लाग्थे।

पहाडको नागबेली बाटोमा रेल उक्लिरहेको दृश्य भने नौलो थियो। पछाडिको डिब्बाबाट नियाल्दा आधाभाग नागबेली बाटोमा कुनै ठूलै आहरा पेटमा निलेको अजिंगर विस्तारै घिस्रिएझैं लाग्थ्यो।

पहाडमा प्रतिमिनेट १० देखि २० को गति लेखिएको साइनबोर्ड टाँगिएका थिए। जब सुरुङभित्र रेल प्रवेश गर्थ्यो, भित्र अन्धकार छाउँथ्यो। त्यतिबेला मानिस ठूलो स्वरमा हुटिङ गर्थे। हामीकहाँ सिनेमा हलमा बत्ती जाँदा हुने हुटिङ जस्तै। सायद उनीहरूलाई अँध्यारोसँग डर लाग्छ कि! हुन त अँध्यारोसँग डर नलाग्ने कमै हुन्छन्।

पहाडै पहाड भएको नेपालमा रेल चलाउन संभव छैन भन्ने कुरा असत्य रहेछ। त्यही यात्राको क्रममा मैले त्यो सोचेको थिएँ। आफैंले देख्दा र भोग्दा धेरै कुरा विश्वास हुन्छ।

त्यो बिहान हामी बाटापोला भन्ने ठाउँबाट बस चढेका थियौं। श्रीलंकामा सरकारी बस रातो र निजी बस प्रायस् सेतो रंग देखिए।

नेपालमा कुनै दिन साझा बस थिए। राजनीतिक भर्ती केन्द्रले गर्दा ती स्वाहा भइसके। केही वर्षदेखि फेरि साझा ब्युँताउने गरी केही रूटमा बस चलेका पनि छन्।

त्यो बिहान मेरो जीवनमा पहिलो रेलको यात्रा थियो। जो मेरो मानस पटलमा रहिरहने छ। निकै सकस र दिगदारीपूर्ण यात्रा थियो।

भीड छिचोलेर डिब्बामा चढ्न सक्ने अवस्था थिएन। मलाई निर्मलले बाहिरबाट ठेलेर भित्र हुलिदिएको थियो। टिकट इकोनोमिक क्लासका पनि सी क्लासको डिब्बामा मुश्किलले चढियो।

रेलमा एकैपटक हजारौंले यात्रा गर्दा रहेछन्। सिन्की खाँदे झैं मानिस ठेलमठेल थिए।

ठेलमठेल रेलमा महिला यात्रुलाई झन् सकस थियो। साँझपख रत्नपार्कबाट छुट्ने बस, माइक्रोमा जस्तै ठेलमठेल भीड।

रेलमा पनि पसिनाले निथ्रुक्क भिजियो। त्यो भिडभाडमा झोला जोगाउन हम्मे हम्मे।

कोलोम्बोमा रेलबाट ओर्लेपछि अब कहिल्यै रेल चढ्दिनँ जस्तो भयो। त्यो सुनेर निर्मल हाँस्यो। बिदापछि कार्यालय खुलेको दिन भएर भीड भएको उसले सुनायो।

क्यान्डी सहर जाँदा उकालो र पहाडाको यात्रा गर्नुपर्ने रहेछ। ठाउँठाउँमा सवस्टेसन आउने। रेलमै श्यानी चौधरीले फलफूल किनेर हामीलाई दिइन्।

म झ्याल भएको सिटमा बसेँ। मेरो छेउमा निर्मलको १२ वर्षे छोरा अनुदा। उनले पनि मलाई घरिघरि खानेकुरा दिइरह्यो। मलाई भने बाहिरी संसार चिहाउँनै ठीक्क!

पुस महिना। नरिवलका अग्ला रूख। हरिया धानखेतका फाँट। श्रीलंकामा वर्षमा दुईपटक धान बाली फल्ने रहेछ।

श्रीलंकमा जंगलदेखि घर आँगनमा नरिवलका रुख हुने रहेछ। वातावरण स्वच्छ र सफा थियो। सडकमा फोहोर देखिएन।

कोलोम्बोबाट क्यान्डी पुग्न हामीलाई रेलको यात्रा झन्डै चार घण्टा लाग्यो। श्यानी चौधरी नयाँ मानिससँग गफिन रूची राख्ने। छिट्टै घुलमिल भइदिने। रेलकै यात्रामा पनि उसले बूढाबुढीसँग राम्रो दोस्ती बनाएको रहेछ।

मैले रेलबाट ओर्लंदा पो याद गरें( उसले ती बूढाबुढीलाई निम्ता दिइरहेको। तीमध्ये एक सेल्स म्यानमा जागिरे जेष्ठ नागरिकले हामीलाई क्यान्डी सहरमा बस स्टेसन पुग्न सहयोग गरेका थिए।

त्यो बेला अपरान्ह ३ बजेको हुँदो हो। हामी गुम्बा दर्शन गर्न गयौं। झोला पो कहाँ राख्ने? नजिकै पसल रहेछ, पैसा तिरेपछि झोला सुरक्षित राखिदिने रहेछन्।

गुम्बाछेउ फूल विक्री गर्न राखिने रहेछ। कमलको फूलको विशेष महत्व यहाँ रहेछ। पुस महिना भए पनि तापक्रम धेरै नघटेको हुँदा यहा विदेशीहरू खुबै आउने रहेछन्।

अनुदाले जिन्स लगाएको थियो। धेरै ग्रन्च गरेको पाइन्ट लगाएकोले हुनुपर्छ कडा सुरक्षाजाँचको नाममा सुरक्षाकर्मीले उसलाई भित्र जान दिएनन्। उसको बाबु निर्मलले सुरक्षा जाँच कडा भएकोमा हामीसँग खिन्नता व्यक्त गरे।

गुम्बा छिर्न टिकट शुल्क एक हजार रहेछ। यहाँ बुद्धका दुइटा दाँत राखिएको छ भनेर धेरै मानिसहरू हेर्न आउने रहेछन्।

बुद्ध नै नेपालमा जन्मेका हुन्। उनको दाँत हेर्न हामीले के को मरिहत्ते गर्ने? मैले श्यानीलाई भनेँ। म बुद्धका दाँत हेर्न गइनँ, उनीहरू मात्रै गए।

श्रीलंकामा धेरै मानिस बुद्ध धर्मालम्बी रहेछन्। जताततै बुद्धका बडेमानका मूर्ति छ। भिक्षुलाई बस, ट्रेनमा यात्रा गर्दासमेत आरक्षण सिटको व्यवस्था छ।

एउटा बसमा तीन जना भिक्षुसम्म चढ्दा पैसा नै तिर्न नपर्ने। ट्रेनको हरेक डिब्बामा पनि भिक्षुको लागि आरक्षण सिट।

यहाँ भिक्षुले कुनै पनि कुराको सिकायत गरे त्यसले ठूलो मान्यता पाउने रहेछ।

जस्तै कुनैपनि मन्त्री वा स्थानीय सरकारका प्रमुखले गलत काम गरेको र भ्रष्टाचार गरेको भन्ने खाले रिपोर्ट भिक्षुले गरे उनीहरूको करियर नै समाप्त हुने रहेछ।

मैले पनि नेपालको खुबै कुरा गरेँ। बुद्ध नेपालको लुम्विनीमा जन्मेका हुन्। घुम्न निम्ता छ है भन्दा निर्मल र उसको छोरा उत्साहित भए। आशा छ, उनीहरू समय मिलाएर नेपाल घुम्न आउनेछन्। सेतोपाटीमा प्रकाशित

Share

Related posts