गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारको रूपमा रहेको रुपन्देहीको सिद्धार्थनगर क्षेत्रको सडकमा बुद्धमूर्ति राख्ने काम भईरहेको छ। सडक तथा हवाईमार्गबाट समेत लुम्बिनी आउने पर्यटकलाई सिद्धार्थनगर क्षेत्रमा प्रवेश गर्दा नै बुद्धजन्मस्थलको अनुभूति दिलाउनेगरि मुख्य सडकको डिभाईडरमा बुद्धमूर्ति राखिएको नगरपालिकाले जनाएको छ ।
यसअघि तिलोत्तमा नगरपालिकाले आफ्नो सिमाक्षेत्रमा पर्ने बेलहीया-बुटवल ६ लेन सडकको मुख्य डिभाईडरमा बुद्धमूर्ति राखिसकेको छ। सिद्धार्थनगर नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने बेलहिया-बुटवल ६ लेन सडक डिभाईडरमा यसअघि नै बुद्धमूर्ति राखेकोमा अहिले डिभिजन पर्यटन कार्यालय भैरहवाले लुम्बिनी सडकको डिभाईडरमा मूर्ति राख्न शुरु गरेको हो।
लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत डिभिजन पर्यटक कार्यालयले उपलब्ध गराएको ७५ लाख रूपैयाँबाट अहिले मूर्ति राख्ने काम भइरहेको छ। कार्यालयले बुद्धमूर्ति राख्नकै लागि उपभोक्ता समिति गठन गरि सोही समितिमार्फत काम अगाडि बढाएको जनाएको छ।
अहिले पहिलो चरणमा बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्न शुरू गरिएको हो। मेटलबाट निर्मित बुद्धमूर्तिलाई पहेँलो धातुले लेपन गरि आकर्षक बनाईएको छ। यसअघि अन्यन्त्र राखिएका ढलोटबाट निर्मित मूर्तिहरु उच्छृङखल समूहले तोडफोड गर्न थालेपछि मेटलबाट निर्मित बुद्धमूर्ति राखिएको हो।
उपभोक्ता समितिका अध्यक्ष भरतकुमार पोखरेलले चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने जानकारी दिए । ‘चालु आर्थिक वर्षमा बिनियोजन गरिएको बजेट फ्रिज नहोस् भनी कोरोनाको कारण जारी निषेधाज्ञाको बीचमै पनि मूर्ति राख्ने काम भईरहेको छ’, उनले सेतोपाटीसँग भने, ‘सडक डिभाईडरमा मूर्ति राखिएपछि भैरहवा लुम्बिनी सडक आकर्षक र बुद्धमय बन्ने छ ।’ Photo Curtesy: Setopati