बौद्धमार्गीको सानो संसार

लक्ष्मण पोखरेल
बुद्ध जन्मस्थल लुम्बिनीभित्र के छ ? धेरैले बुझ्छन्, मायादेवी मन्दिर र अशोक स्तम्भ। बर्सेनि करिब १५ लाखको संख्यामा लुम्बिनी पुग्नेमध्ये निकै कमलाई मात्रै थाहा छ, यो सानो बौद्ध विश्व अर्थात् मिनी बुद्धिस्ट वर्ल्ड नै हो। इसापूर्व ६२३ मा लुम्बिनी जन्मिएका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधि (ज्ञान) प्राप्त गरे। उनले ज्ञान बाँड्दै ४५ वर्ष बिताए।

कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्दै गर्दा बुद्धले शिष्यलाई भनेका थिए, ‘जीवनमा एक पटक म जन्मेको, बुद्धत्व प्राप्त गरेको, पहिलो पटक ज्ञान बाँडेको र प्राण त्यागेको स्थानमा अवश्य पुग्नू। त्यति पनि नसके जन्मेको स्थान लुम्बिनी पुग्नू।’ हो, त्यही धार्मिक महत्वको क्षेत्र हो- लुम्बिनी।

बुद्धको महापरिनिर्वाणपश्चात् धर्मका विषयमा अनेक विवाद भए। बौद्ध संघ अर्थात् भिक्षु/भिक्षुणीहरू सय वर्षपछि नै दुई वर्गमा विभाजित भए। स्थविरवाद र महासांघिक। त्यसपछिका विभिन्न कालखण्डदेखि अहिलेसम्म डेढ दर्जन सम्प्रदाय जन्मिए। बुद्ध, धम्म र संघ यी तीन महत्वपूर्ण पक्ष नै लुम्बिनीको खास पहिचान हो।

चार दशकअघि प्रोफेसर केन्जो टांगेले लुम्बिनी गुरुयोजना कोरे। लुम्बिनी रूपन्देहीको दक्षिणी क्षेत्रमै रहेको प्रमाण अशोक स्तभ हो। जहा ‘हिदबुद्धजाते’ अर्थात् बुद्ध यहीँ जन्मिएका हुन् भन्नेसहितका लिखित प्रमाणसहितको स्तम्भ छ। त्यही प्रमाणका आधारमा युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको लुम्बिनी टांगेको गुरुयोजनापछि धार्मिक केन्द्रका रूपमा विकसित हुँदै छ।

मुलुककै मुख्य पर्यटकीय केन्द्र लुम्बिनीमा तीन प्रकृतिमा पर्यटक आउँछन्। अध्येता, दर्शनार्थी र दर्शक। अहिले सबैभन्दा बढी दर्शक (नेपालसहित विदेशी पनि), दर्शनार्थी र अध्येता आउँछन्। दर्शक वा सामान्य घुमफिर गर्न आउनेलाई लुम्बिनी के हो पत्तो छैन। यहाँ भएको संरचनाहरूले के अर्थ दिन्छन् भन्ने थाहै छैन। न त धर्म दर्शनको बारेमा ज्ञान छ, न त पुरातत्वबारे। बुझ्न चाहनेका लागि लुम्बिनी नै बौद्ध दर्शनको सबथोक हो।

‘लुम्बिनी सानो बौद्ध विश्व नै हो, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय भन्छन्, ‘धेरैलाई यो कुरा थाहा छैन, कतिले बुझ्न चाहनुहुन्न।’ लुम्बिनी मिनी बुद्धिस्ट वर्ल्ड रहेकाले तेस्रो मुलुकका धेरैभन्दा धेरै पर्यटक लुम्बिनी ल्याउन सकिने ठूलो सम्भावना छ।

यस कारण बुद्धिस्ट वर्ल्ड
बुद्धको महापरिनिर्वाण अर्थात् इसापूर्व चौथो शताब्दीमा बुद्ध संघमा विभाजन सुरु भयो। बहुसम्प्रदाय निर्माण भए। इसापूर्वको दोस्रो शताब्दी अर्थात् सम्राट् अशोकको कालमा बौद्ध धर्मले विश्वव्यापी प्रचारको मौका पायो। त्यसपछिका समयमा बौद्ध धर्म विश्वका धेरै मुलुकमा पुग्यो। थेरबाद, महायानसहित बज्रयान, हिमालय बौद्ध समुदायसहितका सम्प्रदायहरू निर्माण भए।

फरक–फरक देशमा आआफ्नै बौद्ध संस्कृति छ। फरक नै कला छ। बुद्धकै उपदेश ग्रहण, धर्मदेशना, प्रजज्या, पूजापाठको आफ्नै संस्कृति छ। अहिलेका अध्येताहरू यी संस्कृतिको गहन अध्ययन गर्न चाहन्छन। त्यसका लागि धेरै देश चहार्नुपर्ने बाध्यता छ। तर लुम्बिनी त्यस्तो स्थान हो, जहाँ बौद्ध मुलुक र बौद्ध धर्म पनि मान्ने मुलुकको संस्कृति बुझ्न सकिन्छ।

गुरुयोजनामा टांगेले चार दशकअघि नै यसको कल्पना गरेका थिए। लुम्बिनी प्रवेशद्वारबाट नै लुम्बिनीग्रामको सुरुवात हुन्छ। पर्सा हुँदै बसपार्कबाट लुम्बिनी प्रवेश गर्ने मूलद्वार हो, जहाँको पूर्वतर्फ थेरवाद र पश्चिमतर्फ महायान सम्प्रदायका विहार छन्।
‘यो गुरुयोजनाले अध्ययनको एक आसन र बौद्ध धर्मको प्राणको अनुभव गर्ने स्थान प्रदान गरेको छ’, वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले आफ्नो मौन आह्वान पुस्तकमा लेखेका छन्, ‘यसले पश्चिम नेपालको सामाजिक आर्थिक उत्थानमा महत्वपूर्ण भूमिका खेलेछ र सांस्कृतिक पर्यटनको विकासमा बल पुग्नेछ।’

संस्कृति नै संस्कृति
लुम्बिनीको मूल नहरको पूर्वपश्चिममा ४२ वटा विहारका लागि प्लट बनाइएको छ। राजकीय थाई विहार, क्यानेडियन बुद्धिस्ट संस्था, महाबोधि मन्दिर भारत, कम्बोडियन मन्दिर, श्रीलंका महाविहार, नेपाल थेरबाद मन्दिर, म्यानमार स्वर्ण मन्दिरसहित विपश्यना केन्द्र पूर्वी विहार क्षेत्रमा बनेका छन्। यसको अध्ययनले थेरवाद के हो। संस्कृति र कला के हो। कुन देशको कला कस्तो भन्ने पूर्ण ज्ञान दिन्छ।

‘एकै स्थानमा धेरै संस्कृति बुझ्न सक्ने वातावरण विश्वका कुनै स्थानमा छैन’, विकास कोषका उपाध्यक्ष मैत्रेय भन्छन्, ‘लुम्बिनीमा यी सबै मुलुकको संस्कृति अध्ययन गर्न सकिन्छ।’ संस्कृतिको विषयमा अध्ययन गर्नेहरूको संख्या बढ्दै गएकोमा उनी विश्वस्त छन्।

नहरको पश्चिमतर्फ २९ वटा विहार छन्, जहाँ महायानी सम्प्रदायपछिका उपसम्प्रदायका पनि गुम्बा विहारहरू निर्माण भएका छन्। नेपाल, सिंगापुर, फ्रान्स, जर्मनी, जापान, भारत, क्यानडा, भियतनाम, मंगोलिया, भुटान, स्विट्जरल्यान्ड, चीन, दक्षिण कोरिया, म्यानमार तथा हिमाली बौद्ध समुदायको संस्कृति झल्किने कलात्मक गुम्बा विहार निर्माण भएका छन्।

यी मुलुकमा हुने बौद्ध गतिबिधि, संस्कृति र कलाको अनुपम संगम नै लुम्बिनीमा रहेकाले यसलाई मिनी बुद्धिस्ट वर्ल्ड भनिएको हो। संस्कृतिविद् डा. गीतु गिरी भन्छन्, ‘बौद्ध संस्कृति र कला बुझ्न लुम्बिनी विश्वकै महत्वपूर्ण गन्तव्य हो। यसलाई विश्वभर प्रचार गर्न आवश्यक छ।’

पर्यटन प्रवर्द्धन
समयसमयमा पर्यटन व्यवसायीले लुम्बिनीभित्र बनेका विहार गुम्बाहरू होटलका रूपमा प्रयोग भएको गुनासो गर्दै आएका छन्। तर त्यो गुनासोभन्दा पनि महत्वपूर्ण कुरा यिनै विहार–गुम्बाले नै लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवर्द्धन गरेका छन्।
झन्डै ४० वटा बौद्ध गुम्बा र विहारमै बसेका भिक्षु÷भिक्षुणीबाट नै ती मुलुकमा लुम्बिनीको प्रचारप्रसार भएको छ।

पर्यटक लुम्बिनी ल्याउनसमेत यी विहारको महत्वपूर्ण योगदान छ। विकास कोषका उपाध्यक्ष मैत्रेय यी गुम्बामा बस्नेहरूलाई ‘पर्यटन दूत’को संज्ञा दिन्छन्। ‘नेपाल सरकारले गर्न नसकेको पर्यटन प्रवर्द्धनमा यहाका विहारको महत्वपूर्ण योगदान छ’, उनले भने, ‘पर्यटकहरूलाई लुम्बिनी डोर्‍याउने काममा ठूलो सहयोग छ।’ लुम्बिनीको सन्दौर्यका लागि पनि विहार महत्वपूर्ण हुन्।

तर बौद्धमय छैन
तीन महिनाअघि थाइल्यान्डबाट आएको भ्रमण टोलीले जिज्ञासा राखेको थियो, लुम्बिनीमा बुद्ध स्तुतिका धुनहरू सुनिएनन्। नेपाली पर्यटक, जसले बौद्ध धर्ममा रुचि राख्छ, उनीहरू पनि लुम्बिनीको शान्ति माहोलप्रति सन्तुष्ट भने छैनन्।
लुम्बिनी बुद्ध जन्मस्थल भएर पनि बौद्धमय नभएकोमा धेरैलाई चिन्ता छ। लुम्बिनीमा देखिने गरी बौद्ध संस्कृति झल्किने क्रियाकलाप हुँदैनन्। हरेक मुलुकका विहारको आफ्नै संस्कृति, कला छ। तर त्यो मात्रै बन्द कोठामा सीमित छ।

लुम्बिनीको बाहिरी क्षेत्र फरक धर्म र संस्कृतियुक्त छ। अधिकांश मुस्लिम समुदायको बस्ती छ। तैपनि लुम्बिनी प्रतिको श्रद्धामा कमी छैन। लुम्बिनी जोगाउनेमध्येका मुस्लिमहरूमा बौद्ध जागरण हुन नसक्नु र पर्यटन व्यवसायमा समेत पर्यटक आकर्षणको कला नहुनुले लुम्बिनी बौद्धमय बन्न नसकेको हो। यसमा लुम्बिनी विकास कोषले समेत चासो दिएको छैन।

राजनीतिक किचलो
जुन स्थानमा बुद्ध जन्मिए, त्यही स्थानमा बौद्ध शिक्षाविपरीतका गतिविधि छन्। चार दशकअघि युनेस्को र नेपाल सरकारले अनुमोदन गरेको लुम्बिनी गुरुयोजनाको काम अझै सकिएको छैन। यसको मुख्य जड विकास कोष राजनीतिक भूमरीमा फस्नु हो।
लुम्बिनी गुरुयोजनालाई मूर्त रूप दिन बनेको विकास कोष कार्यकर्ता भर्तीको केन्द्र बन्यो। सरकारैपिच्छे विकास कोषका पदाधिकारी फेरिए। पदाधिकारी बन्नमा आर्थिक चलखेल भयो। त्यो चलखेलको प्रत्यक्ष मारमा गुरुयोजना पर्‍यो। गैरबौद्ध, लुम्बिनीको विषयमा अबुझहरू कोषको नेतृत्वमा बारम्बार आए। शान्तिभूमिमा आन्दोलन र द्वन्द्व अत्यधिक भयो।

‘लुम्बिनीलाई राजनीति गर्ने अखडा बनाउनु नै सबैभन्दा गलत काम हो’, पूर्व सदस्यसचिव विमलबहादुर शाक्य भन्छन्, ‘राजनीतिबाट मुक्त नहँुदासम्म यसको विकास हुनै सक्दैन।’ अपनत्व, बफदारिता र सदाचारिता विकास कोषका पदाधिकारीमा हुनुपर्ने उनी बताउँछन्।

पदाधिकारीकै कमजोरीका कारण टांगेले बनाएको गुरुयोजना उथलपुथल भएको छ। बौद्धकालकै सुन्दर बगैंचा बनाउने योजना तोडमोड गरिएको छ। कतिपय विदेशी संस्थाहरूले लुम्बिनीलाई प्रचारको थलो बनाएका छन्। संरचनाहरू गुरुयोजनाविपरित बनाइएको छ। मायादेवी मन्दिरकै खतरा निम्तने गरी अग्ला संरचना निर्माणमा छुट दिइएको छ। यस्तो लापरबाहीले लुम्बिनीको भविष्य संकटमा पर्ने पुरातत्वविद्को चिन्ता छ।

Share

Related posts