काठमाडौँको मिनभवनस्थित विश्व शान्ति विहारमा यस वर्षको कथिन चिवर दान कार्यक्रम बुधवार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण एकदमै सुरक्षित तवरले सामान्य तरिकाले कथिन चिवर दान कार्यक्रम गरिएको विहारका प्रमुख भिक्षु बोधिज्ञानले बताए । यसपटक चिवर दान सम्पन्न गर्न मलेशियाका दाताहरुले सहयोग गरेका छन् ।
कोभिड १९ कै कारण यसवर्ष विहार बाहिरबाट भिक्षुहरुलाई आमन्त्रण समेत नगरिएको उनले जानकारी दिए । विहारमै रहेका पनि निकै सिमित भिक्षुहरुलाई मात्रै सहभागि गराई दान कार्यक्रम गरिएको उनले उल्लेख गरे । यो वर्ष विश्व शान्ति विहारका ७ जना भिक्षु तीन महिने वर्षावास बसेका थिए । वर्षावास पुरा गरेका भिक्षुहरुलाई गरिने कथिन चिवर दान बौद्ध धर्मभित्रको थेरवाद सम्प्रदायको अत्यन्तै पवित्र र महत्वपुर्ण कार्य हो ।
चिवर दान कार्यक्रमकै अवसर पारेर ६ जना श्रामणेरलाई प्रवज्जित पनि गरिएको छ ।
बुधवार नै विहार अगाडि निर्माण गरिएको चैत्य प्रतिष्थापन पनि गरिएको छ । चैत्य निर्माणका लागी शान्तिनगरका उपासक मखनलाल श्रेष्ठको आर्थिक सहयोग रहेको छ । फोटो सौजन्यः भिक्षु बोधिज्ञान