बौद्ध धर्ममा पञ्चशीलको महत्व र उदारता

बौद्ध धर्ममा पञ्चशीलको एकदमै ठूलो महत्व छ । पञ्चशील बौद्ध धर्मको आधारभुत पाँच शीलहरुको संग्रह हो । अंगुत्तरनिकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा पञ्चशीलको वर्णन गरिएको छ ।

अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापद भनिएको १० शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशील बौद्ध धर्म प्रवेश गर्ने प्रवेशद्वारको रुपमा लिइन्छ ।

पञ्चशीलमा बुद्धको मार्गमा हिड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा अरुले नदिएको नलिने, झुठो नबोल्ने, आफ्नो पति वा पत्नी बाहेक अरुसँग नलाग्ने (भिक्षुहरुले कोहीसँग पनि व्यभिचार नगर्ने) प्रण लिइन्छ ।

पञ्चशीलभित्र कुनै पनि पुरानो धर्म त्याग्ने वा अरु धर्म छोड्ने भनेर बाध्यकारी नियम वा विधि राखिएको छैन । साथै यी नियमहरु पालना नगरेको खण्डमा ईश्वर वा कुनै भौतिक शक्तिले दण्ड दिने वा नर्कमा जाने पनि भनिएको छैन । धर्मपालनालाई नितान्त व्यक्तिगत आचरणको रुपमा छोडिएको छ ।

पञ्चशीलमा रहेको यही उदारताकै कारण बौद्ध धर्म फैलिएका स्थानहरुमा त्यहाँका अनुयायीहरुले मान्दै आएको पहिलेको विश्वास वा आस्थालाई अहिले पनि जिवितै रहेको देख्न सकिन्छ । यसको उद्धाहरणको रुपमा तिब्बती बौद्ध धर्ममा बोन संस्कृति, दक्षिण तथा पूर्वी एसियाली बौद्ध धर्ममा हिन्दु संस्कृति, जापानमा शिन्ता, चीनमा ताओ र कन्फ्युसियस संस्कृति संगै गाँसिएको देख्न सकिन्छ । र, यसो हुनुमा एकमात्रै कारण हो पञ्चशील भित्र रहेको उदारता ।

Share

Related posts