नेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर पदासीन,संघउपनायकमा भिक्षु गुणघोष महास्थविर पदासीन

अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्षहरु भिक्षु सुमेध महास्थविर तथा भिक्षु धर्ममूर्ति महास्थविरको उपस्थितिसहितको अ.ने.भि.महासंघका धर्मानुशासक, पदाधिकारी एवं सम्बद्ध संघसदस्यहरु बीच आज २०७७ श्रावण १९ गते सोमवार (बु.सं. २५६४, ३ अगष्ट २०२०, ने.सं. ११४० गुंपुन्हि) का दिन काठमाडौं, स्वय्म्भूस्थित ऐतिहासिक आनन्दकुटी विहारको सीमागृहमा महासंघका धर्मानुशासक, पूर्व अध्यक्ष, बोधिचर्या विहार (बनेपा) का संस्थापक प्रमुख महासद्धम्मजोतिकधज भिक्षु बोधिसेन महास्थविरलाई संघनायक पतिट्ठापनविधिसहित संघसम्मति विधिपूर्वक नेपालको आठौं संघनायक पदमा धर्मगौरवसहित पदस्थापन गरियो ।

त्यसरी नै महासंघका धर्मानुशासक, पूर्वाराम विहार (धुलिखेल) का संस्थापक प्रमुख महासद्धम्मजोतिकधज भिक्षु गुणघोष महास्थविरलाई संघउपनायक पतिट्ठापनविधिसहित संघसम्मति विधिपूर्वक संघउपनायक पदमा धर्मगौरवसहित पदस्थापन गरियो । संघसदस्य भिक्षुहरुको संघकार्यबीच कम्मवाचाकारक भिक्षु धर्मशोभन महास्थविर तथा भिक्षु शीलभद्र महास्थविरले कम्मवाचा वाचन गर्नुभएको थियो ।
संघउपोसथ कर्मसहित वर्षावासको प्रारम्भलगत्तै संघनायक प्रतिस्थापन सम्पन्न हुँदा काठमाडौं उपत्यकाका उपसम्पदा प्राप्त भिक्षुहरुको उपस्थिति रहेको थियो । अनुकूल समयमा सार्वजनिक समारोहको आयोजना गरी संघनायक अभिनन्दन समारोह कार्यक्रमसम्बन्धमा अनुकूल समयमा सम्बन्धित विहार तथा संघसंस्थाहरुलाई जानकारी गराइने छ ।

Share

Related posts