काठमाडौंको बौद्ध समाजमा प्रचलित गुँला पर्व

बसन्त महर्जन
काठमाडौं उपत्यकाको बौद्ध जनजीवनमा श्रावणशुक्ल प्रतिपदादेखि एक महिनासम्म विहानैदेखि एक विशेष प्रकारको वातावरण सिर्जना हुन्छ । यसलाई गुँला पर्वको माहौल भन्न सकिन्छ । यस बेला बौद्धहरु विहानैदेखि बडो उत्साह र उमंगका साथ धार्मिक क्रियाकलापमा विशेष रुपमा संलग्न हुन्छन् । काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक जीवन स्वयम्भू महाचैत्यमा केन्द्रित छ । यसअनुसार यो स्थल सबैभन्दा महत्वपूर्ण र गौरवपूर्ण रहेको छ । सक्नेहरु प्रत्येक दिन विहान नित्यकर्म सम्पन्न गरी यहाँ जान्छन् भने नसक्नेहरु घर वरिपरिका बौद्ध स्थलहरुको परिक्रमा गरी दैनिक जीवन सुरु गर्दछन् । गुँला पर्वका बेला भने स्वयम्भू जान उत्साहित हुन्छन् । तर उपत्यकाभित्रै पनि भक्तपुर, थिमी, बनेपा, पाटन, कीर्तिपुरजस्तो टाढाटाढाका बौद्धहरु स्वयम्भूमा प्रत्येक दिन पुग्न नसकेपनि एक दिन यहाँ अवस्य पुग्छन् वा आफ्नै वरिपरिका बौद्ध स्थलहरुको परिक्रमा तथा पूजापाठमा संलग्न रहेको देख्न पाइन्छ ।

यो पर्वको नाम गुँला किन रह्यो भन्ने कुरा खुल्दुलीकै विषय रहेको छ । यस सम्बन्धमा चर्चा गरिएका कतिपय लेख तथा प्रवचनहरुमा नेपाल सम्वतअनुसार नवौं महिनामा पर्ने पर्व भएकाले गुँला भनिएको हो भनी व्याख्या गरेको पाइन्छ । ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना भनी अनुवाद गरेको पाइन्छ । तर यो सही अनुवाद वा व्याख्या होइन । यसलाई नवौंको अर्थमा प्रयुक्त गर्ने हो भने ‘गुँ’ नभएर ‘गु’ मात्रै उच्चारण गर्नु पर्दथ्यो । पर्वको नाम स्पष्ट शब्दमा ‘गुँला’ नै छ । नेपाल सम्बतअनुसार यो नवौं महिनामा नभएर दशौं महिनामा पर्दछ । महिनाको नाम क्रमशः १. कछला, २. थिंला, ३, पोहेला, ४. सिल्ला, ५ चिल्ला, ६. चउला, ७. बछला, ८ तछला, ९. दिल्ला, १०. गुँला, ११. यंला र १२. कउला हो । यसअनुसार श्रावणशुक्ल प्रतिपदादेखि गुँला महिना सुरु हुन्छ र यो नवौं नभएर दशौं महिना हो । यस बीचमा पर्ने पूर्णिमालाई नेवार समाजमा ‘गुँपुन्हि’ भनिएको पनि नवौंको अर्थमा नभएर ‘गुँलापुन्हि’ को अपभ्रंश हो । वास्तवमा एक महिनाअवधिमा पर्ने ‘बहीद्यः ब्वयेगु’ (काठमाडौं), मतयाः (पाटन), बहाः चाःहिलेगु (कीर्तिपुर) लगायत सबै बौद्ध धार्मिक क्रियाकलापलाई गुँला पर्वअन्तर्गत राखी सम्बोधन गरेको बुझ्न सकिन्छ । धार्मिक स्थलमा परिक्रमा गर्न जाँदा बजाइने विभिन्न बाजागाजाको समूहलाई पनि ‘गुँला बाजा’ नै भन्ने गरिएको पाइन्छ । यस बीचमा गरिने धार्मिक कर्मलाई पनि ‘गुँला धर्म’ वा ‘गुँला सेवा’ भन्ने गरेको पाइन्छ । गुँला शब्दको कुनै बेला स्पष्ट अर्थ र व्याख्या रहेपनि हाल बिर्सेको हुनसक्ने संभावना छ र अबको अनुसन्धान यतातिर सोझिनु पर्दछ ।

बसन्त महर्जन

बौद्ध धर्म र दर्शनको अभ्यास मौलिक रुपमा मृत्यु चिन्तनसँग सम्बन्धित छ । चार आर्यसत्यको पहिलोमा ‘दुःख सत्य’ हो । सामान्य अर्थमा चाहेको बस्तु वा अन्य कुरा नपाउनु वा गुमाउनुलाई दुःख भनिएको पाइन्छ तर बौद्ध धर्मअनुसार त्यसरी चाहेको बस्तु पाउनु पनि दुःख नै हो, दुःखको कारण हो । यो कुराको बोध नभएर प्राणीहरु दुःखको अनन्त सागरमा डुबिरहेका हुन्छन् । भवचक्रमा घुमिरहेका हुन्छन् । यस्तो भन्नुको तात्पर्य प्राणी जन्मेर मर्ने तथा पुनः जन्मने क्रमले निरन्तरता पाइरहेको हुन्छ भन्नु हो । एउटा योनिमा जन्मेर, हुर्केर आयु सकिएपछि मर्ने र कर्म सिद्धान्तअनुसार पुनः अर्को योनिमा सोही क्रमले जन्मने, हुर्कने र मर्ने अथाह क्रमवद्धता नै दुःख हो । बौद्ध धर्मको गन्तव्य ‘निर्वाण’ हो र निर्वाण भन्नु नै दुःखबाट मुक्त हुनु हो । एक बौद्धको अभिप्रायः दुःखबाट मुक्त भई निर्वाण लाभ गर्ने असीम इच्छा राखी अध्ययन, चिन्तन तथा अभ्यासमा दत्तचित्त भएर लाग्नु हो । गौतम बुद्धले मैत्री, करुणा, मुदिता र उपेक्षा मात्रै होइन अन्य पनि कतिपय कुरालाई बौद्ध धर्मको अभ्यासका क्रममा अपनाउनु पर्ने साधनका रुपमा सुझाएका छन् । कुनै पनि बौद्ध आफूमात्रै दुःखबाट मुक्त हुने र निर्वाणको कामना गर्ने सोच राख्दैनन्, करुणाको भावना जगाई अरुको निर्वाणमा पनि आफू सहायक हुने सोच राखेकै हुन्छ । कति मात्राको सहायक हुने भन्ने कुरा बेग्लै विषय हो ।

महायानी बौद्धहरुमा सुखावती भुवनको अवधारणा पाइन्छ । कोही मरेको अवस्थामा उसको ‘सुखावती भुवनमा वास होस्’ भन्ने कामना गर्दछन् । सुखावती भुवन भन्नु ‘स्वर्ग’ होइन । प्राणीले निर्वाण लाभ नगरेसम्म मृत्युपछि विभिन्न योनिहरुमा घुमिरहेको हुन्छ र ती योनिहरुमा धर्म श्रवण तथा अध्यासको अवसर प्रायः उपलब्ध हुँदैन । अभिताभ बुद्ध रहने सुखावती भुवनमा जन्मन पायो भने धर्मको श्रवण गर्ने अवसर उपलब्ध हुने र यसैको प्रभावले चाँडै निर्वाण लाभ गर्नसक्ने भएकोले यस पृथ्वीमा जीवित मनुष्यले मृतकको हित चिताई यसरी ‘सुखावती भुवनमा बास होस्’ भन्ने कामना गरेको बुझ्नु पर्दछ । वर्षभरमा दिवंगत भएका आफन्त, मित्र, तथा परिचित तथा अपरिचित सबैको सुखावति भुवनमा वास होस् भनेर कामना गर्दै गुँला पर्वका अवसरमा महिना दिनसम्म विभिन्न बौद्ध विहार, चैत्यको परिक्रमा तथा पूजा पाठ गर्ने गर्दछन् । पर्वका अवसरमा प्रायः बाजागाजा सहित सामुहिक रुपमा जाने गर्दछन् र यसले गर्दा मनमा शान्ति तथा एक आपसमा सद्भाव अभिवृद्धि हुनाका साथै पारिवारिक सुख कायम हुन्छ र पुण्य वृद्धि हुने मान्यताबाट बौद्ध जीवन अभिप्रेरित छ । यसरी गुँला पर्वलाई आफ्नो तथा अर्काको धर्म वृद्धिका लागि गरिने कर्म भनेर पनि बुझ्न सकिन्छ ।

गुँला पर्वको अवधारणा अन्य बौद्ध समाजमा पाइँदैन । काठमाडौंमा नै पनि बज्रयानी बौद्धको अनुशरण गर्ने नेवार समाजमा यो परम्परागत रुपमा प्रचलित छ । यो पर्व कहिलेदेखि सुरु भएको भनेर यकिनसाथ भन्न सकिने अवस्था पनि छैन । यस सम्बन्धमा प्रश्न गर्दा यहाँका बौद्धहरु प्राचीनकालदेखि मनाउन थालिएको जवाफ दिन्छन् तर यो ठोस जवाफ होइन । यस अवसरमा दिइने जवाफ कतिपय सन्दर्भमा पौराणिक कथाकहानीसँग सम्बन्धित भइरहेको हुन्छ । प्राचीनकालको पर्याय पौराणिककाल होइन । यस अवस्थामा ती जवाफहरुले ऐतिहासिकता राख्दैन भन्ने कुरा हेक्का राख्नु पर्दछ । कतिपयले गुँला पर्वलाई गौतम बुद्धसँग नै सम्बन्धित गरेको पाइन्छ । इ.पू. ५२८ मा बुद्धत्व प्राप्त गरेर बोधगयामा बसिरहेका बेला गौतम बुद्धसमक्ष सहम्पत्ति नामका ब्रह्मा आई धर्मचक्रप्रवत्र्तनका लागि याचना गरेको र सो याचनापछि धर्म उपदेश दिने निधो गरेको खुसीयालीमा देवमनुष्य सबैले एक महिनाभरि धार्मिक महोत्सव गरी मनाएको भन्ने विश्वास पनि गरिन्छ । तर यो पनि भरपर्दो भनाइ होइन । बुद्धत्व प्राप्तीपछि सात हप्तासम्म बुद्ध बोधगयामा नै बोधिवृक्षको वरिपरि बुद्धत्व प्राप्तीको असीम सुखअनुभव गरेर बसिराख्दा सहम्पति नामका ब्रह्माले धर्मचक्रप्रवत्र्तनका लागि याचना गरेको र बुद्धले पनि धर्म देशना गर्ने निधो गरेको कुरा प्रायः बौद्ध ग्रन्थमा पाइएपनि त्यसलाई महोत्सवको रुपमा लिएर महिना दिनसम्म गुँला पर्व मनाउन थालिएको कुरा कुनै पनि ग्रन्थमा पाइँदैन । यदि यस्तै हो भने काठमाडौं उपत्यकाबाहेक अन्य बौद्ध समाजमा पनि यसको प्र्रचलन हुनुपर्ने हो ।

गुँला पर्व पर्ने महिनामा प्रायशः प्राकृतिक प्रकोप तथा रोगव्याधी लाग्ने गर्दछ । यस खालको भय अन्तरायबाट छुटकाराको कामना गरेर पनि गुँला पर्वमा संलग्न हुने गरेको पाइन्छ । अरु बेलामा संयमता अपनाउन नसकेपछि यस अवधिमा खानपान तथा अन्य कुरामा संयमी हुने गरेको पनि पाइन्छ । यस समय ‘लख चैत्य थायेगु’ भनेर साँचोबाट एक लाख वटा साना साना चैत्य (तिब्बती भाषामा छा छा) हरु बनाउने र गुँला पर्वपछि बिसर्जन पूजा गर्ने चलन पनि पाइन्छ । यसरी नै पाटनको हिरण्यवर्ण महाविहारमा ‘माय् अपसं’ भनेर महिना दिनको उपोसथ व्रत बस्ने चलन पनि छ ।

गुँला पर्वमा एउटा आकर्षणको विषय यस अवसरमा बजाइने गुँला बाजा पनि हो । तर गुँला बाजा भनेर कुनै विशेष नभएर विभिन्न थरीका छुट्टाछुट्टै अस्तित्व रहेका बाजाहरुको सामूहिक नाम हो । धाः, भुस्याः, तुस्याः, ताः, नायखिं, दवःखिं, म्वाहालि आदि बाजाहरुको संयुक्त नाम नै गुँला बाजा हो । तर मुख्य रुपमा ढोलकजस्तो खालको तर एकातर्फ हातले र अर्कोतर्फ लठ्ठीले हिर्काई बजाउने बाजा ‘धाः’ लाई नै मानिन्छ । धर्म, संस्कृति र परम्परामा नयाँ पुस्तालाई चासो नभएको भन्ने गुनासो गुँला बाजाको सन्दर्भमा पल्टा खान्छ । यस पर्वका लागि वाद्य बजाउनेहरुमा बालक तथा युवामात्रै नभएर किशोरी तथा युवतीहरुको संलग्नता उल्लेखनीय एवं उदाहरणीय पक्ष हो ।

गुँला महिनाभरि विहान स्वयम्भू महाचैत्यको दर्शन गर्न जानलाई मात्र नभएर गुँला बाजा पूर्णिमाको भोलिपल्ट सापारु (गाईजात्रा) पछि बहाः बहीहरुमा ‘बहिद्यः ब्वयेगु’ भनी प्रदर्शनीमा राखिने मूर्तिहरुको दर्शन गर्न जाँदा पनि यही बाजा बजाएर जाने गरिन्छ । पाटन, भक्तपुर, थिमि, बनेपामा यो बाजा भएपनि महिनाभर बजाएर हिड्ने चलन छैन । पाटनको नौबाजासँग गुँला बाजाको सम्बन्ध देखिन्छ । नौबाजामा धाः बाजालगायत नगरा, धिमे, नायखि, दमःसिं, दबदब, मृदङग, धौंधौंचा, क्वचाखिं, न्यँकुँ आदि बजाइन्छ । नौबाजामा पनि मुख्यतः धाः बाजालाई नै प्रमुखता दिइएको हुन्छ । पाटनको नौबाजा सापारुको एक दिन स्वयम्भूमा बजाउन आउने चलन छ । पाटनदेखि स्वयम्भू टाढा भएकोले एक दिन मात्रै आउने गरेको हुनसक्छ । नौबाजा पहिला काठमाडौंमा पनि रहेको तर अहिले प्रचलनमा नरहेको बुझिन्छ । काठमाडौंमा पहिला बय् (बाँसुरी) र न्यकू (रांगाको सिङ फुकेर बजाइने) बाजा थियो तर अचेल यो हटेर म्वाहालि र ट्रम्पेटको प्रचलन आएको छ । स्वयम्भू महाचैत्यको परिसरमा मात्रै भएपनि मृतकको नाममा ‘न्यकू बाजा’ बजाउने चलन बाँकी नै छ । काठमाडौं नजिकै कीर्तिपुरलगायतका ठाउँमा भने न्यकू बाजाको प्रचलन कायम नै छ र यो बाजा बजाएर विभिन्न ठाउँको परिक्रमा गरिन्छ । न्यकू बाजा बजाउनुको तात्पर्य मृतकको बास नरकमा नहोस् भन्ने रहेको छ । गुँला बाजालाई इच्छाअनुसार घरमा निमन्त्रण गरी बजाउन दिने र यस बापत दानदक्षिणा तथा जलपान गराउँने चलन कीर्तिपुरमा पाइन्छ । यसो गर्दा घरमा राम्रो हुने भनाइ रहेको छ ।

Share

Related posts