जसलाई भेट्यो उसैलाई मार्ने अंगुलीमाल कसरी बुद्धको शिष्य बने ?

त्यस बेला बुद्ध कौशल राज्यमा बस्नुहुन्थ्यो । उहाँ गाँउमा भिक्षाटनका लागि निस्किनुभएको थियो । तर गाँउ सुनसान थियो, सबै घरहरूको झ्याल ढोकाहरू बन्द थिए । बुद्ध प्रत्येक घरका अगाडि गएर उभिनुहुन्थ्यो, तर कोही मानिस पनि बाहिर आउन्नथे । बुद्ध कोही पनि मानिस बाहिर नआएकोमा अचम्म मान्दै हुनुहुन्थ्यो ।

यत्तिकैमा एक जना मानिसले बुद्धलाई हातमा समाए र एक्कासी घरभित्र ल्याए । बुद्धले प्रश्न गर्नुभयो, “वास्तवमा आज गाँउमा के भएको हो ? सबै मलाई बताउनुहोस् ।” उक्त मानिसले बुद्धलाई सबै कुरा सविस्तार सुनाए, “गाँउ नजिकैको वनमा अङ्गुलीमाल नामक डाकु आएको छ र उसले जसलाई देख्यो उसलाई मारेर उसको औला काटेर आफुले धारण गर्दछ । उसले जति धेरै मानिसलाई मार्छ, त्यति नै उसको बल पनि बढ्छ र ऊ अझ बढी शक्तिशाली हुन्छ । त्यसैले केही समयका लागि बाहिर निस्कनु खतराजनक छ । आज तपाईँ यही बस्नुहोस् ।”

यो कुरा सुनेर बुद्ध थोरै मुस्कुराउनुभयो र भन्नुभयो, “यदि म त्यो हत्यारादेखि डराएँ भने म यहाँ आएको के काम ?” यति भनेर बुद्ध घर बाहिर निस्किनुभयो । ती मानिसले बुद्धलाई फेरि पनि रोकिन आग्रह गरे, तर बुद्ध घर बाहिर निस्किहाल्नुभयो ।

गाँउ सुनसान थियो । बुद्ध आफ्नै गतिमा हिँडिरहनुभएको थियो । केही समयपछि पछाडिबाट आवाज आयो, “ए, पख् । कहाँ जान लागेको ?” यो आवाज सुनिसकेपछि बुद्धलाई थाहा भयो कि यो मानिस नै अङगुलीमाल हो । बुद्ध आफ्नै मन्द गतिमा हिँड्दै नै हुनुहुन्थ्यो, अङ्गुलीमाल कराउदै आइरहेको थियो, “पख् भनेको सुनिनस् ? पख् । ” त्यसपछि बुद्धले कारुणिक स्वरमा भन्नुभयो “म त धेरै पहिले नै रोकिइसकेँ, तिमी नै रोकिएका छैनौ । म रोकिएको मानिसलाई तिमी फेरि रोकिन भन्दै छौ ?”

अङ्गुलीमाल एक पटक झस्कियो, तर त्यो कुराको ख्याल नगरी ऊ अझ पनि कराउँदै बुद्धका अगाडि आइपुग्यो । अनि भन्यो, “तैले मलाई चिनेको छैनस् ? म अङ्गुलीमाल हुँ । म बलवान् छु । अब म तँलाई मार्छु । तँ अब मेरो हातबाट मर्नको लागि तयार बन् ।” बुद्धले मुस्कुराउँदै भन्नुभयो, “ठीक छ, तिमी मलाई मार, तिम्रो हातबाट म मर्न तयार छु । तर मलाई मार्नभन्दा पहिले तिमीले मैले भनेको एउटा कुरा मान्नु पर्छ ।”

“के हो छिटो भन्,” अङ्गुलीमाल करायो । बुद्धले नम्र स्वरमा भन्नुभयो, “तिमी पहिला यी वृक्षका पातलाई आफ्ना हतियारले सकेसम्म काँट ।” अङ्गुलीमालले आपूmले भेटेसम्मका वृक्षका हाँगाबिगा काट्यो र भन्यो, “ल, अब तँ मर्न तयार बन् ।”

अब बुद्धले भन्नुभयो, “अङ्गुलीमाल, अब तिमीले काटेका यी सारा पात, हाँगाबिँगाहरू अब त्यसै गरी जोड ता कि ती अघिकै रूपमा होऊन् ।” अङ्गुलीमाल फेरि झस्कियो र भन्यो, “के तिमी पागल त भएका छैनौ ? कसैले काटेका वृक्षका हाँगाबिगा फेरि जोड्न सक्छ ?”

त्यसपछि बुद्धले भन्नुभयो, “त्यसो भए तिमीलाई कसले भन्यो तिमी बलवान् र शक्तिशाली छौ भनेर ?” बुद्धले दयावान स्वरमा थप्नुभयो, “हेर अङ्गुलीमाल, कुनै पनि कुराको क्षति त जसले पनि गर्न सक्छ । मानिसले मानिसलाई, जसले पनि जसलाई पनि मार्न सक्छ । यसरी रुखका पात, हाँगाबिँगा त केटाकेटीहरू पनि झार्न सक्छन् । तर बलवान् र शक्तिशाली त त्यो हो जसले कुनै पनि कुरा काटेर फेरि त्यही रूपमा जोड्न सक्छ । जोसँग काटेर फेरि जस्ताको त्यस्तै बनाउने सामथ्र्य छैन, त्योसँग काट्न पाउने अधिकार पनि छैन ।”

बुद्धका कुरा सुनेर अङ्गुलीमालका आँखाबाट पश्चात्ताप र हर्षका आँसु झरे । पश्चात्ताप यस कारण कि उसलाई आज सम्म गरेको पाप महसुस भए । हर्ष यस कारण कि उसले सम्बोधि प्राप्त बुद्धसँग साक्षात्कार गर्न पाएको थियो । उसलाई यो थाहा भयो कि उसका आँखा अब खोलिएका छन् । साथै अब आफ्नो उद्धार हुनेछ भन्नेमा उसलाई विश्वास थियो । उसले बुद्धका अगाडि घँुडा टेकेर दुबै हात जोड्दै माफी माग्यो । बुद्धले उसलाई अब सबै पाप कर्म छाडेर सद्धर्ममा लाग्नका लागि प्रेरणा दिनुभयो । अङ्गुलीमालले आफुलाई शिष्य बनाउनलाई बुद्धसँग आग्रह ग¥यो । बुद्धले पनि अङ्गुलीमाललाई सजिलै शिष्यको रूपमा स्वीकार गर्नुभयो ।

त्यसपछि अङ्गुलीमालले बुद्ध समक्ष एउटा कुरा सोध्न अनुमति माग्यो । बुद्धले अनुमति दिएपछि अङगुलीमालले सोध्यो, “अघि हजुर मन्द गतिमा पाइला चाल्दाचाल्दै पनि पनि आफु त धेरै पहिले नै रोकिएको बरु म नै नरोकिएको भन्दै हुनुहुन्थ्यो । त्यसको अर्थ के होला ? यो जानकारी पाए म धन्य हुने थिएँ ।” यो प्रश्न सुनेर बुद्धले मुस्कुराउँदै भन्नुभयो, “मैले हत्या हिंसा गर्न पहिले नै रोकिसकेँ । तर तिमी नै रोकिएका छैनौ मात्र भनेको हुँ, अङ्गुलीमाल ।” बुद्धको कुरा सुनेर अङ्गुलीमालले बुद्ध कति ज्ञानी हुनुहुन्छ भन्ने बुझे ।

Share

Related posts