बसन्त महर्जन
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट दक्षिण ४ किलोमिटर र कुदानबाट २ किलोमिटर पश्चिम लागेपछि गोटिहवा नामको एउटा गाउँ आउँछ । त्यहाँ माथिल्लो भाग भाँचिएको र तल्लो भागमात्रै बाँकी रहेको विशाल शिलास्तम्भको अवशेष देख्न पाइन्छ । २०५३ सालमा पहिलो पल्ट सो ठाउँमा पुग्दा स्थानिय जनताले ‘फुटेश्वर महादेव’ भनेर चिनाएको थियो । कुनै बेला अत्तोपत्तो नै नभएको सो स्तम्भ पुरातात्विक उत्खनन्बाट उजागर भएको थियो भने पुरातत्वसम्बन्धी स्थानिय जनतालाई ज्ञान दिन नसक्दा फुटेको शिवलिङ्ग भन्ठानेछन् र फुटेश्वर महादेव नाम दिइएको भनेर बुझ्न गाह्रो पर्दैन । आजभोलि पनि शिबलिंग भनेरै पूजा गर्ने गरिन्छ । केही वर्षअघि पुग्दा शिवरात्रीको दिन परेको थियो र गाउँलेहरु अशोकस्तम्भलाई शिवलिङग भनी बडो भक्तिभावले पूजा गरिरहेको अचम्मको दृष्य देख्न पाइएको थियो । तर यो बौद्ध स्थल हो ।

आफ्नो राज्याभिषेकको बीसौं वर्षगाठका अवसरमा तीर्थयात्राको क्रममा मौर्य सम्राट इ.पू. २४९ तिर कपिलवस्तु पनि पुगेका थिए । गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कनकमुनि बुद्धको जन्मस्थलमा शोभावती (निगलीहवा) मा जस्तै यहाँ क्रकुच्छन्द बुद्धको जन्मस्थल भनी स्मारकस्वरुप स्तम्भ गाडेका थिए । क्रकुच्छन्द बुद्धको जन्म तथा महापरिनिर्वाण स्थल भनी बौद्ध वाङमयहरुमा क्षेमवती नगरको नाम उल्लेख पाइन्छ । चिनियाँ यात्री ह्वेन–साङ यहाँ सातौ शताब्दीमा पुगेका थिए र त्यति बेलासम्म तीस फीट अग्लो सो स्तम्भ ठडिएकै थियो । तर कहिले र कसरी यो स्तम्भ भाँचियो भन्ने कुरा अज्ञात छ । उनकै वर्णनअनुसार लुम्बिनी र निग्लिहवामा जस्तै अभिलेख थियो तर अहिले सो अभिलेख पनि अज्ञात छ । यसो हुँदाहुँदै पनि पुरातात्विक अवशेष तथा बौद्ध साहित्यको सहाराबाट धेरै कुरा जान्न सकिन्छ ।
को हुन् क्रकुच्छन्द बुद्ध ?
दिपङ्कर बुद्धबाट गन्दै आउने हो भने क्रकुच्छन्द बुद्धको गणना बाइसौं बुद्धमा पर्दछ । गौतम बुद्ध (इ.पू. ५६३–४६३) बाट गन्दै जाने हो भने, कश्यप र कनकमुनिअघि क्रकुच्छन्द बुद्धको नाम आउँछ । यी बुद्धको जन्म अग्निदत्त नामको ब्राह्मण र विशाखा नामकी ब्राह्मणीबाट क्षेमवती नगरमा भएको थियो । प्राचीन क्षेमवती नगर नै अहिलेको तौलिहवा हो । उनले महाशिरीष नामको वृक्षमुनि बोधिलाभ गरेका थिए । त्यति बेला क्षेम नामका एक राजा थिए र क्रकुच्छन्द बुद्धलाई पात्रचीवरसहित महादान गरी धर्मश्रवण गरेका थिए । साथै ती राजा प्रव्रजित भई भिक्षु पनि बनेका थिए । क्षेम नामका यी राजा अरु नभएर बोधिसत्वका रुपमा रहेका गौतम बुद्धकै पूर्व जन्म थियो ।
प्राचीन वर्णन
ललितविस्तरसूत्रमा गौतम बुद्धलाई वाल्यकालमा स्तूप दर्शनका लागि लगिएको भन्ने वर्णन पाइन्छ । सो स्थल कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्धसँग सम्बन्धित यिनै स्तूप हुनुपर्दछ । तत्कालीन समाजलाई यी दुई बुद्धका स्थलहरुबारे थाहा थियो । गौतम बुद्धले ‘बुद्धवंश’मा वर्णन गरेअनुसार क्षेमाराममा क्रकुच्छन्द बुद्धको महापरिनिर्वाण भएको थियो र उनै बुद्धको नाममा निर्माण गराइएको स्तुप विशाल थियो ।
सम्राट अशोक यहाँ पुग्दा पनि यी ठाउँहरु तीर्थस्थलकै रुपमा रहेको बुझ्न गा¥हो भएन । बौद्धहरु वर्तमान बुद्धलाई मात्र नभएर अतीत बुद्धहरुलाई पनि उत्तिकै श्रद्धा व्यक्त गर्दछन् । यसैअनुसार कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्धसँग सम्बन्धित स्थलमा पनि पुगी श्रद्धा व्यक्त गर्नुका साथै स्मारकस्वरुप अशोकस्तम्भ स्तम्भन गराएको भनेर बुझ्न पनि गाह्रो परेन ।
सम्राट अशोकपछि त्यहाँ के कस्तो भयो भन्ने कुरा खुल्दैन । तर बौद्ध तीर्थस्थलहरु खोज्दै आएका चिनियाँ यात्री फाहियान श्रावस्तीबाट उत्तर–पूर्व १२ योजनको हिडाइपछि ‘न पीई किया’ पुगेका थिए । ‘न पीई किया’ भनिएको सो स्थललाई नै वर्तमान गोटिहवा भनी पहिचान गरिएको छ । यहाँ उनी पाँचौं शताब्दीमा पुगेका थिए । उनले यस स्थललाई क्रकुच्छन्द बुद्धसँग सम्बन्धित भनेर चिनाउनुका साथै दुई वटा स्तूप भएको उल्लेख गरेका छन् । तर अशोक स्तम्भ र त्यसमा रहेको अभिलेखका सम्बन्धमा उल्लेख नहुनु आश्चर्यको कुरा हो ।
चिनियाँ यात्री ह्वेन–साङ् सातौ शताब्दीमा यहाँ पुगेका थिए । उनले त्यहाँ स्तूपसँगै तीस फिट अग्लो अशोक स्तम्भ देखेका थिए । स्तम्भको शीर्ष भागमा सिंहको मूर्ति पनि देखेका थिए । सम्राट अशोकले राख्ने गरेको प्रत्येक शिलास्तमभको शीर्षभागमा विभिन्न जनावरको मूर्ति राख्ने गरेको पाइन्छ । सारनाथमा राखिएको अशोक स्तम्भमाथि पनि सिंहको सुन्दर मूर्ति थियो र हाल उक्त मूर्ति सारनाथ संग्रहालयमा देख्न पाइन्छ । चार दिशामा फर्किएका चार सिंहको यो मूर्ति वर्तमान भारतको राष्ट्रिय चिन्हको रुपमा शोभायमान छ । गोटिहवाको स्तम्भमाथिको सिंह सारनाथको जस्तै थियो वा बेग्लै, थाहा हुन सकेन । साथै, स्तम्भमा अन्यत्रजस्तै अभिलेख पनि थियो । ह्वेन–साङका अनुसार अभिलेखमा महापरिनिर्वाण स्थल भनी उल्लेख पाइन्छ ।
उत्खनन
गोटिहवास्थित क्रकुच्छन्द बुद्धसँग सम्बन्धित अशोक स्तम्भको फेदीसम्मै उत्खनन गरेर हेरिसकेको अवस्था छ । स्तम्भको चारैतिर गारो उठाई संरक्षण गरिएको थियो भने उक्त खाल्डोमा जो कोही पनि सजिल्यैसँग झर्न पनि सक्दथ्यो । साथै वर्षामा पानी जम्ने गर्दथ्यो । केही वर्षअघि सो खाल्डोलाई पुरेर स्तम्भको केही भागमात्रै देख्न पाइने गरी अरुजम्मै जमीनभित्रै गाडेर सुरक्षित बनाइएको छ ।
स्तम्भको माथिल्लो भाग त्यहीँ वरिपरि कतै हुनसक्छ वा अन्यत्र स्थानान्तरण गरिनु पनि संभव छ । यसका सम्बन्धमा विस्तृत उत्खनन तथा अध्ययनअनुसन्धान नगरी यसै भन्न सकिने अवस्था छैन । उत्खननका क्रममा स्तम्भ स्थल वरिपरि सो पाषाण स्तम्भका टुक्राहरु संकलन गरिएको थियो ।
स्तम्भको ठिक पूर्व माटोको एउटा ढिस्को देख्न पाइन्छ, वास्तवमा त्यो ढिस्को स्तूप नै हो । यो स्तूपको पनि उत्खनन् गरी अध्ययन गर्ने काम सम्पन्न भइसकेको छ ।
अन्त्यमा,
प्राचीन कपिलवस्तुको मुख्य केन्द्र भनेर जनाउ दिने अनेक स्थलहरुमा तिलौराकोटको पुरातात्विक अवशेषहरु, निग्लिहवास्थित स्तम्भ, सगरहवास्थित स्तूपलगायतका भग्नावशेषहरु, कुदान प्रसिद्ध छ । यसरी नै महत्वपूर्ण एउटा अर्को स्थल गोटिहवास्थित यो अशोक स्तम्भ र यहाँस्थित स्तूप पनि हो । बुद्ध र बौद्ध धर्मदर्शनका साथै इतिहास र संस्कृतिको ज्ञान प्रसारमा यी कुराहरु कोशेढुंगा जस्तै भइरहेको छ ।