कनकमुनि बुद्धको जन्मस्थल : शोभावती नगर

बसन्त महर्जन
बौद्ध वाङमयमा कनकमुनि बुद्धको राम्रो वर्णन पाइन्छ । यसअनुुसार गौतम बुद्धअघि कश्यप बुद्ध, त्यसअघि क्रकुच्छन्द बुद्ध र उनीभन्दा अघि कनकमुनि बुुद्धको समय हो । उनी एउटा ब्राम्हण कुलमा जन्मेका थिए । पिता यज्ञदत्त र माता उत्तराको पुत्र उनी शोभावती नगरमा जन्मेका हुन् भन्ने उल्लेख सिंहली ग्रन्थहरुमा पनि पाइएको छ ।

कनकमुनि बुद्धको जन्मस्थलको पहिचान
कनकमुनि बुद्धको जन्मस्थल शोभावती नगरको वर्तमान अवस्थिति जनाउने ऐतिहासिक प्रमाणको रुपमा अभिलेखसहित अशोकस्तम्भ रहेको छ । यो स्तम्भ वर्तमान नेपालको तराई क्षेत्रको कपिलवस्नु जिल्लाको सदरमुकाम तौलिहवादेखि ७–८ कि. मि. उत्तरमा पर्ने निग्लिहवा गाउँमा अहिले पनि सुरक्षित नै छ ।

बसन्त महर्जन

बौद्ध साहित्यमा मौर्य सम्राट अशोकको लुुम्विनी यात्रा प्रसिद्ध छ । ई.पू. २५० मा आफ्नो राज्यारोहणको बीस वर्ष प्ुगेको अवसरमा उनले लुम्विनी यात्रा गरेका थिए । यात्राका क्रममा उनले बुद्धसँग सम्वन्धि स्थलहरुमा चिन्हस्वरुप स्तम्भहरु पनि गाडेका थिए । अशोकको यही स्तम्भ र त्यसमा रहेको अभिलेखको आधारमा गौतम बुद्धको जन्म लुम्विनीमा भएको भनी ठोकुवा गर्न सकिएको हो । निग्लिहवास्थित अशोक स्तम्भमा सम्राट अशोकले ब्राम्ही लिपि र पालि भाषामा अभिलेख कुँद्न लगाएका थिए । उक्त अभिलेखलाई देवनागरी लिपिमा रुपान्तरण गर्दा ‘देवानं पियेन पियदसिन लाजिन चोदसवसा (भिसि) तेन बुधस कोनाकमनस थुबे दुतियं वदिसे (वीसतिव) साभिसितेन च अतनं आग्राच महीयिते (सिलाथुबे) च उस पापिते’ हुन आएको छ । चार पंक्तिको उक्त अभिलेखमा पहिलो पंक्तिको अन्तिम अक्षर क्षयग्रष्ट भए पनि ‘तेन’ शब्दको आधा त अक्षरको ‘त् ’ र आधा न अक्षरको ‘न् ’ भने प्रष्ट देखिन्छ । तेस्रो पंक्तिको पहिलो शब्द पनि त्यसरी नै क्षयग्रष्ट भएपनि ब्राम्ही लिपिको प्रकृतिअनुसार अनुमान गरी पढ्ने गरिएको छ । यही क्षतिग्रष्टताको कारण अभिलेखकोे अनुवादका मतभेद देखा परेको छ । एक थरीले यसरी अर्थ गरेका छन्– ‘देवताहरुका प्यारा राजा प्रियदर्शी (अशोक) ले कनकमुनि बुद्धको जन्म स्तूपको दुई पटक मर्मत गरी राज्याभिषेक भएको वीस वर्षपछि आएर पूजा गरियो र विशाल स्तम्भ खडा गरियो ।’ राजा अशोकको लुम्विनी यात्रा इ.पूं २५० मा भएको थियो अर्थात सो स्तम्भ पनि उही बेला स्थापना गरिएको हो । कसैकसैका अनुसार अशोक दुई पल्ट कनकमुनिको जन्मस्थलमा आएको नभई राज्यारोहणको चौंधौं वर्षगाथको अवसरमा आफ्ना मान्छेहरुमात्र पठाई त्यहाँ भएको स्तूपलाई ढाक्ने गरी दोब्बर ठूलो आकारमा निर्माण गर्न लगाएका थिए र पछि पुनः आफ्नो राज्याभिषेकको वीसौं वर्षगाथका अवसरमा धर्मगुरु उपगुप्तका साथ लुम्विनी आएको र त्यसै बेला कनकमुनि बुद्धको जन्म स्मारकको रुपमा रहेको स्तूपको दर्शन गरी शिला स्तम्भ पनि खडा गरेरको धारणा राख्दछन् । तत्कालिन समयको राजनीतिक भूगोलअनुसार सो क्षेत्र सम्राट अशोकको विशाल साम्राज्यभित्र नै पर्दथ्यो ।

अशोक स्तम्भको अभिलेखमा स्तूपको उल्लेख आएको । उक्त अभिलेखमा स्तूप उल्लेख हुनुले स्तूपको ऐतिहासिक परम्परा निकै लामो भएको जनाउँछ । गौतम बुद्ध स्वयंले पनि ठाउँ ठाउँमा स्तूप उल्लेख गरेका छन् भने उनीभन्दा अघिल्ला बुद्धको नाममा रहेको स्तूप निकै समय पछिसम्म रहेको यस अभिलेखबाट बुझिन्छ । हाल यो स्तूपको नामो निशान छैन ।

निग्लिहवाको अशोक स्तम्भ पत्ता लगाउने तथा त्यसको अभिलेख उतार गरेर अनुवाद गराउने श्रय डा. फुहररलाई जान्छ । यस सम्वन्धी उनले लेखेको रिपोर्टमा स्तम्भ नजिकै केही यस्ता सामग्रीहरु पनि देखेका थिए जसलाई स्तूपको भग्नावशेष भन्न सकिन्थ्यो । सामान्य उत्खनन्बाट थाहा भएअनुसार स्तूपको परिधि एक सय नौ फिट र ६ फिट उचाइ हुनु पर्ने अनुमान गरिएको छ । प्रयोग गरिएको इँटको नापो १६ ह् ११ ह् १३ भएको रहेको पाइयो ।

डा. फुहररले कुन स्तूप पाएका थिए र उनले भेटाएको इँटा पनि कुन थियो भनेर विचार गर्नु पर्छ । स्तम्भ लेखअनुसार सम्राट अशोकले त्यहाँ रहेको कनकमुनि बुद्धको स्तूपलाई त्यसको दोब्बर आकारमा अर्को नयाँ स्तूप बनाई छोपिदिएको थियो । अघिल्लो स्तूपको निर्माण मौर्य कालभन्दा निकै पहिले भएको कुरा त स्तम्भ लेखबाट नै स्पष्ट भएको छ ।

कनकमुनि बुद्धको जन्मस्थल भनेर चिनियाँ यात्रीद्वय व्हेनसाङ् र फाहियानले पनि आफ्ना यात्रा वृत्तान्तहरुमा उल्लेख गरेका छन् । हालको निग्लिहवामा पुग्दा उनीहरुले सो स्थानमा पुग्दासम्म पनि अशोक स्तम्भका साथसाथै स्तूप देखेका थिए । कर्णाली प्रदेशका खस मल्ल राजा रिपु मल्ल पनि लुम्विनी यात्रामा आएका थिए भन्ने एउटा प्रमाण यो अशोक स्तम्भ रहेको छ । स्तम्भमा उनले प्रचलित नेपाल लिपिमा ‘श्री रिपु मल्लस्य चिरंजयतुु १२३४’ भनेर कुँद्न लगाएको छन् । यसरी नै तिब्बती लिपिमा ‘ॐमणि पद्मे हुँ’ र मयूरको चित्र पनि कुँडिएको छ तर यी कुनै पनि कुराले कनकमुनि बुद्धका बारेमा केही पनि अर्थ राख्दैन ।

स्मारकको वर्तमान अवस्था
कनकमुनि बुद्ध पनि नेपालमा नै जन्मेका थिए भनी प्रमाणित गर्ने आधार रहेको निग्लिहवास्थित अशोक स्तम्भको आवश्यक संरक्षण गर्ने काममा लुम्विनी विकास कोषले गंभीर भएर ध्यान दिएको पाइँदैन । वि.सं. २०५७ सालको माघ महिनामा स्थानीय एक व्यक्तिले सो स्तम्भमा रोमन लिपिमा आफ्नो नाउँ कुँद्न खोेजेको थियो । उक्त युवकको मनसाय स्तम्भलाई हानी नै पु¥याउने नहुनसक्छ र अन्यत्रका भित्ता वा ढुंगाभन्दा अरु रुपमा यसलाई सोच्न नसकेर पुरातात्विक सम्पदामा अनभिज्ञतावश यस्तो भएको होला । तर त्यस घटनापछि पनि लुम्विनी विकास कोषले यसलाई त्यत्ति ठूलो कुराको रुपमा लिएन । सो घटनाको बारेमा मैले जानकारी दिएपछि मात्रै कोषका तत्कालीन उपाध्यक्ष ओमकारप्रसाद गौचनलाई थाहा भयो । कारवाहीका लागि भनेर त्यस व्यक्तिलाई पक्रेर नसिहत दिई छाडिएको थियो । स्तम्भमा अक्षर कुँद्नु मात्रले पनि पुरातत्वमाथि असर परिसकेको थियो भनेसो रोमन लिपिलाई मेट्ने हेतुल ती युवकले थप नोक्सान पु¥याउने काम पनि भयो । कोषले यसलाई कुनै महत्व दिएन । हुन त त्यति बेला उक्त स्तम्भको सुरक्षार्थ दुई जना सुरक्षाकर्मीको व्यवस्था थियो । तरपनि यस्तो घटना हुनुु भनेको पुुरातात्विक महत्वको स्थलबारे न लुम्बिनी विकास कोष सम्बेदनशील हुनसक्यो न त सुरक्षाकर्मीहरुलाई नै सजग पार्न सक्यो । अशोक स्तम्भलाई घामपानीबाट जोगाउन हाल तहराको निर्माण गरी भित्र राखिएको छ ।

कनकमुनि बुद्धको स्तूपको दर्शन
गौतम बुद्धको जन्मको केही दिनपछि उनका पिता सुद्धोदनले उनलाई स्तूप दर्शनका लागि लगिएको वर्णन ललितविस्तुसूत्रमा पाइन्छ । सो स्तूप संभवतः कनकमुनि बुद्धको नाममा निर्मित हुनु पर्दछ । यस कुराको आधार यो स्थल तिरौराकोटबाट नजिकै पर्दछ । तसर्थ बोधिसत्व सिद्धार्थले बोधिज्ञान प्राप्त गरेर गौतम बुद्धको रुपमा चिनिनुभन्दा अघिदेखि नै कनकमुनि बुद्धको स्तूप रहेको देखिन्छ ।

बुद्ध धर्ममा बुद्ध शासन भन्ने कुरा हुन्छ र संसारमा यो शासन कहिल्यै पनि खाली हुँदैन भन्ने विश्वास गरिन्छ । हालको समयलाई गौतम बुद्धको शासन मानिन्छ भने त्यसभन्दा अघि अर्कै बुद्धको शासन थियो । जुन बेलामा जसको शासन थियो उसैको नाममा स्तूप बनाउने गरिन्छ । निग्लिहवाको हाल हराइसकेको कनकमुनि बुद्धको स्तुप पनि गौतम बुद्धभन्दा अघि निर्मित स्तूप भन्ने बुझिन्छ । सम्राट अशोकले आफ्नो राज्याभिषेकको चौधौं वर्षगाथमा मर्मत गरी दोब्बर गर्न लगाएजस्तै यसअघि पनि मर्मत संभार हुँदै आइरहेको हुनु पर्छ ।

निष्कर्श
निग्लिहवास्थित कनकमुनि बुद्धको वर्णन गरिएको अशोक स्तम्भ र सो स्थलको महत्व कनकमुनि बुद्धमा मात्रै सीमित हुने कुरा होइन । यसको अवस्थितिले गौतम बुद्धसँग सम्वन्धित धेरै स्थलहरुको खोजी गर्न महत्वपूर्ण आधारहरु हुनुका साथै धेरै कुराको खण्डन गर्न पनि सहायकसिद्ध हुन्छ । यससँगै निग्लिसागर रहेको छ भने केही दूरीमा नै प्राचिन कपिलवस्तु दरवारको भग्नावशेष, क्रकुच्छन्द बुद्धसँग सम्बन्धित स्थल गोटिहवा, राजा विरुद्धकले गौतम बुद्धका आफन्तहरुको बध गरेको स्थल भनिने सगरहवा, मानव निर्मित जगदीशपुर ताललगायत अन्य ऐतिहासिक तथा प्राकृतिक महत्वका ठाउँहरुलाई उचित संरक्षण दिई पर्यटकीय स्थलको रुपमा समग्र क्षेत्रको विकास गर्न सकिन्छ । विश्वभरका बौद्धहरु गौतम बुद्धभन्दा अघिका बुद्धहरुका बारेमा पनि आस्था राख्दछन र गौतम बुद्धको जन्मस्थल लुम्विनीको दर्शन गर्न आउने श्रद्धालुहरुको लागि कनकमुनि बुद्धप्रति पनि उत्तिकै श्रद्धा हुन्छ ।

Share

Related posts

One Thought to “कनकमुनि बुद्धको जन्मस्थल : शोभावती नगर”