जसले २५ वर्षदेखि बुद्धको मात्रै मूर्ति बनाए

नाम बुद्ध चौधरी, घर लुम्बिनी । उमेर ४० वर्ष, मूर्तिकलामा २५ वर्षदेखिको अनुभव । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा १०५ मूर्तिकारमा छानिएर १० विदेशीसहित १५ नेपालीमध्येका एक मूर्तिकार हुन् बुद्ध चौधरी ।

बुद्ध चौधरीको नाम र भगवान् गौतमबुद्धको सामिप्य चौधरीको जन्मदेखि नै भयो । लुम्बिनीमा जन्मेका चौधरी सानैदेखि मूर्तिकलामा पोख्त थिए । उनले शुरुदेखि नै गौतम बुद्ध र बुद्धसँग सम्बन्धित अन्य मूर्ति निर्माण गर्दै आएका छन् । उनी जहाँ जान्छन् बुद्धकै मूर्ति कुँद्छन् । तर थोरै फरक शैलीमा केही कलात्मक मिश्रण गरेर ।

गलकोटको टेउवामा उनले सात फिट अग्लो ढुङ्गामा धर्म चक्रसहितको बुद्धको मूर्ति १५ दिनमा तयार पारे । “मेरो नाम सानैमा बाबा आमाले बुद्ध राख्नुभएछ मेरो काम पनि बुद्धको मूर्ति कुद्ने नै हो”, चौधरीले भन्छन्, “यहाँको मूर्तिमा बुद्धको पछाडि धर्म चक्र बनाएको छु, धर्मचक्रले बुद्धका आठ उपदेशलाई मान्नु पर्दछ भन्ने सन्देश दिनेछ ।”

धेरै देशमा मूर्तिकलासम्बन्धी कार्यशालामा सहभागी हुँदा बुद्धकै मूर्ति निर्माण गरेको भन्दै चौधरीले गलकोटको यो प्रकृतिले वरदान दिएको जस्तो स्थान टेउवा बुद्ध भगवान् ठडाउन पाउँदा खुशी लागेको बताए । समाजमा शान्ति स्थापनाका लागि कलामार्फत सन्देश दिनका लागि गौतम बुद्धको मूर्ति निर्माण गर्दै आएको चौधरीको भनाइ छ ।

विसं २०७३ मा स्थापना भएको गलकोट कला–प्रतिष्ठानले टेउवामा निर्माण थालिएको खुला सङ्ग्रहालय निर्माण स्थलमा भइरहेको मूर्तिकला कार्यशाला अवलोकनका लागि दैनिक एक हजारदेखि एक हजार ५०० आन्तरिक पर्यटक आउन थालेका हुन् । कार्यशालामा जापानबाट जुन इचिरो सुगीमोतो, चीनबाट लिउ याङ्, इटालीबाट बिटिनो फ्रान्सेनी, फ्रान्सबाट जिवियर्स गोँजालेज, ताइवाबाट लिन लि जेन, क्यानडाबाट जुली ग्ल्यास्पी, भारतबाट टुटु पटानायक, इजरायलबाट तान्या प्रिमिङ्गर, ब्राजिलबाट जर्ज लुइज र युक्रेनबाट मूर्तिकार ल्युड्मेलले कार्यशालामा डुङ्गालाई कुँदेर कलात्मक मूर्ति तयार पारेका छन् । कार्यशालामा नेपालबाट मूर्तिकार चौधरीसहित, ओम खत्री, राजन काफ्ले र राजु पिथाकोटे सहभागी भएका छन् ।

Share

Related posts