काग्यू हिमाली (तिब्बती) बौद्ध धर्मका चार प्रमुख परम्परामध्ये एक महत्वपूर्ण परम्परा हो । जसलाई “मौखिक परम्परा” वा “गुरुदेखि शिष्यसम्म प्रत्यक्ष रूपमा हस्तान्तरण हुने शिक्षा” को परम्परा भनेर चिनिन्छ । यसको इतिहास ११औँ शताब्दीसम्म पुग्छ र यो परम्परा महायोगी नारोपा र तिलोपाबाट शुरु भई तिब्बती अनुवादक मारपा लोचवामार्फत् तिब्बतमा फैलिएको मानिन्छ ।
काग्यु परम्पराका सबैभन्दा प्रसिद्ध गुरु मिलारेपा मानिन्छन् । कठोर ध्यान साधना, त्याग र आध्यात्मिक उपलब्धिका कारण मिलारेपाको नाम आज पनि बौद्ध जगतमा सम्मानपूर्वक लिइन्छ । उनका शिष्य गम्पोपाले काग्यु शिक्षालाई व्यवस्थित गर्दै विभिन्न शाखाहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
धार्मिक विद्वानहरूका अनुसार काग्यु परम्पराले विशेष गरी “महामुद्रा” ध्यान पद्धति र गहिरो आध्यात्मिक अभ्यासलाई प्राथमिकता दिन्छ । यस परम्पराको मुख्य उद्देश्य मानिसलाई आफ्नो चेतनाको वास्तविक स्वरूप अनुभूति गराउनु र करुणा, प्रज्ञा तथा आत्मिक विकासतर्फ उन्मुख गराउनु हो ।
काग्यु परम्पराबाट विकसित भएका विभिन्न शाखामध्ये कर्मा काग्यू, ड्रिकुङ काग्यू र ड्रुक्पा काग्यू लिजेन आज पनि सक्रिय रूपमा अभ्यास गरिने प्रमुख परम्परा मानिन्छन् । विशेषगरी कर्मा काग्यु शाखाको नेतृत्व परम्परागत रूपमा कर्मापाहरूले गर्दै आएका छन् ।
नेपालका हिमाली क्षेत्र, विशेषगरी शेर्पा, तामाङ तथा अन्य बौद्ध समुदायमा काग्यु परम्पराको प्रभाव उल्लेखनीय छ । विभिन्न गुम्बा, ध्यान केन्द्र तथा धार्मिक संस्थामार्फत यस परम्पराका शिक्षा, साधना र सांस्कृतिक गतिविधि निरन्तर सञ्चालन हुँदै आएका छन् ।
बौद्ध धर्म गुरुहरुका अनुसार आधुनिक जीवनको व्यस्तता र तनावबीच काग्यु परम्पराले ध्यान, आत्मअनुशासन र करुणाको अभ्यासमार्फत शान्तिपूर्ण जीवनयापनको सन्देश दिँदै आएको छ । यही कारणले शताब्दीयौँ पुरानो यो परम्परा आज पनि विश्वभरका साधक र अनुसन्धानकर्ताको आकर्षणको केन्द्र बनेको छ ।


