सडक विभागले चक्रपथ विस्तारको दोस्रो चरणमा स्वयम्भू क्षेत्रको बुद्धपार्कभित्र रहेका केही बौद्ध धार्मिक सम्पदा भत्काउन लागेको भन्दै बौद्ध धर्मावलम्वी आक्रोशित बनेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै सम्पदा भत्काउने कार्य विरुद्ध आन्दोलन गर्न स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔ अभियान गठन गरिएको समेत जानकारी दिइयो । आचार्य नुर्बु शेर्पाको संयोजकत्वमा मंसिर ५ गते बौद्ध धर्म सम्बन्धित विभिन्न धार्मिक संगठनको उपस्थितिमा स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियान गठन गरिएको हो ।
कलंकीदेखि चावहिलसम्मको सडक विस्तारको क्रममा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुप (साङ्गे तोङ्कु) समेत भत्काउन लागिएको संयोजक शेर्पाले बताए । सरकारको यस किशिमको गतिविधिले बौद्धमार्गी तथा धार्मिक सम्पदाप्रेमीको भावनामा गम्भिर चोट पुगेको संयोजक शेर्पाको भनाई छ । यस्ता कार्यले बुद्ध जन्मभूमिबाट बाहिरी विश्वमा नकरात्मक सन्देश जाने उनको जिकिर छ ।
विकासको गतिलाई अवरुद्ध नपारी र धार्मिक सम्पदाको समेत जगेर्ना हुने गरी सडक विस्तार गर्ने विकल्प भएपनि त्यसलाई नजरअन्दाज गरिएको आरोप अभियानमा संलग्न बौद्धमार्गीले लगाएका छन् । त्यसैले सरकारले सम्पदा भत्काउने कार्यलाई अविलम्ब रोक्नु पर्ने माग उनीहरुको रहेको छ ।
आफुहरुको मागलाई वेवास्ता गरिएका चरणबद्धरुपमा शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरुको रहेको छ । आफ्ना आन्दोलनका कार्यक्रमहरुको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक गरिएको छ । जस अनुसार मंसिर मसान्तसम्मा प्रधानमन्त्री, सस्कृति मन्त्री भौतिक पूर्वाधार मन्त्री, सडक विभाग, महानगरपालिका, पुरातत्व विभाग, यूनेस्को लगायतलाई ज्ञापन पत्र बुझाउने संयोजक शेर्पाले बताए ।
यस बाहेक मंसिर मसान्तसम्म विभिन्न चेतनामूलक कार्यक्रम, बौद्ध र स्वयम्भूमा हस्ताक्षर संकलन, दीप प्रज्ज्वलन, मौन र्याली लगायतका विरोधका कार्यक्रम रहेका छन् ।





