बसन्त महर्जन
पशुपति आर्यघाटबाट उत्तर वाग्मती नदीको विपरित दिशामा अघि बढ्न हिजोआज बायाँ किनारमा बाटो बनेको छ । अलि अगाडि बढेपछि दुई वटा गुफा भेटिन्छ । निकै खोंचमा रहेको यो ठाउँसम्म पुग्न कैलाश पर्वतबाट सानो खुड्किलाहरु पनि बनेका छन् । यहाँ पुग्ने अर्को बाटो भनेको गौरीघाटबाट दायाँ किनारा लागेर अलि तल झर्ने हो । अलि एकान्त र मान्छेको चहल पहल पनि उस्तो नहुँदा दिउँसै अँध्यारोजस्तो वा कहाली लाग्दो वातावरण पाइन्छ । लागू पदार्थ सेवन गर्ने कुलतमा फसेका युवाहरुको अखडा भएकाले जो कोही सज्जनहरु प्रायः यतातिर जाँदैनन् । तर यहाँ रहेका दुई गुफा साधारण होइनन् । प्रसिद्ध बज्रयानी गुरु तिलोपा (९८८–१०६९ इ.) र शिष्य नारोपासँग सम्बन्धित भएका कारण तिब्बती बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थल हु्न् । यिनै गुरु–शिष्य परम्परामा लोचवा मार्पा (१०१२–१०९७ इ.) ले अपूर्व ज्ञान हासिल गरेका थिए र तिब्बतमा फर्केर बौद्ध धर्मको विकास गर्ने क्रममा काग्यूपा सम्प्रदायको उदय भयो ।
तिलोपाको सुुरुवाती जीवनका बारेमा त्यति धेरै कुरा जानिन्न । तर वंगालको चित्तगाउँ वा जगोरा भन्ने दुुईमध्ये एक गाउँका यिनी निवासी थिए । उनको जन्म ब्राह्मण समुदायको पुुजारी घरमा भएको भन्ने एक मत पाइन्छ भने कोही यसभन्दा विपरित राजघरानासँग सम्बन्धित रहेको पनि धारणा राख्दछन् । ब्राह्मण पुुजारी वा राजकीय परिवार, जुनसुकै भएपछि उनी बज्रयानी बौद्ध धर्मतिर आकर्षित भए । उनी गृहस्थी जीवन त्यागेर भिक्षु जीवनमा प्रवेश गरे । तत्कालीन बंगाल बज्रयान बौद्ध धर्मका लागि एउटा केन्द्र थियो । र स्वभावतः तिलोपाको अभ्यास पनि बज्रयानी बौद्ध धर्मतिर नै रह्यो ।

तिलोपाले भारतका विभिन्न ठाउँहरुकोल भ्रमण गरी तन्त्रसँग सम्बन्धित अनेक विद्या हासिल गरेका थिए । यस क्रममा चण्डालीयोग (तुमो), माया देह (ग्युुलुु), चक्रसंवरतन्त्र, लघुसंभर, हेरुक, प्रभाश्वर आदि तन्त्रमाथि दखल गरे । अनुुत्तरयोगतन्त्र र महामुुद्रा पनि हासिल गरेका थिए । अभ्यासकै क्रममा नेपालको पशुपति क्षेत्र आई पशुपतिनाथ मन्दिरभन्दा उत्तर वाग्मती नदीको किनारमा रहेको गुफामा ध्यान गरेका थिए र सिद्धत्व यही स्थलमा पाएका थिए । यही गुफा क्षेत्रमा शिष्य नारोपालाई उनले शिष्यत्व ग्रहण गरेका थिए ।
नारोपाको गृहस्थ नाम अभयकीर्ति थियो । संस्कृत नारोपाद नै पारोपा हो । उनी पनि बंगालकै एक ब्राह्मण कुलमा जन्मेका थिए । परिवारले बीस वर्षको उमेरमा उनको विवाह एक ब्राह्मण कन्यासँग गरिदिएको थियो र आठवर्षसम्म वैवाहिक जीवन बिताएर अन्ततः आपसमा सल्लाह गरी वैवाहिक सम्बन्ध तोडेर नारोपा प्रब्रजित भई बौद्ध भिक्षु बने । अध्ययनका लागि उनी नालन्दा विश्वविद्यालयमा प्रवेश गरे । यहाँ उनले सूत्र र तन्त्र दुुबैको गहन अध्ययन गरे । गहन अध्ययनको फलस्वरुप उनले गम्भीर विद्वानका रुपमा पनि प्रसिद्धि हासिल गरे । पछि नालन्दा विश्वविद्यालयको उत्तरी ढोकाको द्वारपालका रुपमा नियुक्त भए । त्यति बेला नालन्दा विश्वविद्यालय भारतमा मात्रै नभएर टाढा टाढासम्म पनि प्रतिष्ठित शैक्षिक केँन्द्र थियो र विद्यार्थीहरुलाई यहाँ प्रवेश पाउन अत्यन्तै कठिन परीक्षाबाट गुुज्रनु पर्दथ्यो । प्रवेशका लागि परीक्षा दिने काम द्वारपालका रुपमा नियुक्त भएका उच्चतम् विद्वानहरुबाट हुन्थ्यो । तिनै उच्चतम् विद्वानमा एक नारोपा थिए ।
तिब्बती भाषामा रहेको नारोपाको नामथर (जीवनीग्रन्थ) अनुसार उनी एक दिन नालन्दा विश्वविद्यालयमा पढिरहेका थिए र त्यही बेला अचानक एक डाकिनी देखा परिन् । डाकिनीले तिमीलाई बौद्ध धर्मबारे थाहा छ भनेर प्रश्न गर्छन् । नारोपाले स्वभावतः थाहा भएको र त्यसको अर्थ पनि बुुझेको जवाफ दिए । यो सुुनेर डाकिनी सुुरुमा खुसी भइन् र पछि दुुःखी पनि । गहभरि आँसु पारेर डाकिनीले नारोपा ठूलो विद्वान त हो तर झुुठो बोलेको भन्ने आक्षेप रह्यो । उनका अनुसार त्यति बेला बौद्ध धर्म बुुझ्ने तिलोपा मात्रै हुन् । तिलोपाको नाम सुुन्ने बित्तिकै नारोपामा अपार श्रद्धा जाग्यो र उत्तिनै खेर भेट्न आतुर भइहाले । उनले नालन्दाको प्रतिष्ठित पदबाट तत्कालै राजीनामा दिएर तिलोपाको खोजीमा हिडे । तिलोपालाई पशुपति क्षेत्रमा भेटे र उनलाई गुुरु थापना गरे । गुुरुले आफूसँग भएको ज्ञान शिष्यमा हस्तान्तरण गरे । यस प्रकार नारोपा तिलोपासँग बा¥ह वर्षसम्म सँगै बसेर अध्ययन गरे र सिद्धत्व पनि हासिल गरे । पछि भारतको फुल्लाहरीमा गएर बसेका नारोपाको मृत्यु ८५ वर्षको उमेरमा भयो ।
तिब्बती बौद्ध धर्ममा प्रभावपूूर्ण सम्प्रदायहरुमा एउटा काग्यू पनि हो । काग्यू सम्प्रदायको सम्बन्ध लोचाबा मार्पासँग रहेको । कलिलो उमेरमा नै बौद्ध धर्मको अध्ययनमा लागेका उनको स्मरणशक्ति अद्भूत खालको थियो । उनले तिब्बतमा नै धेरै गुुरुसँग विद्या अध्ययन गरेका थिए । युवा वयमा उनी काठमाडौं उपत्यका आए, थप अध्ययनका लागि । केही वर्षको अध्ययनपछि काठमाडौंका गुुरुहरुबाट थप अध्ययनका लागि फुलहारीमा गुुरु नारोपाकहाँ पठाइए । उनले सुरुमा नारोपासँग हेबज्रको ज्ञान हासिल गरे । न्यो नामको तिब्बती साथीले गुह्यसमाज’ सिक्न उक्साएपछि नारोपाले यसका लागि ज्ञानगर्भ कहाँ पठाए । फेरि महामाया पढ्न उक्साएपछि उनलाई शान्तिभद्र कहाँ पठाइए । पछि मैत्रीपासँग पनि सिक्न गए । तर उनको प्रमुख गुुरुका रुपमा नारोपालाई नै मानिन्छ । नारोपाबाट उनले चण्डाली योग, प्रभाश्वर योग, स्वप्न योग, अन्तराभव योग, मायाकाय, उत्क्रान्ति योग आदि सिकेका थिए । उनको योगदान तिब्बती वाङ्मयमा बौद्ध ग्रन्थहरुलाई तिब्बती भाषामा अनुवाद गर्ने कार्यमा रह्यो र त्यसैले लोचावा मार्पा नामबाट प्रसिद्ध भए अर्थात्, अनुवादक मार्पा । मार्पाका पनि एक होनहार शिष्य भए, मिलारेपा । यस प्रकार यो गुरुकुलमा काग्यूपा र काग्यूपाअन्तर्गत पनि अनेकौं उपसम्प्रदायहरुको विकास भयो ।

गुरु–शिष्य तिलोपा र नारोपाबाट थाहा भयो, यिनी दुुई प्रसिद्ध बौद्ध विद्वान्को नेपालसँग गहिरो सम्बन्ध रहेछ । उनीहरु केही समयको भ्रमणका लागि मात्रै नेपाल आएको नभएर वर्षौंसम्म साधना गर्नुका साथै यहाँबाट सिद्धि नै प्राप्त गरेर फर्केका हुन् । यसअनुसार पशुपति क्षेत्रको यी दुुई गुफा तिब्बती बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थ बनेको छ ।
आफ्नो गुुरु र गुुरुको गुरु लामो समयसम्म सँगै बसेर साधना गरी सिद्धि प्राप्त गरेको ठाउँमा लोचबा मार्पा अवश्य पनि पुुगेको हुनुुपर्छ । पटक पटक गरी चार पटक काठमाडौं पुगेका उनी स्थानीय जनतासँग नेवार भाषामा नै कुरा गर्दथे भनेसमाजसँग राम्रो घुलमिल थियो । उनका शिष्य मिलारेपा साधनाका क्रममा अनेक ठाउँ घुम्दै भक्तपुरको सुडालस्थित महामञ्जुश्री गुफामा ध्यान बसेको विवरण छ । भक्तपुरसम्म पुुग्ने उनी पशुपति पुुगेनन् होला र ? मिलारेपाको पदचाप पछ्याउँदै हिड्नेहरुका लागि पशुपतिका यी दुुई गुफा पनि कम्तीका तीर्थस्थल होइनन् । यहाँ अहिले दुुबै गुफाको राम्रो संरक्षण भएको छ । बेला बेलामा तिब्बती बौद्धहरु आउने भएकाले बौद्ध वातावरण देख्न पाइन्छ । साथै गुफामा गुुरुहरुको मूर्ति पनि स्थापित छन् ।
तन्त्र साधनाको क्रममा बौद्ध र शैव अभ्यासीहरु बीच राम्रा सम्बन्ध थियो र यस क्रममा कतिपय कुराहरु समन्वय पनि हुन गएको पाइन्छ । तन्त्रको इतिहास हेर्दा यो समन्वयबाट शैव र बौद्ध दुुबै सम्प्रदायले मनग्य फाइदा लिएको देखिन्छ । बज्रयान बौद्ध धर्मको विकास यसको राम्रो उदाहरण हो । यही परम्पराअनुसार तिलोपा र नारोपाले पशुपति क्षेत्रमा सिद्धि प्राप्त गरेका थिए । यो पशुपति क्षेत्रकै गौरवको कुरा हो । तर पशुपति क्षेत्रमा इतिहासको त्यो गौरवमय कुरालाई बिर्सन खोजेको देखिन्छ । यस क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक जानकारी दिने सामान्यदेखि शोधग्रन्थहरुमा समेत तिपोपा र नारोपाजस्ता महासिद्धहरुको उल्लेख प्रायः हुँदैन । सम्बन्धित दुुई वटा गुफाको भौतिक उपस्थिति हुँदाहुँदै र श्रद्धालु बौद्ध धर्मावलम्बीहरु यहाँ आउँदा आउँदै पनि यसका बारेमा उल्लेख नगरिनु ताज्जुुबको विषय हो ।



