प्राचीन कपिलवस्तुका बुद्धकालीन पुरातात्विक क्षेत्रहरुको संरक्षण र विकासका लागि प्रदेश सरकारले विशेष चासो राखेको प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले शनिबार कपिलवस्तु जिल्लाका पुरातात्विक स्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीहरुसामु संक्षिप्त प्रतिक्रिया दिँदै प्राचीन कपिलवस्तु क्षेत्र प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने र यसका लागि प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको बताएका हुन् ।
मुख्यमन्त्री पोखरेलले शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्ना माता पितालाई भेट गरेको स्थान कुदान, क्रक्छन्द बुद्धको जन्मस्थल गोटिहवा, नेपालकै ठूलो शिवलिंग रहेको ताम्रेश्वर महादेवको मन्दिर लगायतका पुरातात्विक तथा धार्मिक स्थलहरुको अवलोकन गरेका थिए ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कपिलवस्तुका पुरातात्विक, पर्यटकीय तथा धार्मिक स्थलको विकासका लागि विशेष कार्यक्रम सञ्चालन हुने बताए ।
कपिलवस्तुमा बुद्धसँग सम्बन्धित १ सयभन्दा बढी पुरातात्विक स्थलहरु, विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल लगायतका पुरातात्विक तथा पर्यकटकीय स्थलहरु रहेका छन् ।

