दक्षिण कोरियामा बौद्ध सम्पदा समेटेर २८ किलोमिटर लामो ऐतिहासिक तथा सांस्कृतिक पदमार्ग बनाइँदै

२५ कार्तिक काठमाडौं: दक्षिण कोरियाको ग्योङ्गी प्रान्तस्थित ग्वाङ्जु नगरले बौद्ध इतिहास, सांस्कृतिक सम्पदा तथा प्राकृतिक आकर्षणलाई समेटेर ऐतिहासिक तथा सांस्कृतिक पदमार्ग निर्माण गर्ने योजना अघि बढाएको छ । स्थानीय नागरिक तथा पर्यटकलाई लक्षित गरी विकास गर्न लागिएको उक्त पदमार्गमा ऐतिहासिक स्थल, धार्मिक सम्पदा र प्राकृतिक क्षेत्रलाई एकीकृत गरिनेछ । यस विषयमा नगर प्रशासनले स्थानीय बौद्ध समुदायसँग छलफल गर्दै सुझाव तथा सहयोगका सम्भावनाबारे परामर्श गरेको छ ।

नगर प्रशासनले गत अक्टोबर १३ मा कोरियाली बौद्ध धर्मको जोग्ये सम्प्रदायको केन्द्रीय कार्यालय पुगेर धर्मगुरु तथा स्थानीय बौद्ध संस्थाका प्रतिनिधिसँग परियोजनाको उद्देश्य र कार्यदिशाबारे छलफल गरेको थियो । छलफलमा ग्वाङ्जु बौद्ध विहार सङ्घका अध्यक्ष मुजिन स्वामी, उपाध्यक्ष बम्जिन स्वामी, महासचिव दोउन स्वामी तथा जाङ्ग्योङ्सा मन्दिरका सुछान स्वामीसहित बौद्ध समुदायका प्रतिनिधि सहभागी थिए । नगरका शिक्षा, संस्कृति तथा खेलकुद विभागका अधिकारीहरूले पनि परियोजनाबारे जानकारी गराएका थिए ।

प्रस्तावित पदमार्गले नामहानसान्सङ ऐतिहासिक किल्लादेखि तोइचन क्षेत्रको छोनजिनामसम्म करिब २८ किलोमिटर दूरी समेट्ने योजना छ । यस क्षेत्रमा रहेको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, प्राकृतिक दृश्य र बौद्ध इतिहासलाई पदयात्रामार्फत पर्यटकसमक्ष पुर्‍याउने लक्ष्य राखिएको छ । विशेषगरी नामहानसान्सङसँग जोडिएको रक्षात्मक बौद्ध इतिहास अर्थात् राष्ट्र र समाजको संरक्षणमा बौद्ध धर्मले खेलेको भूमिकालाई पनि पदमार्गको मुख्य विषयवस्तुमा समावेश गर्न बौद्ध समुदायले सुझाव दिएको छ ।

यसअघि सन् २०२१ मा उक्त क्षेत्रलाई क्याथोलिक तीर्थयात्रा मार्गका रूपमा विकास गर्ने प्रस्ताव आएपछि धार्मिक पक्षपातको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । त्यसपछि परियोजनाको पुनरावलोकन गरिएको थियो । अहिले भने कुनै एक धर्मविशेषलाई प्राथमिकता नदिई सबै धर्म, इतिहास, संस्कृति र प्राकृतिक सम्पदालाई समेट्ने ऐतिहासिक तथा सांस्कृतिक पदमार्गका रूपमा अघि बढाइएको छ । बौद्ध प्रतिनिधिहरूले पनि धार्मिक निष्पक्षता कायम राखेर काम अघि बढाइएमा सहयोग गर्न सकिने बताएका छन् ।

बौद्ध समुदायले परियोजना कार्यान्वयनका क्रममा निरन्तर संवाद र सहकार्यका लागि औपचारिक समन्वय समिति गठन गर्नसमेत सुझाव दिएको छ । नगर प्रशासनले विभिन्न समुदाय तथा सरोकारवालाका सुझाव समेटेर परियोजनालाई अगाडि बढाउने र पदमार्गको आधिकारिक नाम आगामी वर्षको सुरुवातसम्म तय गर्ने तयारी गरेको छ । यस योजनाले दक्षिण कोरियाको बौद्ध इतिहास तथा सांस्कृतिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटन प्रवर्द्धन र ऐतिहासिक क्षेत्रको पहिचान विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share

Related posts

Leave a Comment