२६ कार्तिक : म्यानमारको सागाइङ क्षेत्रमा जारी सैन्य द्वन्द्व र हवाई आक्रमणका कारण बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण धार्मिक पर्व कथिन चीवर दान प्रभावित भएको छ । सैन्य आक्रमणबाट गुम्बा तथा विहारहरूमा क्षति पुगेपछि त्यहाँ बसोबास गर्दै आएका भिक्षुहरू सुरक्षित स्थानको खोजीमा विहार छाड्न बाध्य भएका छन् । यसले वर्षावास पूरा गरेका भिक्षुहरूलाई चीवर तथा अन्य आवश्यक सामग्री दान गर्ने धार्मिक परम्परामा समेत अवरोध सिर्जना गरेको छ । नोभेम्बर ११ मा प्रकाशित समाचारअनुसार सागाइङ क्षेत्रमा भएका निरन्तर हवाई आक्रमण र ड्रोन हमलाका कारण यस वर्षका धेरै धार्मिक समारोह रद्द भएका छन् ।
थेरवाद बौद्ध परम्परामा कथिन चीवर दानलाई अत्यन्त महत्त्वपूर्ण पुण्यकार्यका रूपमा लिइन्छ । वर्षावास अर्थात् तीनमहिने वर्षायामीन ध्यान तथा साधना अवधि पूरा गरेपछि उपासक तथा उपासिकाले भिक्षुसङ्घलाई नयाँ चीवर, भोजन र दैनिक जीवनमा आवश्यक सामग्री दान गर्ने परम्परा नै कथिन हो । सामान्यतया असोजदेखि मङ्सिरसम्मको अवधिमा आयोजना हुने यस पर्वमा श्रद्धालुहरू विहारमा भेला भई भिक्षुहरूलाई चीवर अर्पण गर्ने, पूजा गर्ने र धर्मदेशना सुन्ने गर्छन् ।
कथिन चीवर दान समारोह सम्पन्न गर्न विनय नियम अनुसार एउटै विहारमा लगातार तीन महिना वर्षावास पूरा गरेका कम्तीमा पाँच जना भिक्षुको उपस्थिति आवश्यक हुन्छ । तर म्यानमारमा जारी द्वन्द्वका कारण भिक्षुहरू वर्षावासको अवधि पूरा नहुँदै विहार छाड्न बाध्य भएका छन् । विहारहरूमा भएका आक्रमणले भिक्षुहरूको आवास, ध्यान तथा अध्ययनस्थलसमेत ध्वस्त भएका छन् । यस्तो अवस्थामा वर्षावास पूरा भएको धार्मिक मान्यता कायम नरहने भएकाले सम्बन्धित विहारमा कथिन चीवर दान आयोजना गर्न कठिन भएको छ ।
सागाइङ क्षेत्रको चाउङ–यू नगरपालिकास्थित ताउक्याउङले गाउँमा अक्टोबर ३० मा आयोजना गर्ने तयारी गरिएको कथिन चीवर दान समारोह ड्रोन आक्रमणपछि रद्द गरिएको थियो । यसअघि अक्टोबर ७ देखि ११ सम्म श्वेबो, चाउङ–यू र मोनिवा क्षेत्रका तीनवटा बौद्ध विहारमा हवाई आक्रमण भएका थिए । ती आक्रमणमा कम्तीमा दुई सर्वसाधारणको मृत्यु हुनुका साथै नौ जना घाइते भएको विवरण सार्वजनिक भएको छ । धार्मिक गतिविधि सञ्चालन भइरहेका स्थानसमेत द्वन्द्वको चपेटामा परेपछि भिक्षु तथा श्रद्धालुहरूमा त्रास बढेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयको तथ्याङ्क उद्धृत गर्दै प्रकाशित समाचारअनुसार म्यानमारमा चार लाख होइन, ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये सागाइङ क्षेत्रबाट मात्रै १३ लाख ३५ हजारभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । द्वन्द्वका कारण धार्मिक सम्पदा, विहार, ध्यान केन्द्र र बौद्ध संस्कृतिसँग जोडिएका परम्परागत गतिविधि प्रभावित भइरहेका छन् । कथिन चीवर दानजस्तो शताब्दीयौँ पुरानो धार्मिक परम्परा प्रभावित हुनुले युद्धको असर केवल जनजीवनमा मात्र नभई धार्मिक तथा सांस्कृतिक सम्पदामा समेत परेको देखाएको छ ।

