गोरखाको उत्तरी क्षेत्र नुब्रीस्थित रो गाउँमा परमपूज्य याङ्सी टुल्कु उर्गेन रिन्पोछेको नेतृत्वमा आयोजित नौ दिने ङाँक्सो डुब्क्षेन अर्थात् महासाधना आज सोमवार सम्पन्न भएको छ । मनास्लु हिमाल नजिकै रहेको ङाग्युर पद्म छोलिङ गोन्पाको नवनिर्मित भवनको प्राणप्रतिष्ठाका लागि उक्त महासाधना आयोजना गरिएको हो ।
शेन्फेन फोटोग्राफीको फेसबुक पेजमा प्रकाशित जानकारीअनुसार, आज भोट संवत् २१५३ को आठौँ महिनाको २५औँ तिथिमा सिद्धि ग्रहणको अनुष्ठानसँगै महासाधना समापन गरिएको हो । रिन्पोछेको प्रमुख उपस्थितिमा सम्पन्न महासाधनामा भिक्षु, लामा तथा ङाँक्पाहरू सहभागी भएका थिए ।

महासाधनाको अन्तिम दिन सूर्य वरिपरि इन्द्रेणीको छत्रजस्तो दृश्य देखिएको पनि उक्त पेजले उल्लेख गरेको छ । पोस्टमा यस दृश्यलाई शिष्यको श्रद्धा र समय–प्रतिज्ञा अटुट रहँदा गुरुको करुणा र आशीर्वाद सदैव साथमा रहने भावसँग जोड्दै शुभ सङ्केतका रूपमा वर्णन गरिएको छ ।
यसअघि नुब्री जाने क्रममा रिन्पोछेले काग्युर छोएलिङ र होङसाङ फुग गोन्पा लगायत धार्मिक स्थलमा पूजा तथा प्राणप्रतिष्ठा गर्नुभएको थियो । उहाँले स्थानीय श्रद्धालुलाई दर्शन दिनुका साथै शा–ला क्षेत्रका विद्यार्थीहरूसँग पनि भेटघाट गर्नुभएको थियो ।
नुब्रीका समुदायमा बुद्ध र बुद्धशासनप्रति रहेको गहिरो श्रद्धा देखेर रिन्पोछेले प्रसन्नता व्यक्त गर्नुभएको पनि शेन्फेन फोटोग्राफीले जनाएको छ ।




