५ मंसिर, लुम्बिनी: बौद्ध धर्म तथा संस्कृतिसँग सम्बन्धित ऐतिहासिक र पुरातात्त्विक सम्पदाको वास्तविक अवस्था बुझ्ने उद्देश्यले लुम्बिनी विकास कोषकf] उपाध्यक्ष आनी छोइङ डोल्मा र उनको टोलीले लुम्बिनी क्षेत्रका विभिन्न बौद्ध सम्पदा स्थलहरूको अवलोकन गरेका छन् । अवलोकनका क्रममा टोलीले ऐतिहासिक स्थलहरूको वर्तमान अवस्था, संरक्षणको आवश्यकता र स्थानीयस्तरमा देखिएका समस्याबारे जानकारी लिने प्रयास गरेको छ ।
टोलीको भ्रमणको मुख्य उद्देश्य बौद्ध सम्पदाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई नजिकबाट बुझ्नुका साथै तिनको संरक्षण र व्यवस्थापनमा देखिएका चुनौती पहिचान गर्नु रहेको छ । लुम्बिनी केवल गौतम बुद्धको जन्मस्थल मात्र नभई विश्वभरका बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्रसमेत हो । यस क्षेत्रका पुरातात्त्विक अवशेष, प्राचीन विहार, स्तूप तथा अन्य धार्मिक संरचनाले बुद्धकालीन सभ्यता र बौद्ध दर्शनको ऐतिहासिक विकासलाई प्रतिबिम्बित गर्छन् ।
लुम्बिनी विकास कोषको कार्यक्षेत्र लुम्बिनी उद्यानमा मात्र सीमित छैन । बुद्धको जीवनसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्राम स्तूपलगायतका ऐतिहासिक तथा पुरातात्त्विक स्थलको संरक्षण, विकास र प्रवर्द्धन पनि कोषको जिम्मेवारीभित्र पर्दछ । यी सम्पदाको संरक्षणसँगै व्यवस्थित पर्यटन विकास, पूर्वाधार सुधार र अन्तर्राष्ट्रिय बौद्ध समुदायसँगको सम्बन्ध विस्तार गर्नु कोषका महत्वपूर्ण कार्य हुन् ।
अन्तर्राष्ट्रियस्तरमा बौद्ध धर्म र संगीतका माध्यमबाट परिचित आनी छोइङ डोल्माले लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि लुम्बिनीको समग्र विकास, सम्पदा संरक्षण र आध्यात्मिक पर्यटन प्रवर्द्धनमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन् । स्थलगत अवलोकनबाट प्राप्त जानकारीले आगामी दिनमा सम्पदाको संरक्षण, व्यवस्थापन र विकासका प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वस्तरीय आध्यात्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न ऐतिहासिक सम्पदाको मौलिक स्वरूप जोगाउनु र तिनको प्रभावकारी व्यवस्थापन गर्नु आवश्यक छ ।


