५ मंसिर, काठमाडौं: भारतको अरुणाचल प्रदेशका तीन प्रमुख बौद्ध केन्द्रमा आयोजना गरिएको भगवान् गौतम बुद्धका पवित्र अवशेषको विशेष प्रदर्शनी आज सम्पन्न हुँदैछ । तवाङ, बोमडिला र नामसाईमा तीन चरणमा सञ्चालन गरिएको प्रदर्शनीपछि बुद्धका पवित्र अवशेषलाई नयाँदिल्लीस्थित राष्ट्रिय संग्रहालयमा फिर्ता लैजाने कार्यक्रम रहेको छ ।
भारतको संस्कृति मन्त्रालय, अरुणाचल प्रदेश सरकार, राष्ट्रिय संग्रहालय र अन्तर्राष्ट्रिय बौद्ध महासंघको सहकार्यमा अक्टोबर ३१ देखि नोभेम्बर २० सम्म प्रदर्शनी सञ्चालन गरिएको थियो । प्रदर्शनीको पहिलो चरण तवाङस्थित ऐतिहासिक गादेन नामग्याल ल्हात्से गुम्बामा नोभेम्बर १ देखि ७ सम्म आयोजना गरिएको थियो । त्यसपछि नोभेम्बर ८ देखि १३ सम्म बोमडिलाको थुबछोग गात्सेल लिङ गुम्बा र नोभेम्बर १४ देखि २० सम्म नामसाईस्थित गोल्डेन प्यागोडामा अवशेष सार्वजनिक दर्शनका लागि राखिएको थियो ।
प्रदर्शनीका क्रममा हजारौँ बौद्ध धर्मावलम्बी, भिक्षु, लामा तथा सर्वसाधारणले बुद्धका पवित्र अवशेषको दर्शन गरेका थिए । भारतीय संस्कृति मन्त्रालयका अनुसार तवाङमा ३१ हजारभन्दा बढी र बोमडिलामा ३५ हजारभन्दा बढीले दर्शन गरेका थिए । नामसाईमा प्रदर्शनी सुरु भएको पहिलो दुई दिनमै १२ हजारभन्दा बढी भक्तजन पुगेका थिए । नोभेम्बर १५ सम्म तीनवटै केन्द्रमा गरी दर्शनार्थीको सङ्ख्या ७८ हजार नाघेको मन्त्रालयले जनाएको छ ।
प्रदर्शनीमा राखिएका अवशेष उत्तर प्रदेशको प्राचीन पिपरहवा पुरातात्त्विक स्थलसँग सम्बन्धित छन् । सन् १८९८ मा पिपरहवामा गरिएको उत्खननका क्रममा बुद्धसँग सम्बन्धित अवशेष फेला परेका थिए । यी अवशेषको ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वलाई ध्यानमा राख्दै प्रदर्शनीसँगै बुद्धका अवशेषको खोज, उत्खनन र भारतमा पुनःप्राप्तिसम्बन्धी विशेष प्रदर्शनी पनि आयोजना गरिएको थियो । साथै बौद्ध सभ्यता, कला र संस्कृतिको विकासबारे जानकारी दिने सामग्रीसमेत प्रदर्शन गरिएको थियो ।
भारत सरकारले विशेष धार्मिक तथा सुरक्षा व्यवस्थासहित बुद्धका अवशेषलाई भारतीय वायुसेनाको विमान तथा हेलिकोप्टरमार्फत विभिन्न स्थानमा पुर्याएको थियो । १३ वर्षपछि अरुणाचल प्रदेशमा ल्याइएका यी पवित्र अवशेषको प्रदर्शनीले त्यहाँका विभिन्न बौद्ध समुदायलाई श्रद्धा व्यक्त गर्ने अवसर प्रदान गरेको भारतीय संस्कृति मन्त्रालयले जनाएको छ । प्रदर्शनीको समापनसँगै आज अवशेषलाई तेजु विमानस्थल हुँदै नयाँदिल्लीस्थित राष्ट्रिय संग्रहालयमा फिर्ता लैजाने कार्यक्रम छ । यसले बुद्धको करुणा, अहिंसा, शान्ति र सहअस्तित्वको सन्देशलाई विभिन्न समुदायमाझ पुर्याउन महत्त्वपूर्ण योगदान गरेको मन्त्रालयको भनाइ छ ।


